बेनी, साउन ११ । म्याग्दीको मालिका गाउँपालिका-७ बिममा रहेको किसानी माविमा सञ्चालित प्राविधिक शिक्षा प्रभावकारी बनेको छ।
किसानी प्राविधिक शिक्षालय अन्तर्गत बाली विज्ञान र पशु विज्ञान विषय अध्ययन गर्दै आएका विद्यार्थीलाई लक्षित गरी सञ्चालित ‘सिक्दै कमाउँदै’ कार्यक्रम फलदायी बनेको हो। शिक्षालयको बाली विज्ञान तर्फका विद्यार्थीले प्रयोगात्मक सिकाइका लागि गरेको तरकारी खेती व्यावसायिक नै बनेको छ।
यहाँका विद्यार्थीले करिब १२ रोपनीमा तरकारी र धान खेती गर्दै आएका छन्। करिब ३ रोपनीमा बर्खे तरकारी खेती गरेका विद्यार्थीको करेसाबारीमा अहिले लौका, गोलभेडा, घिरौँला, तितेकरेला, भाण्टा लगायतका तरकारी उत्पादन भएको छ।
विद्यार्थीको करेसा बारीको उत्पादन रहरलाग्दो छ। विद्यार्थीले उत्पादन गरेको कृषि उपज उनीहरु स्वयंले प्रयोग गर्छन् भने गाउँमा समेत बिक्री गर्दै आएको शिक्षालयका प्रमुख करन कँडेलले जानकारी दिए।
उनका अनुसार, बाली विज्ञान तर्फका विद्यार्थीले १००० किलोग्राम बढी आलु उत्पादन गरेर बिक्री गरिसकेका छन्। यसअघि उनीहरुले च्याउ समेत उत्पादन गरेर बिक्री गरी आम्दानी गरेका थिए।
विद्यार्थीले ४ रोपनी जग्गामा धान खेती समेत गरेका छन्। यस शिक्षालयमा पशु विज्ञान अध्ययन गर्ने विद्यार्थीले कुखुरापालन गर्दै आएका छन्।
‘सिक्दै कमाउँदै कार्यक्रम निकै प्रभावकारी बनेको छ, उनीहरु विद्यालय समय भन्दा बाहिरको समयलाई उत्पादन मूलक क्षेत्रमा लगाएका छन्, व्यावहारिक शिक्षासँगै आम्दानी समेत गर्न सफल भएका छन,’ शिक्षालयका प्रमुख कँडेलले भने।
विसं २०६८ मा सीटीईभीटीबाट सम्बन्धन प्राप्त गरी १८ महिने जेटीए, ३ वर्षे बाली विज्ञान र ३ वर्षे पशु विज्ञानमा पठनपाठन गराउँदै आएको प्राविधिक शिक्षालयमा अहिले कूल १ सय ४२ जना अध्ययनरत छन्।
यहाँ अध्ययन गरेका विद्यार्थी कृषि र पशु शाखा तर्फ विभिन्न क्षेत्रमा रोजगारमा समेत आवद्ध हुने क्रम बढेको र घरपरिवारलाई समेत उत्पादनसँग जोड्न सफल भएको विद्यालयका प्रधानाध्यापक जङ्गबहादुर गर्बुजाले जानकारी दिए। यस शिक्षालयले १८ महिने जेटीए, ३ वर्षे बाली विज्ञान र ३ वर्षे पशु विज्ञानतर्फ ४०/४० जना सिटमा भर्ना खुलाएको छ।