Kath khabar
नेपालको कृषि : नेपालले चीनको घाँसको माग धान्न सक्ला त ?

          काठमाडौं, असोज ५।  नेपाल सरकारले प्रशोधित घाँसको व्यावसायिक उत्पादन र निर्यातका लागि बाटो खुला गरिदिए पनि घाँस उत्पादकहरूले भने निर्यात गर्न पर्याप्त घाँस नभएको बताएका छन्। केही दिन अघिको मन्त्रिपरिषद् बैठकमा प्रशोधित घाँस चीन निर्यात गर्नका लागि दुई देशबीच सम्झौता गर्न बनाइएको प्रोटोकल स्वीकृत भएको हो।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलका अनुसार चीन सरकारको तर्फबाट मस्यौदा बनेर आएको प्रोटोकलमा नेपाल सरकारको सुझाव समावेश गरी स्वीकृत गरिएको हो। “प्रोटोकलमा घाँसको गुणस्तर, रोग र परीक्षण सम्बन्धी व्यवस्था तथा रकम आदिबारे उल्लेख गरिएको छ, उक्त प्रस्ताव चीन सरकारबाट पनि स्वीकृत भएपछि कार्यान्वयन हुन्छ।” प्रवक्ता सन्जेलले बताएका छन्। यस प्रोटोकलले नेपालका घाँस उत्पादक एवं व्यवसायीहरूलाई प्रत्यक्ष आर्थिक फाइदा पुर्‍याउने उनको दाबी छ। 

प्रोटोकलमा घाँससँगै जीवाणु भित्रिन नदिन चीनले विशेष चासो राखेको छ। घाँस जीवाणु रहित हुनुपर्ने चीनको प्रमुख सर्त छ। चीनले पठाएको प्रोटोकलको मस्यौदामा खोरेत लगायत जीवाणु नभएको भनी नेपालको आधिकारिक निकायले प्रमाणित गरेको हेलेज जातको घाँस मात्र आयात गर्ने उल्लेख छ। जीवाणु नभएको प्रमाणित गरेर नेपालले अनुमति दिनुपर्ने, भेटेरिनरी प्रमाणपत्र दिँदा घाँसको ‘ट्रिटमेन्ट’ भएको प्रमाणित गर्नुपर्ने र प्याकिङ गरिएको हेलेज खोल्दा ८० डिग्री सेल्सियस तापक्रम हुनुपर्ने सर्त पनि राखिएको छ। यस्तै, हेलेज निर्यातको चार महिनाअघि नै ट्रिटमेन्ट गरेर प्याकिङ गरिएको प्रमाणित हुनुपर्ने सर्त छ।

कसले बेच्छ चीनलाई घाँसहरु ?

चितवनमा २० बिघाभन्दा बढी क्षेत्रफलमा चिनियाँ तथा नेपालीहरूको समूहले हेलेज घाँस उत्पादन गरिरहेको र त्यही घाँस निर्यात गरिने, “चिनियाँ पक्षबाट माग भएको र नेपाल पक्ष पनि निर्यातका लागि तयार रहेकाले जारी प्रोटोकलले दुवै देशका व्यवसायीहरूलाई फाइदा पुर्‍याउँछ भन्ने विश्वास भएको” उनले भने। मन्त्रालयका प्रवक्ता सन्जेलले जानकारी दिए।

यस व्यवस्थाले निर्यात केन्द्रित ठूला व्यवसायीहरूलाई फाइदा पुर्‍याए पनि नेपाली आन्तरिक बजार केन्द्रित साना तथा मझौला उत्पादकहरूलाई खासै लाभ नहुने उत्पादकहरू बताउँछन्। जारी प्रोटोकलले चीनमा घाँस निर्यातका लागि मार्ग प्रशस्त गरे पनि साना फर्महरूमा आर्थिक तथा प्राविधिक चुनौतीहरू रहेको उमा प्राङ्गारिक उद्योग सञ्चालक शङ्कर केसीको भनाइ छ। चितवन, फूलबारीमा १८ वर्षयता प्रशोधित घाँस उत्पादन गर्दै आएका केसीले जानकारी दिए।

हाल नेपालमा उत्पादन भइरहेको घाँस यहीँको बजारमा खपत हुन्छ। चीन व्यवसायीका लागि ठूलो बजार हो। माग पनि ठूलो हुन्छ तर त्यसअनुरूप उत्पादन गर्न सक्ने क्षमता छैन।“

नेपाली घाँसप्रति चीनको चासो कस्तो छ ?

