Kath khabar
पूर्व चल्ने सबै यातायात एउटै व्यवस्थापनमा

              काठमाडौं, असोज ४।  काठमाडौंबाट देशको पूर्वी क्षेत्रमा सञ्चालन हुने सार्वजनिक यातायात शनिबारदेखि एउटै व्यवस्थापन अन्तर्गत सञ्चालन गरिएको छ । यसअघि छुट्टाछुट्टै कम्पनी र छुट्टाछुट्टै व्यवस्थापनमा चल्दै आएका पूर्व क्षेत्र चल्ने सार्वजनिक सवारी साधन शनिबारदेखि ‘पूर्वाञ्चल संयुक्त यातायात व्यवस्थापन’मार्फत सञ्चालन गरिएको हो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ अन्तर्गत रहेको उपसमितिले पूर्व मेची बस व्यवसायी प्रालिसँगको सहकार्यमा ‘पूर्वाञ्चल संयुक्त यातायात व्यवस्थापन’मार्फत बस सञ्चालन गरेको महासङ्घका उपमहासचिव एवम् उपसमितिका संयोजक रजन रोक्काले जानकारी दिए ।

उक्त व्यवस्थापन मार्फत काठमाडौंबाट काँकडभिट्टा, भद्रपुर, तेह्रथुम, खाँदबारी, ताप्लेजुङ, भोजपुर, इलाम, पशुपतिनगर, धरान, विराटनगर, रङ्गेली, बुधबारे, बनियानी, गाईघाट, लहान लगायतका क्षेत्रमा आवतजावत गर्नेछन् । उक्त कम्पनीले शनिबारदेखि एउटै व्यवस्थापन मार्फत दसैँका लागि अग्रिम टिकट बुकिङ समेत खोलिसकेको छ । आगामी दिनमा पूर्व क्षेत्रमा चल्ने सबै व्यवसायीलाई समेट्दै लैजाने उपमहासचिव रोक्काको भनाइ छ ।

हाल काठमाडौंबाट पूर्वमा घोडाघोडी यातायात, विनायक, प्राइम, मितेरी, गोल्डेन गुगल, मकालु, मेची एयर, महालक्ष्मी, स्वयम्भू, मेट्रो कोसी, जगत्माता पाथीभरा लगायत कम्पनीका बसहरु सञ्चालन हुँदै आएका थिए ।

प्रकाशित मिति: मंगलबार, असोज ४, २०७९  १३:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update