Kath Khabar
किन दिनदिनै बढ्दै छ शेयर कारोबार, कहाँबाट आयो रकम ?

काठमाडौं, जेठ ६ । शेयर बजारमा बुधबार मात्रै ११ अर्ब ९५ करोडको कारोबार भएको छ । जुन अहिलेसम्मकै उच्च हो । शेयर बजारमा यति उच्च मात्रामा कारोबार गर्नेगरि पैसा कहाँबाट आइरहेको छ त ?

शेयर बजारमा उच्च कारोबार हुनु र नेप्से परिसुचक बढ्नुमा बैंकको लगानी मूख्य कारण हो । यो वर्ष मात्रै बैंक तथा वित्त संस्थाले  शेयरका लागि भनेर ४१ अर्ब बराबरको कर्जा प्रदान गरेका छन् । यसमा सहकारीबाट गएको ऋणको त अझै हिसाब नै छैन ।

अन्य क्षेत्रमा लगानी गर्न नपाएपछि लगानीकर्ताहरु अहिले शेयर बजार ओइरिएका छन् । त्यसैगरि बैंकहरुले पनि अन्य क्षेत्रमा लगानी गर्ने अवसरहरु खुम्चिदै गएपछि नाफा कमाउनका लागि सेयर नै रोजेका छन् । यतिसम्मकि उनिहरुले शेयर कर्जा मात्रै होइन खुद आफैले पनि शेयर सेखरिद गरेका छन् । जसका कारण नै बजारमा यो खालको उच्च कारोबार भएको हो ।

गत वर्षको ९ महिनामा भने यस्तो कर्जा जम्मा २ अर्बले मात्रै बढेको थियो । तर यो वर्षको सोहि अवधिमा यस्तो सेयर कर्जा गत वर्षको तुलनामा ८२ प्रतिशतले बढि अर्थात ४१ अर्ब लगानीमा रहेको छ ।  

सस्तो ब्याजको फाइदा उठाउँदै लगानीकर्ता

शेयर कर्जाको ब्याजदर पनि अहिले गत वर्षको तुलनामा करिब ४ प्रतिशत सस्तो छ । गत वर्ष १३ प्रतिशत रहेको शेयर कर्जाको ब्याजदर अहिले ९ प्रतिशतमा सिमित भएको छ । यसरी घट्दो ब्याजदरसँगै लगानीका लागि अन्य क्षेत्र बन्दजस्तै भएपछि लगानीकर्ता पनि अहिले शेयर बजारमा ओइरिएका छन् ।

अझ अलि ठूल लगानीकर्ताले त साढे सात प्रतिशतमै कर्जा पाएका छन् । कोरोना महामारीको पहिलो लहरबाट मुक्त हुँदै गर्दा बिस्तारै आर्थिक क्रियाकलाप बढ्दै गएका थिए । जसका कारण बैंकहरुले बिस्तारै कर्जाको ब्याज बढाउँदै लान थालेका थिए । शेयर कर्जाको ब्याज बढ्ने संकेतले बजार केहि मथ्थर भएको थियो । तर, फेरी दोस्रो लहरका कारण लगानी खुम्चीने देखेपछि बजारमा शेयर कारोबारमा उछाल आएको छ ।

किन बढ्यो बजार ?

महामारीपछि शेयर बजार बाहेक अन्य क्षेत्रका लगानीकर्ता पर्ख र हेरको अवस्थामा बसे । व्यवसाय गर्न जम्मा पारेको रकमपनि यसपछि व्यवसायीहरुले बैंकमा लगेर थुपारे । जसले गर्दा बैंकमा अधिक तरलताको स्थिती सिर्जना हुन थाल्यो । यतिसम्मकि निक्षेप राख्न कोहि नआइदिए हुन्थ्यो भन्ने बैंकका कर्मचारीको अपेक्षा हुन थाल्यो । लगानीका अन्य ढोका बन्द र अधिक तरलताको स्थिती हुन थालेपछि बैंकहरुले सेयरकर्जामा लगानी केन्द्रित गर्न थाले । अन्य समयमा खासै  प्राथमिकतामा नपर्ने शेयर लगानीकर्ताहरुलाई महामारीपछि भने बैंकले फोन गरेरै कर्जा लिन आउन भने । जसले पुन निरन्तरता पाएको छ । तत्काल अन्य क्षेत्रमा लगानी नबढ्ने र बैंकको ब्याजदर नबढ्ने आकलनका आधारमा शेयर लगानीकर्ता अहिले उत्साहित भएर लगानी गरेका छन् । जसका कारण रिटर्न नै दिन नसक्ने खालका कम्पनीको समेत मूल्य बढेको छ ।

