Kath khabar
भ्रमण वर्ष २०२४ का लागि चितवन राष्ट्रिय निकुञ्जको यस्तो छ तयारी

                      चितवन, माघ ९ । चितवन राष्ट्रिय निकुञ्जमा भरतपुर भ्रमण वर्ष २०२४ को लागि तयारी थालिएको छ । फागुन १८ गतेदेखि सुरु हुने भरतपुर भ्रमण वर्षको लागि निकुञ्जसँगै जोडिएका मध्यवर्ती क्षेत्रमा रहेका सामुदायिक वनमा पनि तयारीलाई तीब्र पारिएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत गणेश तिवारीका अनुसार मध्यवर्ती क्षेत्रमा रहेका सामुदायिक वन, बाटुली पोखरी, किङ फिसर ताल, बीस हजारी तालमा सरसफाइको काम भइसकेको छ । भरतपुर भ्रमण वर्षको मुख्य पर्यटकीय गन्तव्य रहेको निकुञ्ज हो । निकुञ्जले यहाँ रहेका जिप सफारीको पुराना रुटमा पनि सरसफाइ गरिसकेको छ । निकुञ्जका सूचना अधिकारी तिवारीले पर्यटकीय स्थलमा नक्सा (म्याप) पनि राख्ने काम पनि गरिएको जानकारी दिनुभयो ।

निकुञ्जभित्र रहेका ताल, पोखरी र घाँसे मैदानलाई पनि व्यवस्थित बनाउने निकुञ्जको वार्षिक कार्यक्रम अनुसार अगाडि बढाइएको सूचना अधिकारी तिवारीले बताउनुभयो । मेघौली क्षेत्रका सामुदायिक वनका प्रवेश द्धारलाई शृंगार गर्ने काम गरिएको छ भने निकुञ्जको हेटक्वाटर कसरामा सरसफाइ र रङ रोगनका कार्य भएको छ । भ्रमण वर्षमा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई स्वागत गर्ने गरी व्यवस्था मिलाइएको छ ।

भ्रमण वर्षमा भरतपुर आउने प्रकृति पर्यटकलाई निकुञ्जभित्र हुने पर्यटन गतिविधिलाई सहज बनाउन मिल्ने कामलाई तीव्रता दिएको उहाँको भनाइ छ । निकुञ्ज जिप तथा हात्ती सफारीको लागि प्रख्यात मानिन्छ । यस्तै भरतपुर ६ देवनगरमा रहेको वन्यजन्तु उद्धार केन्द्रमा बाघ राख्न मिल्ने गरी बनाइएको केजको निर्माण कार्य पनि पुरा भएको निकुञ्जले जनाएको छ । उद्धार केन्द्रकै कम्पाउण्डमा गैँडालाई राख्न मिल्ने गरी तारबारको काम पनि अहिले भइरहेको छ।

निकुञ्ज घुम्न आउने पर्यटकले पाटे बाघ र गैँडा देख्न नपाएको खण्डमा सहज तरिकाबाट देखाउने उद्देश्यले चिडिया घर शैलीमा उद्धार केन्द्रलाई निर्माण गरिएको हो। निकुञ्जमा समय र परिस्थिति नमिलेको अवस्था वन्यजन्तु नदेखी सम्भावना रहन्छ । पर्यटकलाई बाघ र गैँडा देख्न पाइयो भन्ने आभाष दिलाउन केभभित्र बाघ राख्ने तयारी गरिएको हो । फागुनको पहिलो साता बाघलाई केभमा राख्ने निकुञ्जको तयारी छ ।  

निकुञ्जले टिकटलाई अनलाइन र डिजिटल बनाउने सम्बन्धमा निकुञ्ज विभागलाई पत्राचार गरेको छ । भ्रमण वर्षमा पर्यटकको चाप वृद्धि हुने र टिकट काट्न असहज हुने अनुमानका साथ टिकट प्रणालीलाई अनलाईन बनाउने पहल भइरहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिल पुर्जाले जानकारी दिनुभयो ।

प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  १२:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update