Kath khabar
नेपालको कृषि : जंगली च्याउ बिशेष

               काठमाडौं, असोज ९ ।  हुन त यो समय मनसुनी वर्षा सकिएर जानु पर्ने हो, तर आकस्मिक मुसलधारे वर्षा हुन गई नेपालका धेरैजसो जिल्लाहरूमा पुर्‍याएको ठूलो धनजनको क्षतिले हामीलाई दुःखी बनाएको छ । शरद ऋतुको आगमनसँगै हिन्दूहरूको महान चाड बडादशैं पनि नजिकएको छ । यसै उपलक्ष्यमा काठ मिडिया प्रा. लि. का सम्पूर्ण पाठक र समस्त नेपालीहरूमा विजया दशमी २०७९ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

हिन्दुहरूको महान पर्वको रूपमा मानिने बडादशैँ धार्मिक दृष्टिकोणले मात्र नभई देशमा आर्थिक गतिविधि बढाउन र समाजमा आपसी भाइचारा कायम राख्न महत्वपूर्ण रहेको हुन्छ । सदाझैँ यस वर्षको बडादशैँले पनि प्रत्येक नेपाली-नेपालीबीच मेलमिलाप बृद्धि गर्न अझ सहयोग पुर्‍याओस् भन्ने कामना गर्दछौँ ।

गत शुक्रवार हामी चर्चा गरिरहेका थियौ विभिन्न प्रकारका च्याउहरु बारे, र आज हामी चर्चा गर्ने छौ जंगली च्याउ बारे। बिषालु च्याउबाट कसरी जोगिने ? सबैभन्दा पहिले बिषालु च्याउबाट जोगिनु यस्ता च्याउ नखानु नै हो । व्यवसायिकरूपमा खेती गरिएका च्याउहरू सुरक्षित हुन्छन् । भरसक जतासुकैको वा केटाकेटीले ल्याएको च्याउ खाँदै नखानुहोस् । होस् गर्नुहोस्, च्याउ खान अनुभव र आँट होइन,त्यसका लागि ज्ञान चाहिन्छ ।

बिषालु च्याउ खाँदा कस्तो लक्षण देखिन्छ ? बिषालु च्याउ खाँदा देखापर्ने प्रारम्भिक लक्षणहरू बान्ता, पखाला, टाउको दुख्ने तथा रिंगटा लाग्ने हुन्छ । यसपछि बिरामीले केही सञ्चो भएको अनुभव गर्नसक्छ । तर बिषको असर केही क्षण पछाडी पुनः देखिन थाल्छ । कुनै कुनै च्याउले केही समयमा नै मृत्यु गराउँछ भने कुनै च्याउ खाएर प्रारम्भिक लक्षण देखिएको २-३ दिन पछि मात्र कलेजो तथा मृगौलामा असर देखाउँन थाल्छ । जसको २ हप्ता भित्र मृत्यु हुन सक्छ । यसैले च्याउ खाएको केही समय भित्र माथि उल्लेख गरिए अनुसारका लक्षण देखिए तुरुन्त अस्पताल जानुहोस् । 

च्याउबारे गलत धारणा :

  • किराहरूले बिषालु च्याउ खादैनन् वा किराले खाएको च्याउ बिषालु हुदैन बुझ्नु पर्ने कुरा के हो भने सबै जीवजनावारका लागि बिषहरू एउटै हुँदैनन् । कुनै कुनै यस्ता बिषहरू हुन्छन्, जुन निश्चित जीवजन्तुलाई मात्र हानी गर्न सक्छन् । यसैले किराहरूका लागि बिषालु नहुने च्याउहरू मानिसहरूका लागि बिषालु हुनसक्छन् । एमानिटा फालोइड्स प्रजातीको च्याउमा किरा लाग्छन् तर यो मानिसका लागि बिषालु हुन्छ ।
  • बिषालु च्याउले चाँदीलाई कालो बनाउँछ धेरै मानिसहरू पकाएको बिषालु च्याउमा चाँदी डुबाउँदा कालो हुने विश्वास गर्छन् । तर हालसम्म कुनै पनि बिषालु च्याउमा चाँदीसँग प्रतिक्रिया गर्ने तत्व भेटिएको छैन । यसको मतलब, च्याउलाई चाँदीसँग कुनै लिनुदिनु छैन र च्याउमा चाँदी डुबाउँदा चाँदीको रंगमा परिवर्तन हुदैन ।
  • बिषालु च्याउहरू स्वादिला हुँदैनन् धेरै मानिसहरू खानयोग्य च्याउहरू मात्र स्वादिला हुने र बिषालुहरू च्याउ तीतो या टर्रो या वेस्वादिलो हुने ठान्छन् । तर यो सत्य होइन । एमानिटा च्याउ पकाएर स्वाद मानी मानी खाएकाहरू मृत्युको मुखमा पुगेर धन्न फर्किएका छन् । तिनलाई सोध्दा च्याउ खाँदा स्वादिलो भएको बताएका थिए ।
  • राम्ररी पकाएमा सबै च्याउ खान योग्य हुन्छन् कुखुराको मासु राम्ररी पकाएर (६० से. भन्दा माथि) खाँदा बर्डफ्लू लाग्दैन भने जस्तो हैन । कतिपय च्याउमा भएका बिष जति पकाएपनि बिषालु नै रहन्छ । अल्फा एमानाइटिन जस्ता च्याउमा पाइने बिषहरूले तापक्रमसँग कुनै सम्बन्ध राख्दैनन् । यस्ता च्याउहरू जति पकाएर खाएपनि खतरनाक हुन्छन् ।
  • बिषालु च्याउले भातलाई रातो बनाउँछ यो गलत सोचाईले पनि मानिसहरू मृत्युको शिकार बनेका छन् । नेपालमा च्याउ खाएर बिरामी भएकाहरूले पनि च्याउसँग सेतो भात नै खाएका थिए । अहिलेसम्म कसैले पनि च्याउलाई भातमा मिसाउँदा रातो भएको देखेको बताएका छैनन् ।
  • बिषालु च्याउको टुप्पो तिखो हुन्छ एमानिटा फालोइड्स प्रजातीको च्याउको टुप्पो वयश्क अवश्थामा सतह मिलेको, टुप्पो तिखो नभएको हुन्छ । धेरै बिषालु च्याउहरूमा पनि टुप्पो तिखो हुदैन । त्यस्तै खानयोग्य च्याउहरूमा पनि टुप्पो तिखो हुन सक्छ ।

क्रमश :

प्रकाशित मिति: आइतबार, असोज ९, २०७९  १२:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update