
काठमाडौं, असार ३१ । चीनमा नेपाली घाँसको निर्यात सुरू भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय, चिनियाँ राजदूतावास र भरतपुर महानगरपालिकाले शनिबार एक कार्यक्रम आयोजना गरी हाइलेज र साइलेज चीनको तिब्बतीय सहर सिगात्सेतर्फ पठाइएको हो । निर्यातको सुभारम्भ शनिबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गरे ।
नेपाल सरकार र चीनको सिगात्से सहरबिच सन् २०२२ मा भएको औपचारिक सम्झौता अनुसार चिनियाँ व्यावसायिक कम्पनी नेपाल होराइजन इन्टरनेसनलले चितवनको भरतपुर–५ मा उत्पादन गरेको तीन सय टन हाइलेज पहिलो पटक चीन लगेको हो । करिब ३ वर्षको प्रयासपछि नेपालको घाँस हाइलेज चीन पठाउन सफल भएको हो।
चीनको राष्ट्रिय वन तथा घाँस जग्गा प्रशासनले जारी गरेको पञ्चवर्षीय योजनाअनुसार चीनले सन् २०२५ सम्ममा आफ्नो वन र घाँस उद्योगको वार्षिक उत्पादन ९ ट्रिलियन युआन (१.४२ ट्रिलियन डलर) पुर्याउने लक्ष्य राखेको छ। आगामी चार वर्षमा चीनले अपेक्षाकृत पूर्ण आधुनिक वन र घाँस उद्योग स्थापना गर्ने र सन् २०२५ सम्ममा वार्षिक आयात र निर्यात १९५ अर्ब डलर पुग्ने गरी वन तथा घाँस उत्पादनको अन्तर्राष्ट्रिय व्यापारमा आफूलाई अग्रणी बनाउने उक्त योजनमा उल्लेख भएको चाइना डेलीले २०२२ फेब्रुअरी २३ मा प्रकाशित गरेको समाचारमा उल्लेख छ।
के हो साइलेज ? साइलेज बनाउने तरिका र फाइदाहरु
हरियो घाँसलाई खाडलमा खाँदेर अमिल्याई राखिएको (फर्मेण्टेशन) गरिएको घाँसलाई साइलेज भनिन्छ । यो गुन्द्रुक अथवा सिन्की जस्तै गरेर बनाइने हुँदा साइलेजलाई गुन्द्रुक घाँस वा सिन्की घास पनि भन्ने गरिन्छ । वर्षायाममा बढी भएको हरियो घाँसलाई हिउँदमा घाँसको कमी भएको बेलामा पशुहरुलाई खुवाई बढी उत्पादन लिन साइलेज बनाइन्छ ।
साइलो पीट भनिने १ घन मिटरको खाल्डोमा ४०० देखि ७०० केजी हरियो घाँस साइलेजको रुपमा संरक्षण गर्न सकिन्छ । चितवनमा २०७७ सालदेखि साइलेज बनाउँदै आएको अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष ऋषिराम चापागाईंका अनुसार प्रशस्त मात्रामा कार्बोहाइड्रेट र पानी भएको घाँसेबाली ज्वार, वाजरा, सुडान, नेपियर, सेटेरिया, रोड्स, दिनानाथ, मकै, जुनेलो, उखुको टुप्पोबाट साइलेज बनाउन सकिन्छ ।
साइलेज घाममा सुकाउनु नपर्ने भएकाले वर्षा याममा पनि बनाउन सकिन्छ । साइलेज हरियो घाँसको बढी उपलब्धता हुने समय खासगरी वर्षा याममा बनाइन्छ र १ महिनामा तयार हुने भए पनि उक्त समयमा प्रशस्त ताजा हरियो घाँस नै पाइने हुनाले हिउँदको समयमा साइलेज खुवाउँदा यसको उपयोगिता बढ्छ ।
यो घाँस नरम, रसिलो र अमिलो अमिलो खालको मिठो वासना आउने हरियो रङ्गको हुन्छ । हरियो घाँस नपाइने समयमा दूध दिने पशुलाई सरदर ४/५ केजीको दरले खुवाउने गर्नुपर्छ । हरियो घाँसमा भएको पशुहरुलाई चाहिने पौष्टिक तत्वहरु साइलेजमा पनि लगभग कायमै रहने भएको हुँदा यो हरियो घाँस जत्तिकै रसिलो र पोषिलो हुन्छ ।
राम्रो खालको साइलेज ढुसी नपरेको मिठो अमिलो वासना आउने हनुपर्छ । राम्रो खालको साइलेजको रंग हरियो पहेंलो मिसिएको हुन्छ । यसमा अम्लियपन ३ दशमलव ८ देखि ५ प्रतिशत सम्म भएको साइलेजलाई राम्रो मानिन्छ । दैनिक दुई किलो साइलेज पराल र दानापानीमा मिलाएर पशुलाई खुवाउन सकिन्छ । सुख्खा मौसममा हरियो घाँसको अभाव हुने हुँदा साइलेज बनाएर राखियो भने पशु आहाराका लागि उत्तम मानिन्छ । यो उत्पादन गरिएको एक वर्षसम्म प्रयोग गर्न सकिन्छ ।
दुई महिनासम्म प्लास्टिकमा भण्डारण गरेर हावा नपस्ने गरी राखिएको साइलेज दुई महिनापछि मात्र पशुलाई खुवाउने गरिन्छ ।
तस्बिर: गृहमन्त्रीको सचिवालय