Kath Khabar
यस वर्षको अन्तिम पूर्ण चन्द्रग्रहण आज लाग्दै, शास्त्रअनुसार के के कुरालाई वर्जित गरिएको छ ?

                                 काठमाडौं, भदौ २२ । आज यस वर्षको अन्तिम पूर्ण चन्द्रग्रहण लाग्दैछ । जुन नेपाल र एसियाका धेरै भागहरूबाट पूर्ण रूपमा देखिनेछ । यसलाई ज्योतिष र खगोल विज्ञान दुवै दृष्टिकोणबाट विशेष मानिन्छ । 

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार ग्रहण राति १०ः११ बजे सुरु (स्पर्श),  ११ः१५ बजे सम्मीलन, ११ः५६ बजे मध्य, १२ः३८ बजे उन्मीलन र १ः४१ बजे (मोक्ष) पूर्ण रूपमा समाप्त हुनेछ । कुल ग्रहण १ घण्टा २३ मिनेटसम्म रहनेछ, जबकि सम्पूर्ण अवधि पेनम्ब्रल र आंशिक चरणहरू सहित ३ घण्टा ३० मिनेटसम्म रहनेछ । यस अवधिमा चन्द्रमा पृथ्वीको छायाँमा पूर्ण रूपमा छोपिने भएकाले चन्द्रमा रातो देखिनेछ ।  आकाश सफा रहेमा नेपालभरका पर्यवेक्षकहरूले सुरुदेखि अन्त्यसम्म नाङ्गो आँखाले यो आकाशीय घटना देख्न सक्नेछन् ।

राशिअनुसारको फल चन्द्रग्रहणले १२ राशिलाई छुट्टाछुट्टै प्रभाव पार्ने ज्योतिष शास्त्रमा उल्लेख गरिएको छ । जसअनुसार मिथुनलाई माननाश, कर्कटलाई कष्टम्, सिंहलाई स्त्रीपीडा, तुलालाई चिन्ता, वृश्चिकलाई व्यथा, मकरलाई क्षति, कुम्भलाई घात र मीन राशि भएका मानिसलाई व्यय हुने योग रहेको छ । यस्तै ४ राशीहरुलाई शुभ रहेको छ, मेष राशिलाई लाभ, वृषलाई सुखम्, धनुलाई श्रीप्राप्ती र कन्यालाई सौख्यम् रहेको छ । 

हिन्दू धर्ममा, ग्रहणको समयलाई अशुद्ध समय मानिन्छ यस अवधिलाई सूतक काल भनिन्छ । पूर्ण चन्द्रग्रहण सुरु हुनुभन्दा ९ घण्टा अगाडि सुतक सुरु भइसकेको छ । हिन्दू धर्ममा ग्रहणको सूतकलाई लिएर केही नियम र विशेष मान्यता रहेका छन् । ग्रहण अवधिमा हवन, मन्त्रजप, दान जस्ता शुभ कार्यहरूलाई उत्तम मानिन्छ । यस अवधिमा खाना खान निषेधि गरिन्छ भने  सुत्ने, मैथुन गर्ने, तेल लगाउने, मलमुत्र त्याग गर्ने, कसैलाई बाँध्ने वा मार्ने जस्ता कार्यहरू पूर्णतः निषेध गरिएका छन् । गर्भवती महिलाहरूले विशेष सावधानी अपनाउनु पर्छ । यस समयमा गर्भवती महिलाहरूको बाहिर निस्कनु अनुचित मानिन्छ । धार्मिक विश्वासअनुसार ग्रहणको सूतकको समयमा राहु आदिका ग्रहहरूले नकारात्मक ऊर्जा बढाउँछन् ।

सूतक सुरु भएसँगै पकाएको भोजनमा तुलसी कुशका पात राख्नु पर्छ । भनिन्छ कि तुलसीले भोजनलाई अशुद्ध हुनबाट बचाउँछ । ग्रहणपछि स्नान गर्नु र दानपुण्य गर्नु श्रेष्ठ मानिन्छ । ग्रहणको समयमा यस अवधिमा गुरु मंत्र, गायत्री मंत्रको जाप, हरि कीर्तन र रामायण पाठ गर्नु पुण्यकारी हुन्छ भन्ने कुरा ज्याेतिषिवदहरू बताउछन् ।

यस समयमा राहु र केतु जस्ता छाया ग्रहहरूले चन्द्रमा वा सूर्य लाई प्रभाव पार्छन्, जसका कारण नकारात्मक ऊर्जाको प्रभाव बढ्छ । यही कारणले गर्दा ग्रहणको समयमा मन्दिरका ढोकाहरू बन्द गरिन्छ ताकि यो अशुद्ध ऊर्जाले मन्दिर र भगवानका मूर्तिहरूको पवित्रतामा असर नपरोस् ।  ग्रहण समाप्त भएपछि शुद्धीकरण (स्नान), मन्त्र जप गरेपछि मात्र खोलिन्छन् ।

 

प्रकाशित मिति: आइतबार, भदौ २२, २०८२  १३:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update