Kath Khabar
पशुपालक किसानको रोजाइमा डालेघाँस

         बागलुङ, असार २० ।  बागलुङका किसानले पशुपालनका लागि डालेघाँस रोप्ने कामलाई तिब्रता दिएका छन् ।  उनीहरुले पशुपालन व्यवसाय फष्टाउनका लागि पछिल्लो समय भू संरक्षण र वन कार्यालयले उत्पादन गरेर वितरण गर्ने डालेघाँसले सहज बनाएको बताएका छन् । भू-संरक्षण तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतले बागलुङ जिल्लामा यस वर्ष मात्रै ३२ हजार डालेघाँसका विरुवा वितरण गरेको छ । भू-संरक्षण तथा जलाधार व्यवस्थापन कार्यालय पर्वत अन्तरगतको शाखा कार्यालय बागलुङले उत्पादन गरेका ३२ हजार डालेघाँसका विरुवा किसानलाई यही असार महिनाभर वितरण गरिसकेको छ । 

पशुपालनका लागि सहज हुँने डालेघाँसले भू तथा जलाधारको क्षेत्रमा समेत सहयोग पुग्नेछ । सडकको छेउछाउ, खोल्साखोल्सी र खोलानाला छेउमा डालेघाँस रोप्दा पशुपालन र भू-क्षय नियन्त्रणमा सहयोग पुर्‍याउने उद्देश्यले कार्यालयले वर्षेनी सो घाँसका विरुवा वितरण गर्दै आएको छ ।कार्यालयले बागलुङमा स्थापना गरेको नर्सरीमा उत्पादन गरेको ३२ हजार विरुवा गत सोमबार देखि वितरण शुरु गरिएको थियो । १ हप्तामै ३२ हजार विरुवा वितरण भइसकेको छ ।  यसले किसानलाई मात्र नभएर भू-संरक्षण र वातावरणको क्षेत्रमा समेत सहयोग गर्ने भएकाले सो बिरुवा वितरण गरिदै आइएको छ । 

नर्सरीमा उत्पादन भएका ३२ हजार बिरुवा किसानको व्यावसायिक पशुपालनका आधारमा अनुपात मिलाएर असार मसान्त सम्म वितरण गरिसक्ने लक्ष्य लिएकोमा १ हप्ता अघिनै वितरण सम्पन्न भइसकेको भू-संरक्षण तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतका कार्यालय प्रमुख दिवाकर पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार राइखन्यू, निमारो, तारुबाँस र काफाल लगायतका आधा दर्जन घाँसका विरुवा वितरण गरिएको छ । भिरालो जमिन, सडकको छेउछाउ, खोलसोल्सी लगायत खाली जमिनमा घाँस लगाउन सकिने भन्दै पछिल्लो समय किसानहरु यसप्रति आकर्षित भएको उहाँले बताउनुभयो ।

कार्यालय प्रमुख पौडेलले भन्नुभयो “किसानको माग निमारो, राइखन्यू र काफाल जातको डाँलेघाँसमा बढी छ, त्यही अनुरुप हामीले विरुवा उत्पादनलाई बढाउँदै लगेका छौं, १ हप्तामै ३२ हजार विरुवा वितरण सम्पन्न भइसक्यो ।”

प्रकाशित मिति: सोमबार, असार २०, २०७९  १४:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update