Kath Khabar
बङ्गलादेशबाट आयो ३२ हजार ५ सय मेट्रिकटन मल

 

काठमाडौं, जेठ २६ । बङ्गलादेशबाट खरीद गरिएको ३२ हजार पाँच सय मेट्रिकटन युरिया मल नेपाल आइपुगेको छ । सरकार-सरकारबीच (जिटुजी)मार्फत रासायनिक मल खरीद सम्झौता अनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जमा सो परिमाणका युरिया मल आइपुगेको हो ।

जिटुजी सम्झौता अनुसार बङ्गलादेश सरकारले नेपाल सरकारलाई ५० हजार मेट्रिकटन युरिया मल उपलब्ध गराउनेछ । तीमध्ये बाँकी रहेको १७ हजार ५ सय मेट्रिकटन युरिया मल आउने क्रममा रहेको छ। बाँकी रहेको मल कोलकाता बन्दरगाहको बाटो गरी रेलमार्गवाट वीरगञ्जको सिर्सियास्थित सुख्खाबन्दरगाह भन्सार कार्यालयमा आउने छन् ।

नेपाल सरकारले धानको सिजनमा मलको अभाव हुन नदिन बङ्गलादेशबाट ५० हजार मेट्रिकटन मल ल्याउन लागिएको हो । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जमा अहिले युरिया मल २ हजार ७ सय मेट्रिकटन, डिएपी एक हजार ४ सय २ मेट्रिकटन र पोटास एक हजार २ सय ८० मेट्रिकटन मौज्दात अवस्थामा रहेको छ । मौज्दात रहेको उक्त मलले पहिलो चरणको धान खेतीका लागि पर्याप्त हुने देखिन्छ ।

पर्सा जिल्लास्थित १ सय ३१ थोक विक्रेतामार्फत सो मल किसानसम्म पुग्ने गरिन्छ । सो कार्यालयले थोक विक्रेतालाई एक पटकमा एक सय ३० बोरासम्म मल दिने गरेको छ । विक्रेताहरुले स्थानीय तहले तोकेको मूल्यमा किसानहरुलाई मल बिक्री गर्ने गरेको छ । कतिपय विक्रेताले किसानसंग तोकेको मूल्यभन्दा बढी मूल्य लिएर मल बिक्री गर्ने गरेको गुनासो समेत आउन थालेपछि सम्बन्धित स्थानीय तहले त्यस्ता कालोबजारी गर्ने थोक बिक्रेतालाई कारवाही गर्नुपर्ने मांग किसानको छ ।

(रासस)

प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८  १५:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update