Kath Khabar
लसुनले उचित मूल्य नपाउंदा किसान चिन्तित

              रुकुम (पूर्व), साउन १६।  लसुनको पकेट क्षेत्र रुकुम (पूर्व) को भूमे गाउँपालिका-९ स्थित चुनवाङ्मा उत्पादित लसुनले उचित मूल्य नपाएको त्यहाँका किसानको गुनासो छ । अहिले बाहिर बजारमा लसुनको मूल्य प्रतिकिलो रु. ५० देखि रु. ६० पर्छ । चुनवाङ्का लसुन उत्पादक किसान भने प्रतिकिलो ५० मा लसुन बिक्री गर्दा खर्च पनि नउठ्ने भएकाले प्रतिकिलो रु. १०० का दरले लसुन बिक्री गर्न चाहन्छन् । 

१ किलोको  रु. १०० मा कसैले पनि लसुन खरिद नगरेकाले अहिले लसुन घरघरमै थुप्रिएको चुनवाङका लसुन उत्पादक किसान गञ्जु खड्काले बताउनुभयो । अहिले आफूसँग मात्रै १० क्विन्टलको हारहारीमा लसुन भएको उहाँको भनाइ थियो ।  गत वर्ष १८ क्विन्टल लसुन उत्पादन गर्नुभएको खड्काले अहिले भने उत्पादन घटेको बताउनुभयो । यस वर्ष उचित मूल्य नपाएकै कारण अलिकति पनि लसुन बिक्री नभएको किसान खड्काले बताउनुभयो । 

उहाँकाअनुसार अहिले चुनवाङका प्रत्येक घरमा ३ देखि १० क्विन्टलको हारहारीमा लसुन छ ।  चुनवाङकै पूर्ववडाध्यक्ष प्रवेश पुनले बजारको मूल्यमा दिने किसानको लसुन बिक्री भइसकेको तर बजार मूल्यभन्दा बाहिरको लसुन बिक्री हुन नसकेको बताउनुभयो । बजारमा चलेको मूल्यमा दिने हो भने गाउँभरिको सबै लसुन सङ्कलन गरिदिने तर बजार मूल्य भन्दा महँगोमा लसुन सङ्कलन गर्न नसकिने उहाँको भनाइ थियो ।

यसवर्ष चुनवाङमा ४३२.३५ मेट्रिकटन लसुन उत्पादन भएको एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयका कृषि अधिकृत थलराज बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार यो उत्पादन गत वर्षको तुलनमा १२.१३ प्रतिशतले बढेको हो । चुनवाङको ७२ हेक्टर क्षेत्रफल जमिनमा लसुन खेती हुँदै आएको छ ।

प्रकाशित मिति: सोमबार, साउन १६, २०७९  १३:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update