Kath khabar
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता

काभ्रेपलाञ्चोक, वैशाख ३०। काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका र जापानस्थित सरोमा सिटी (नगर), होक्काइडोकाबीच दुई नगरको विभिन्न कार्यमा सीप र प्रविधि आदानप्रदानसम्बन्धी सम्झौता भएको छ ।  आज धुलिखेलमा भएको सम्झौतापत्रमा धुलिखेल नगरप्रमुख अशोक ब्याञ्जू र सरोमा नगरप्रमुख हारुटोमो टोकेडाले हस्ताक्षर गर्नुभएको छ । सरोमा सिटी प्रमुख टोकेडाको टोली आजै धुलिखेल नगर आइपुगेको थियो । 

    सम्झौता कार्यक्रममा सङ्क्षिप्त विचार राख्दै टोकेडाले जापानमा १५ वर्षभन्दा कम उमेर समूहका १० प्रतिशत र ६५ वर्षमाथि उमेर समूहका नागरिकको सङ्ख्या ४० प्रतिशत रहेकाले मुलुकका लागि आवश्यक पर्ने युवा जनशक्ति कम हुँदै गएको बताउनुभयो । “तर नेपालमा युवा धेरै–रोजगार क्षेत्र थोरै भएकाले दुई देशका दुई नगरको उल्टो तथ्याङ्कलाई सही रुपमा उपयोग गर्नेगरी आवश्यक युवा जनशक्तिलाई रोजगारका क्षेत्रमा कार्य गर्न सरोमा सिटी तयार छ”, उहाँले भन्नुभयो । उहाँले दुई देशका दुई नगर एकआपसमा मिलेर कार्य गर्न तयार रहेको बताउनभएको हो । 

    सो अवसरमा धुलिखेल नगरप्रमुख ब्याञ्जूले जापानको प्रविधि र सीपलाई धुलिखेलमा प्रयोग गर्ने गरी भएको सम्झौताले दुवै नगरका नागरिकलाई फाइदा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले धुलिखेलबाट हाल केही युवालाई कृषि क्षेत्रमा रोजगार एवं ज्ञान आदानप्रदान गर्न जापानस्थित राइनोकिनो कम्पनीमा पठाइएको बताउनुभयो । “उहाँहरुले जापानमा रहँदा उनीहरुले सिक्ने सीप र प्रविधि धुलिखेल आएर व्यवहारत लागू गर्दै अन्य नागरिकलाई पनि आर्थिक रुपले सम्पन्न बनाउने अभियानमा योगदान पु¥याउनुहुनेछ”, उहाँले भन्नुभयो ।

    टोकेडाको टोलीमा नगरका कृषि तथा सहकारी विभागीय प्रमुख कुसिवे फुमिहारु, टप फार्मका अध्यक्ष इनोई नोबोरु त्था उपाध्यक्ष इनोई काजुकी, राइनोकिनो कम्पनी जापानका अध्यक्ष आकानुमा मसाकोलगायतको सहभागिता रहेको थियो । टोलीले धुलिखेल नगरमा सञ्चालित सीपमूलक जापानिज भाषाको कक्षा अवलोकन गरेको थियो ।  यस्तै, धुलिखेल अवलोकन भ्रमणका क्रममा दुई नगरका प्रमुखद्वारा संयुक्त रुपमा वृक्षरोपण गरिएको छ ।
 

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  २०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update