गाईबस्तुका लागि खपत हुने घाँस चीनमा आयात हुने गरेको सन् २०१९ मा प्रकाशित चाइना डेलीको समाचारमा उल्लेख छ। तिब्बतको सिगात्सेमा नेपालको चितवनमा उत्पादित घाँस आयात हुने गरेको त्यसमा जनाइएको छ। चितवनको समथर जमिन र अनुकूल मौसम घाँस उब्जनीका लागि उपयुक्त हुने र लागत कम पर्ने हुनाले चिनियाँ कम्पनीहरू त्यहाँ घाँस उत्पादन र खरिदका लागि इच्छुक देखिन्छन्।

समाचारमा थप जनाइए अनुसार सिगात्सेस्थित टियानु इन्टरनेसनल नामक कृषि कम्पनीले अप्रिल २०१९ मा चितवनमा घाँस उत्पादन र खरिदका लागि १ करोड ७० लाख युआनभन्दा बढी रकम लगानी गरिसकेको छ।

साथै ४ सय मेट्रिक टनभन्दा बढी घाँस तिब्बत लगिसकिएको छ। उक्त कम्पनीका अध्यक्ष लिउ वेइले बताए अनुसार नेपाली घाँसको उत्पादन चक्र छोटो र उब्जनी धेरै हुन्छ। यसरी उत्पादित घाँसको मूल्य सम्पूर्ण लागत जोडेर प्रतिकिलो १.६ युआन हुन्छ।

जुन त्यहाँ स्थानीय स्तरमा उत्पादित पराल भन्दा निकै सस्तो हो। जसको मूल्य प्रतिकिलो २.६ युआन हुन्छ। तर, कृषि मन्त्रालयका प्रवक्ताले त्यसरी भइरहेको बिक्री वितरणबारे मन्त्रालयलाई कुनै जानकारी नभएको बताए। उनले भने,”पारित प्रोटोकलले मात्र घाँस निर्यातका लागि वैधानिक बाटो खुला गरेको छ।”

के हुन् घाँस उत्पादकको चुनौती ?

विद्यमान उत्पादकहरूले नेपाली बजारको माग धान्ने मात्र उत्पादन गर्न सकिरहेका छन्। केही किसान निर्यात गर्ने अवधारणाप्रति आकर्षित भए पनि जग्गा र लगानी अभावका कारण योजना अघि बढाउन नसकेको बताउँछन्।

चितवन घाँस केन्द्रकी सञ्चालक सावित्री ढकाल गाई र बाख्रा फर्महरूलाई १२ देखि १५ प्रकारका घाँस बिक्री गर्छिन्। १ हेक्टर जमिनमा घाँस उत्पादन गर्दै आएकी उनी भन्छिन्, “एउटै ठाउँमा प्रशस्त जग्गा छैन"।

जग्गा मिलाएर गर्न सबै जना तयार हुँदैनन्। भाडामा माग्दा पनि पाइँदैन। त्यसैले उत्पादन कहाँ गर्ने भन्नु नै प्रमुख प्रश्न हो।” व्यवसायमा बिचौलियाको उपस्थितिलाई उनी अर्को चुनौतीका रूपमा व्याख्या गर्छिन्।

“लगानीको पनि समस्या हुन्छ। आर्थिक कोणबाट हेर्दा एकजनाले प्रक्रिया अघि बढाउन सकिँदैन। ४-५ जना किसान मिलेर आँट्ने हो भने निर्यातका लागि उत्पादन बढाउन सकिएला,” ढकालले भनिन्। उनको तर्कमा सहमति जनाउँछन् चितवनकै शङ्कर केसी। घाँस उत्पादकहरू छरिएर रहेको र सङ्गठित हुन आवश्यक रहेको उनले जिकिर गरे।

