
काठमाडौं, फागुन १७ । काठमाडौं महानगरभित्रको नन्दीकेशर मन्दिर, शंकरकीर्ति महाविहार र नक्साल भगवती मन्दिरको चिनारी सम्बन्धी जानकारी दिन अब क्युआर कोड राखिएको छ । वडाले द सारङ्गको प्राविधिक सहयोगमा क्यु आर कोड राखेको हो ।
सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्व बोकेका स्मारक घुम्न आउने आगन्तुकहरुले सजिलै जानकारी पाउन सकुन भनेर वडाले प्रविधिको प्रयोग थालेको हो । मन्दिरको प्राचीन इतिहास, यससँग सम्बन्ध जोडिएका जात्रा पर्व, सामाजिक तथा धार्मिक संस्कारलगायत विषय जान्न क्युआरको प्रयोग गरिएको वडा नं. १ का अध्यक्ष भरतलाल श्रेष्ठले भन्नुभयो ।
वडा सदस्य रसला तण्डुकारका अनुसार वडाभित्र ४ वटा प्राचीन ढुङ्गेधारा छन् । यस्तै नागपोखरी, हिटी पोखरी, चतुर्भुज नारायण, गोमा गणेश, नन्दीकेशर बगैँचा, हरिहर नारायण (आधा विष्णु आधा शिव), साइ केन्द्र, सोराहिटी (तीनधारा), जमल विहार, लाल गणेश जस्ता प्राचीन सांस्कृतिक सम्पदा छन् । यी सम्पदाको प्रवर्धनका लागि क्युआर कोडमार्फत काम थालिएको हो ।
क्युआर कोडमा नेपाली, अंग्रेजी, जर्मन, हिन्दी, फ्रेन्च, चाइनीज, कोरियन, स्पेनिस, जापानीज, अरेविक गरी १० भाषामा अडियो सुन्न पनि सकिन्छ ।