
काठमाडौं, साउन २१ । वैदेशिक रोजगारीमा जाने युवाहरुको मृत्यु हुनेको संख्या बढेको छ । नेपाली युवाहरुको गन्तब्य मुलुकको रुपमा रहेको खाडीका ६ वटा (साउदी अरब, संयुक्त अरब इमिरेट्स, कतार, बहराइन, कुवेत, ओमान) र मलेसियामा मृत्यु हुनुको संख्या बढ्दै गएको पाईन्छ।
वैदेशिक रोजगार बोर्डको सचिवालयका अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा वैदेशिक रोजगारीमा गएका युवाहरु मध्ये १२१३ पुरुष र २९ महिला गरी १२४३ जनाको मृत्यु भएको छ। यस्तै आर्थिक वर्ष २०७६/७७ मा वैदेशिक रोजगारीमा गएका युवाहरु मध्ये ६३९ पुरुष र १७ जना महिला गरी ६५६ जना मृत्यु र आर्थिक वर्ष २०७५/७६ मा २३ महिला सहित ७५३ जना र आर्थिक वर्ष २०७४/७५ मा ८ सय पुरुष र २१ महिला गरी ८२१ जना नेपालीको मृत्यु भएको छ ।
मृत्युदर बढ्दा पनि सरकार भने यसलाई कम गर्ने बारेमा कुनै प्रयास गरेको पाइँदैन। अर्कोतर्फ वैदेशिक रोजगारीमा जाने युवाहरु अधिकांश अदक्ष भएको कारणले गर्दा पनि समस्या भएको सरोकारावालाहरु बताउनु हुन्छ । गन्तव्य मुलुकहरुले विदेशमा मृत्यु भएकाको हकमा भने मृत्युको कारण थाहा नभएको, प्राकृतिक लगायतका कारण देखाउने गरेको बोर्डको भनाई रहेको छ ।
यसैबीच, आर्थिक वर्ष २०७७/७८ मा विदेश गएका एक सय ३८ पुरुष र ५ महिला अंगभंग/गम्भिर विरामी भए, २२६ पुरुष र १८७ महिला अलपत्र परेको बोर्डले जनाएको छ । बोर्डले कल्यणकारी कार्य अन्तर्गत आर्थिक वर्ष २०७७/७८ मा ३ पुरुष र एक महिला गरी कामदारका परिवारलाई औषधोपचार सहयोग, ७४८ पुरुष र २२ महिलाको शव घर सम्म पुराएको २१ महिलालाई अभिमुखीकरण तािलम वापतको रकम शोध भर्ना र २००१ पुरुष र २०८ महिला वैदेशिक रोजगार छात्रवृत्ति प्रदान समेत प्रदान गरेको छ।
यसैबीच, बोर्डले कल्यणकारी कार्य अन्तर्गत विभिन्न शीर्षकमा आर्थिक वर्ष २०७७/७८ मा ८७ करोड ३९ लाख वितरण गरेको छ। बोर्डले गत आर्थिक वर्षमा ७३ करोड ७७ लाख मृतक कामदारका परिवारलाई क्षतिपूर्ति तथा राहत, ७ करोड ३३ लाख अंगभंग/गम्भिर बिरामी कामदारलाई, दुई लाख कामदारका परिवारलाई औषधोपचार सहयोग, दुई करोड ६६ लाख अलपत्र कामदारको उद्धार, ९० लाख शव झिकाउन समन्वय र सहयोग, १७ लाख मृतकको शव घर ठेगान सम्म पुराउन आर्थिक सहयोग गरेको छ। यस्तै, सोहि वर्ष १४ हजार अभिमुखिकरण तालिम वापतको रकम शोध भर्नाका लागि, दुई करोड आठ लाख वैदेशिक रोजगार छात्रवृत्ति प्रदान गर्न र ४६ लाख सान्त्वना राहतस्वरुप वितरण गरेको छ।
बोर्डले कल्यणकारी कार्य अन्तर्गत आर्थिक वर्ष २०७६/७७ मा करिब ६७ करोड र आर्थिक वर्ष २०७५/७६ मा ६२ करोड ३६ लाख ५४ हजार रुपैयाँ वितरण गरेको छ। वैदेशिक रोजगारीमा जाने युवाहरुले ३ वर्षसम्मको करार अवधि भए एक हजार पाँच सय रुपैयाँ र सो भन्दा बढी भए दुई हजार पाँच सय रुपैयाँ कल्यणकारी कोषलाई प्रदान गर्नुपर्छ । वैदेशिक रोजगार ऐन, २०६४ को दफा ३२ को उपदफा (१) मा वैदेशिक रोजगारमा गएका तथा वैदेशिक रोजगारबाट फर्की आएका कामदार तथा निजको परिवारको समाजिक सुरक्षा र कल्याणको लागि बोर्डको मातहतमा रहने गरी कल्याणकारी कोषको स्थापना गरिएको हो।
वर्षेनि ५ लाख युवाहरु रोजगारीको खोजीमा विदेशीने गरेको पाईन्छ। यसरी विदेशिने युवाहरुले मासिक करिब सात खर्ब विप्रेषण भित्राउने गरेको पाईन्छ। नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०७७/७८ को ११ महिनामा नेपालको विप्रेषण आप्रवाह अर्थात् रेमिट्यान्स रकम १२ दशमलव छ प्रतिशतले बढेर आठ खर्ब ७० अर्ब ९४ करोड रुपैयाँ पुगेको छ।
नेपालमा रहेका आफन्तहरुलाई आश्वसत पार्नका लागि मृत्युको कारण बारे अनुसन्धान भइरहेको व्यहोरा नेपालमा पठाइने गरेर घटना साम्य पार्ने गरेको पाईन्छ । विदेशमा ज्यान गुमाएका नेपालीहरुको पोस्टमार्टम नगरी शव नेपाल पठाउने परिपाटीका कारण मृत्युको कारण नै अन्यौलमा रहेको छ। ह्दयघात, आत्महत्या, सडक दुर्घटना, कार्यस्थल दुर्घटना, बिरामी जस्ता कारणबाट श्रमिकको मृत्यु हुने गरेको बोर्डका अधिकारीहरु बताउनु हुन्छ।