Kath Khabar
लिभरपुलका स्टार फुटबल खेलाडी डियोगो जोटाको कार दुर्घटनामा निधन

                     काठमाडौं, असार १९ । पोर्चुगल तथा लिभरपुल फुटबल क्लबका स्टार खेलाडी डियोगो जोटाको आज दुखद कार दुर्घटनामा मृत्यु भएको छ।

स्पेनको जामोरा प्रान्तको ए-५२ मोटरवेमा जोटा आफ्नो २६ वर्षीय भाइ आन्द्रेसँग यात्रा गरिरहेको बताइएको छ, जो एक फुटबल खेलाडी पनि हुन् । रिपोर्टका अनुसार उनीहरूको कार अर्को गाडीलाई ओभरटेक गर्ने क्रममा टायर पड्किएर सडकबाट खसेर आगो लागेको थियो । 

दुवैलाई घटनास्थलमै मृत घोषित गरिएकाे हाे । दुःखको कुरा केही हप्ता अघि मात्र २८ वर्षीय डियोगोले पोर्टोमा आफ्नी प्रेमिका रुटे कार्डोसोसँग विवाह गरेका थिए । 

जोटा विश्वकै सबैभन्दा प्रतिभाशाली फरवार्ड खेलाडीमा गनिन्थे । उनले क्लब स्तरमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पनि उत्कृष्ट प्रदर्शन गरेका छन् । उनले लिभरपुलका लागि १८२ खेलमा ६५ गोल गरेका छन् । उनले पोर्चुगल राष्ट्रिय टोलीका लागि ४९ खेलमा १४ गोल गरेका छन् । उनले युइएफए नेसन्स लिग (२०१९, २०२५), एफए कप, लिग कप र हालसालै २०२४-२५ प्रिमियर लिगको उपाधि पनि जितेका छन् ।  डियोगो पहिले फरवार्ड, लेफ्ट विंगर पोजिसनमा खेल्थे ।

प्रकाशित मिति: बिहीबार, असार १९, २०८२  १५:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update