Kath khabar
पश्चिमका केही ठाउँमा वर्षा र हिमपात, बादल पूर्वतिर सर्दै मुस्ताङमा यस वर्षको पहिलो हिमपात

 

                 मुस्ताङ, मंसिर १८ ।  पश्चिमका केही ठाउँमा वर्षा र हिमपात भएको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भेगमा हल्का वर्षा सहित हिमपात भएको हो । मौसम बदली भएसँगै चिसो बढेको छ । आज कोशी र मधेश प्रदेश बाहेक देशका अरु ठाउँमा बदली भएको छ ।

पश्चिमी वायुको प्रभावका कारण मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमबाट शुरु भएको बदली पूर्वतिर सरिरहेको छ । बेलुकी देखि मधेश र कोशी प्रदेश बाहेक अरु ठाउँको मौसम खुल्दै जाने महाशाखाले जनाएको छ ।

हिमालपारीको जिल्ला मुस्ताङमा यस वर्षको पहिलो हिमपात भएको छ । आज सोमवार बिहानै देखि मुस्ताङको सबै क्षेत्रमा हिमपात भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । उपल्लो मुस्ताङको लोमान्थाङ देखि जिल्ला सदरमुकाम जोमसोम र तल्लो क्षेत्र घाँसासम्म हिमपात भएको मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले टेलिफोनमा जानकारी दिनुभयो ।

पाँचवटा गाउँपालिका रहेको मुस्ताङको लोमान्थाङ, लो-घेकर दामोदरकुण्ड, बाह्रगुङ मुक्ति क्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकाको सबै क्षेत्रमा हिमपात भएको प्रहरी नायब उपरीक्षक पाण्डेले बताउनुभयो । यो समाचार तयार पार्दासम्म अहिले पनि मुस्ताङमा हिमपात भैरहेको छ । मुस्ताङको माथिल्लो क्षेत्रमा झण्डै २ फिटसम्म हिउँ जमेको अनुमान गरिएको छ । हिमपात भएपछि मुस्ताङमा चिसो बढेको छ । हिमपातका कारण मुस्ताङका स्थानीयवासी कोही हिउँ पन्छाउन लागेका छन् भने कोही घरभित्र बसेर आगो तापिरहेका छन् ।

हिमपात भएर एक्कासी चिसो बढेपछि घर बाहिर निस्कन पनि समस्या भएको छ । मुस्ताङ सदरमुकाम जोमसोमको तापक्रम माइनस ३ डिग्री सेल्सियसमा पुगेको जनाइएको छ । चिसोबाट जोगिन घरभित्रै बस्न, तातो खानेकुरा खान र न्यानो कपडा लगाउन स्थानीयलाई अनुरोध गरिएको छ।

यसैगरी जोमसोम विमानस्थलमा आज एउटा मात्रै हवाई उडान भएपछि उडान रोकिएको छ । दुई वटा उडान हुने तालिका रहे पनि मौसम प्रतिकुल बनेपछि पोखराबाट जोमसोमका लागि एउटा मात्रै हवाइजहाज आएको प्रहरी नायब उपरीक्षक पाण्डेले बताउनुभयो ।

यता यसवर्ष मंसिर महिनाको दोस्रो हप्तामा नै पहिलो हिमपात भएपछि मुस्ताङका स्याउ उत्पादक कृषकहरु भने खुसी भएका छन् । हिमपातले स्याउको फूल खेल्न र दाना लाग्न सहयोग पुग्नुका साथै स्याउ उत्पादनमा समेत वृद्धि हुने भएकाले स्थानीय कृषकहरु खुसीले रमाएका छन् । 

यसैबीच मुस्ताङमा चिसो बढ्दै गएपछि उपल्लो मुस्ताङका झण्डै ७० प्रतिशत र तल्लो मुस्ताङका ५० प्रतिशत स्थानीयवासी जाडो छल्न बेसीतर्फ झरेका छन् । अहिले मुस्ताङमा होटल व्यवसायी, भेडा गोठाला, घरकुरुवा र बुढाबुढी मात्रै छन् ।

मुस्ताङीहरु हरेक वर्ष चिसो बढेपछि मंसिरमा बेसी झर्ने र फागुनमा गर्मी बढ्दै जान थालेपछि मुस्ताङ फर्किने गर्दछन् । उपल्लो मुस्ताङमा गएको असोज अन्तिम हप्ता देखि चिसो बढ्न थालेको थियो ।

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  १३:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update