शेयरमा आक्रामक कर्जा, अन्यमा निराशाजनक

बैंकहरुले यो आर्थिक वर्षको ९ महिनामा मात्रै ६ सय ६८ अर्ब बराबरको कर्जा लगानी गरेका छन् । जसमा ४१ अर्ब त शेयरमा लगानी भएको कर्जा मात्रै हो । शेयरमा प्रवाह भएको कर्जा ८२ प्रतिशतले बृद्धि हुँदा कृषि क्षेत्रतर्फको कर्जा ३५.७ प्रतिशतले मात्रै बढेको छ । जबकी मुलुक भने कृषि प्रधान मुलुक भनेर मान्ने गरिएको छ । कृषि प्रधानमुुलुक भनेपनि खाद्यान्नमा भने बिदेशको भर पर्नुपरेको छ।

त्यस्तै औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १७.० प्रतिशतले र निर्माण क्षेत्रतर्फको कर्जा १२.७ प्रतिशतले मात्रै बृद्धि भएको छ । यसबाहेक व्यवसाय सञ्चालनका लागि लिइने कर्जा अर्थात चालु पुँजी कर्जा २०.१ प्रतिशतले र रियल स्टेट कर्जा १२.४ प्रतिशतले बढेको छ । २७ प्रतिशतले बढेको ओभरड्राफ्ट कर्जा पनि शेयर बजारमै गएको बैंकरहरु बताउँछन् । यसरी हिसाब गर्दा त ४१ अर्ब भन्दा पनि बढि रकम यसमा नै गएको आकलन  गर्न सकिन्छ ।

दिगो हुन्छ त बृद्धि ?

बजार बढाउनका लागि अहिले ठूला लगानीकर्ता समेत लागेको देखिन्छ । हाफ वे इन्भेष्टमेन्टमा लगानी रहेका र शेयर बजारका ठूला लगानीकर्ता मानिने अम्बीका पौडेलेले अहिले बैंकमा निक्षेपको ब्याजदर घटेको र यो लगानीका लागि उचित समय भएको बताउनु हुन्छ । तर उहाँको यो गलत तर्क हो । बजार बढाउनका लागि ठूला लगानीकर्ता कति सम्म झुट बोल्छन् भन्ने यो गतिलो प्रमाण हो । वास्तवीकता के हो त ? 

गत पुषको तुलनामा वैशाखमा १३ वटा बैंकहरुले बचतको ब्याज बढाएका छन् । एनआइसी एसियाले सबैभन्दा बढि यस्तो बचतको ब्याज बढाएको छ । यसबाहेक बैंक अफ काठमाडौं, नेपाल एसबिआई राष्ट्रिय बाणिज्य सानीमा, कषि विकास र सिभिलले पनि वचतको ब्याज बढाएका छन् । मुद्दति निक्षेपमा पनि बैंकहरुले १ दशमलव एक पाँचसम्म ब्याज बढाएका छन् । तर साधारण बचतमा १ दशमलव सात पाँच प्रतिशतसम्म बढाएका छन् ।

ठूला लगानीकर्ताको बजार बढाउने जोड र अन्य क्षेत्रमा लगानीका ढोका बन्द भएकाले बजार बढेको हो । ताँकि यो बजार कम्पनीहरुको प्रतिफल राम्रो भएर बढेको होइन । कोरोनको दोस्रो लहर नियन्त्रणमा आएसँगै बजारले करेक्सन् लिन सक्छ । त्यसैले इन्ट्री र एक्जीटको उपयुक्त समय कुन हो भनेर लगानीकर्ता सचेत भएर लगानी गर्नु जरुरी छ । 

प्रकाशित मिति: बिहीबार, जेठ ६, २०७८  ०८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update