Kath khabar
‘माटो र पानी जीवनको थालनी’ नारा सहित आज ‘विश्व माटो दिवस’ मनाइँदै

 

                   काठमाडौं, मंसिर १९ ।  डिसेम्बर ५ अर्थात् विश्व माटो दिवस। नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ।  माटोको दिगो उर्वराशक्ति व्यवस्थापन सम्बन्धी विषय  सम्बोधन गर्ने र जनचेतना अभिवृद्धि गर्ने मूल ध्येयका साथ संसारभर डिसेम्बर ५ का दिन विश्व माटो दिवस मनइन्छ ।

‘विश्व माटो दिवस २०२३’ का अवसरमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले  यही मंसिर १६ गतेदेखि नै कार्यक्रम गरिरहेको छ । ‘माटो र पानी, जीवनको थालनी’ भन्ने मूल नारा सहित शुरु भएको कार्यक्रम मंगलबार समापन गरिँदैछ ।

नार्क अन्तर्गतको राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रले माटो सुधारका उपाय लगायतका विषयमा प्रचार प्रसार, माटोको निस्शुल्क जाँच शिविर, विद्यार्थीलाई स्वच्छ माटोको आवश्यकता बारे जानकारी दिइरहेको छ।

केन्द्रले मंसिर १६ गते माटोको उर्वराशक्तिको महत्त्व, संरक्षण र सुधार लगायतका प्रचार प्रसारमा जोड दिएको छ। १७ र १८ गते काभ्रेपलाञ्चोकको खोपासीमा किसानको नि:शुल्क माटो परीक्षण कार्यक्रम गरेको छ।  मुख्य दिन मंगलबार केन्द्रको खुमलटार कार्यालयमा विषेश कार्यक्रम राखेको छ।

नार्क सहित राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्र, कृषि विभाग, नेपाल माटो समाज, संयुक्त राष्ट्र सङ्घ अन्तर्गतको खाद्य तथा कृषि सङ्गठन (एफएओ), अन्तर्राष्ट्रिय गहुँ तथा मकै सुधार केन्द्रले संयुक्त रूपमा दिवस मनाउन लागेका हुन्। ​एफएओको सिफारिसमा संयुक्त राष्ट्र सङ्घको ६८ औँ महासभाको निर्णय अनुसार सन् २०१३ डिसेम्बर ५ देखि यो दिवस मनाउन शुरु गरिएको हो। 

नेपालमा सन् २०१४ डिसेम्बर ५ देखि औपचारिक रूपमा यो दिवस मनाउन शुरु गरिएको हो। दिवसका अवसरमा माटोको गुणस्तरका बारेमा प्रचार प्रसार, माटोको परीक्षणका बारेमा जानकारी गराउनुका साथै माटोको निःशुल्क जाँच शिविर तथा स्वच्छ माटोको आवश्यकता लगायतका विषयमा जानकारी गराइने कार्यक्रम छ। माटो विज्ञान अनुसन्धान केन्द्रका प्रमुख डा. श्रीप्रसाद विष्टका अनुसार दिवसको मुख्य कार्यक्रम मङ्सिर १९ गते मंगलबार हुने छ।

भूक्षय तथा अत्यधिक पानी परेका कारण वार्षिक प्रतिहेक्टर १२ देखि १४ टन माटो बगेर जाने गरेको छ । त्यसमा पहाडमा मात्र २० देखि ३० टन माटो बग्ने गरेको छ । केन्द्रका प्रमुख विष्टका अनुसार १.४ एमएम माटोको माथिल्लो सतह बगेर जाने गरेको छ। 

 

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update