Kath khabar
सयपत्रीको फूल बेचेर नौ लाख कमाएका युवा भन्छन्, 'आजभोलि पैसा कमाउन विदेश जाने सोच आउँदैन'


                        सिन्धुली, कात्तिक २२ । राहदानी बनाएर विदेश जान लागेका सिन्धुलीको सुनकोशी गाउँपालिका-५ का २२ वर्षीय उमेश दर्नाल बाँझो जमिनमा सयपत्री लगाएर आम्दानी गरिरहेका छन् । सिन्धुलीको सुनकोशी गाउँपालिका-५ पारीबारी फूलैफूलले सजिएको छ । यहाँको प्राकृतिक वातावरण सुगन्धित र सुवासिलो भएको छ । यसैको मोहले तन्नेरी उमेश दर्नाललाई तानेको छ ।

“नजिकिएको तिहारमा मात्रै सयपत्रीको एक हजार माला बेच्ने तयारी छ, यसअघि सयपत्रीको फूल बेचेर रु नौ लाख आम्दानी लिइसकेको छु”, उनी भन्छन्  । सयपत्री फूलको मगमगाउँदो सुगन्धले मनमा आनन्द र राम्रो आम्दानीसमेत आर्जन भएको दर्नाल बताउँछन् । उनलाई आजभोलि पैसा कमाउन विदेश जाने सोच आउँदैन । परम्परागत विभिन्न बालीनाली लगाउँदा आठ हजार कमाई नहुने आठ रोपनीमा उनले व्यावसायिक सयपत्री खेती गरेको एक वर्ष बितिसकेको छ ।

वर्षमा तीन पटकसम्म सयपत्रीको फूल र यसको माला बेच्ने गरेको उनी सुनाउँछन् । सयपत्री फूल स्वागतदेखि बिदाइसम्म र दैनिक पूजापाठका लागि आवश्यक पर्ने भएकाले वर्षैभरि बिक्री हुन्छ । तिहारमा यसको माग र मूल्य बढी हुन्छ । दर्नालले उत्पादन गरेका फूलमाला सिन्धुलीको सिन्धुलीमाढी, रामेछापको मन्थली र काठमाडौँको पशुपतिनाथ क्षेत्रसम्म पुग्ने गर्दछ । दर्नालले तीन महिनाअघि सयपत्रीको बीउ बेर्ना बनाएर रोपेका थिए । बेर्ना रोप्दा, बिरुवाको जलमल तथा आवश्यक रेखदेख गर्दाका दुःख यतिबेला खुसीमा बदलिएका छन् । थप जमिनमा फूलखेती विस्तार गर्ने उनमा उत्साह उब्जिएको छ ।

सुनकोशीका युवा दर्नालले जसरी ठूलो क्षेत्रमा व्यावसायिक फूलखेती गर्ने रहर  कमलामाई नगरपालिका-१ डाँडीगाउँकी रिमा अधिकारीलाई पनि जागेको छ । फूलखेती, यसको बजार, सम्भावना, अवसर र चुनौतीका बारेमा नबुझिकनै व्यावसायिक फूलखेती सुरु गरेको बताउने उहाँ गर्दै-सिक्दै, सच्याउँदै-सच्चिदै, बुझ्दै-बुझाउँदै अगाडि बढ्ने सोचमा रहेका छन् । अहिले एक कठ्ठामा फूलखेती सुरु गरे पनि विस्तारै बढाउँदै जाने उनको योजना छ ।

अहिले उनको फूलबारीमा सयपत्रीका फक्रिएका फूलैफूल छन् । अहिलेसम्म कसैले माग भने गरेका छैनन् । तैपनि नबिक्ने चिन्ता उनलाई छैन । तिहारसम्ममा घरबारीबाटै फूल बिक्री हुने उनको विश्वास छ । यता गोलञ्जोर गाउँपालिका-२ बितिजोर हमालडिहीका यम हमालको तीन रोपनीमा एउटै उचाइमा एकैनास भएर सयपत्री फुलेका छन् ।