“उत्पादन तीव्र बनाइनु आवश्यक छ। साना घाँस फर्महरूलाई विस्तार गरिनु पर्‍यो। धेरै क्षेत्रमा व्यापक रूपमा घाँस उत्पादन गर्ने नर्सरीहरू स्थापना गरिनु पर्छ,” उनले भने। “छरिएर रहरेका फर्महरूलाई सङ्गठित गर्नु पर्‍यो।”

उत्पादकहरू सङ्गठित नहुँदा पुराना फर्म स्थापित भएका तर नयाँ फर्महरूले बजार पहिचान गर्न नसकेको उनको ठम्याइ छ। यस प्रक्रियामा सरकारी निकायहरूको साथ र सहयोग आवश्यक रहने उनले बताए।

समस्या समाधानको बाटो के ?

तत्कालका लागि नेपालमा अत्यधिक उत्पादन हुने घाँसहरूलाई पोषण तत्त्व कायम रहने गरी सुख्खा पदार्थ बनाइ पठाउने विकल्प रहेको उत्पादक केसीले बताए।

त्यसरी सुकाएर पठाएको पदार्थलाई हरियो घाँससँग मिसाइ दानाको रूपमा प्रयोग गर्न सकिन्छ। त्यस्तै उत्पादनका लागि बिउ तथा प्रजनन सामग्री निर्यात गर्न सके साना उत्पादकहरूको पनि बजार बिस्तार हुने उनको तर्क छ।

हाल भारत, पाकिस्तान, बङ्गलादेश, भुटान लगायत देशहरूमा घाँसका बिउ निर्यात तथा आयात भइरहेकै छन्। उपकरण र जनशक्ति उपलब्धतामा सरकारी निकायको मद्दत रहे उत्पादनको मात्रा र गुणस्तर बढाउन सकिने उनको कथन छ।

घाँसलाई भण्डारण गर्ने तरिका :

घाँस निर्यात गर्दा त्यसलाई पहिले विशेष प्रक्रियाबाट भण्डारण गर्नुपर्ने किसानहरू बताउँछन्। घाँसलाई पोषण तत्व कायम रहने गरी सुकाएर भण्डारण गरिने प्रक्रिया हेलेज र साइलेज हुन्। त्यसरी सुरक्षित राखिएको घाँसलाई हरियो घाँसको अभाव हुने मौसममा पनि गाईबस्तुलाई दिन सकिने बताइन्छ।

घाँस उत्पादक किसान शंकर केसीका अनुसार हेलेज गर्दा हरियो घाँसलाई काटेर सुकाइन्छ र कम ओसिलो बनाइन्छ। त्यसलाई बाँधेर छाया पर्ने ठाउँमा पराल जसरी राखिन्छ। यस प्रक्रियामा घाँसमा हरियो कण र अन्य तत्वहरू पनि ४५ प्रतिशत कायम रहन्छ।

उनका अनुसार साइलेज प्रविधिमा घाँसलाई काटिन्छ र पोलिथिनको झोलामा हावा नछिर्ने गरी थिचेर राखिन्छ। झोलामा घाँससँगै नुन लगायत अन्य पौष्टिक तत्वहरू राखिएको हुन्छ। त्यसरी राखिएको ४५ दिन पछि साइलेज गरिएको घाँस खुवाउन योग्य हुन्छ।

जै, बकाइनो, स्टाइलो, नेपिएर, डाले, मोलासेस लगायत कोशे तथा अकोशे घाँसहरूलाई साइलेज र हेलेज प्रविधि मार्फत् बाह्रैमास प्रयोग गर्न योग्य बनाइन्छ,” केसीले बताए।

 

साभार:बिबिसी 

प्रकाशित मिति: बिहीबार, असोज ६, २०७९  ११:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update