Kathkhabar
बैँक किसानसम्म पुग्दैन, ऋणका लागि अझै सहकारीमै निर्भर छन् किसान 

 

                 काठमाडौं, भदौ २२ ।  कृषि गणना २०७८ का अनुसार देशका कुल किसान परिवारमध्ये १२ प्रतिशत अर्थात् ४ लाख ८३ हजारले कृषि कर्मका लागि ऋण लिने गरेका छन्। ऋण लिएका किसान परिवार मध्ये ३९ प्रतिशतले सहकारीबाट ऋण लिएका छन्। त्यसैगरी, १४ प्रतिशतले आफन्तसँग, १४ प्रतिशतले महिला समूहबाट ऋण लिने गरेको पाइएको छ।

नेपालमा बैँक तथा वित्तीय संस्थाको संख्या विस्तार भए पनि गरीब र किसानसम्म पहुँच नपुगेको भनी आलोचना हुँदै आएको छ। बैँक तथा वित्तीय संस्थाले प्रवाह गर्ने ऋणको अधिकांश हिस्सा सीमित व्यवसायी र घरानाको हातमा भएको भनी केन्द्रीय बैँकका अधिकारीले नै बताउने गरेका छन्।

कृषि गणनाका अनुसार ३४ प्रतिशत किसान परिवारले आफ्नो कृषि व्यवसाय विस्तारका लागि ऋणको आवश्यकता रहेको बताएका छन्। एकतिहाइ भन्दा बढीले पशुपन्छी पालनका लागि थप ऋण आवश्यक परेको बताएका छन्। कृषि गणनाले कुल किसान परिवार मध्ये ४ प्रतिशतले मात्रै कृषि बीमा गरेको देखाएको छ। सरकारले कृषि बीमा बढाउन विभिन्न कार्यक्रम घोषणा गर्दै आए पनि यो प्रभावकारी हुन सकेको छैन।

देशका किसान परिवार मध्ये ७ प्रतिशतले मात्रै सरकारी अनुदान र सहयोग पाएको बताएका छन्। अनुदान पाएको बताउने मध्ये ४६ प्रतिशतले रासायनिक मलका लागि अनुदान पाएको बताएका छन्। सरकारले कृषि अनुदानमा वार्षिक अर्बौं रुपैयाँ खर्च गर्दै आएको छ। तर, त्यस्तो अनुदान र सहयोग टाठाबाठा र पहुँचवालाको पोल्टामा पुगिरहेको छ। कृषि गणना अनुसार देशमा किसान परिवारको संख्या ४१ लाख ३० हजार छ।

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  १४:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update