आकर्षक फूलबारीमा फोटो खिच्ने, टिकटक बनाउने र फूलबारी हेर्न आउनेको सङ्ख्या बाक्लिँदो छ । उनका अनुसार सयपत्री फूल फुल्दा जति सुन्दर तथा आकर्षक देखिन्छ, फूललाई फुलाउन त्यत्तिकै मेहनत गर्नुपर्छ । सयपत्री फूलखेती गरेका  हमाल भन्छन्, “राम्रो, सुन्दर फूल फुलाउन बिरुवा स्वस्थ हुनुपर्छ । बिरुवा रोप्दादेखि नै हावापानी र मलजलमा विशेष ध्यान दिनुपर्छ ।”

हमालले एक प्याकेट बीउलाई पाँच हजारमा किनेर बेर्ना तयार गरी रोपेकी थिइन् । उनका अनुसार हाइब्रिड जातको फूलको बीउ तथा बिरुवा महँगो छ । बिरुवा महँगो पर्ने भए पनि यसको फूल चाँडै ओइलाउँदैन । फूलका थुङ्गा एकैनासका आर्कषक हुन्छन् । सयपत्रीको प्रति बेर्ना रु तीन-पाँचसम्म किन्न पाइने हमालले जानकारी दिए । पहिलोपटक गरिएको व्यावसायिक फूलखेतीले थप विस्तार गर्न उनलाई पनि हौसला बढेको छ । तीन रोपनीमा फुलेको सयपत्रीबाट रु तीन लाख बढी आम्दानी हुने उनको अनुमान छ ।

सयपत्री फूलको व्यावसायिक खेतीमा सामुदायिक विद्यालय पनि जोडिन थालेका छन् । पढ्दै-कमाउँदै कार्यक्रमअन्तर्गत कमलामाई नगरपालिका-५ मा अवस्थित जनज्योति माध्यमिक विद्यालय फोस्रेटारमा अध्ययनरत विद्यार्थीले एक कठ्ठामा गरेको फूलखेतीले आम्दानी दिन थालिसकेको छ ।

अघिल्लो वर्ष १० धुरमा लगाएको फूलखेतीबाट रु ४० हजार आम्दानी लिएका थिए । यस वर्ष एक कठ्ठामा लगाएको फूलखेतीबाट रु १५ हजार कमाइ भइसकेको छ । अझै बोटभरि ढकमक्क फुलेका फूल ग्राहकको प्रतिक्षामा छन् । विद्यालयका प्राधानाध्यापक योगेन्द्रप्रसाद अधिकारीका अनुसार विद्यार्थीले प्रतिकेजी रु चार सयमा फूल बिक्री गर्ने गर्दछन् । यतिबेला बारीका पाटा, आली, कान्ला, करेसा, घरआँगन सर्वत्र सयपत्रीमय बनेको छ ।  फूलबारीमा फुलेका आकर्षक सयपत्री फूलले वातावरणमा छुट्टै सुन्दरता थपेको छ । गाउँदेखि सहरसम्म सयपत्रीको बासना छाएको छ ।

तिहार तथा अन्य समयमा पनि सयपत्री फूल जिल्लाबाट निर्यात हुन थालेको सम्बन्धित पालिकाका कृषि शाखा तथा कृषि ज्ञान केन्द्रका प्रमुखहरू बताउँछन् । सयपत्री फूलको माग वर्षैभरि हुन्छ । तिहारमा सर्वाधिक खपत हुने भएकाले माग बढी हुने तथा उचित मूल्य पाइने फूल व्यवसायी बताउँछन् ।

चार वर्षअघि सयपत्रीको व्यावसायिक खेती सुरु गर्ने पहिलो किसान सुनकोशी-३ सुन्दरबस्तीका ज्ञानप्रसाद भट्टराईका अनुसार जिल्लामा फूल व्यवसाय फस्टाउँदै गएको छ । फूल व्यवसायी बढ्दै गएका छन् ।

 

प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  १२:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update