
भोजपुर, असार २२ । भोजपुरमा एकै परिवारका चार जनाको हत्या भएको छ। भोजपुरको रामप्रसाद राई गाउँपालिका-२ को धोद्लेखानी बोन्थिताङमा गएराति ज्वाइँले सासु, ससुरा, श्रीमती र सालोसहित चारजनाको सामुहिक हत्या गरेका हुन् ।
भोजपुर नगरपालिका–२ हेलौछा बस्ने ३० वर्षीय राजेन्द्र राईले ससुरा ६८ वर्षीय बेलबहादुर गिरी, सासु ४५ वर्षीया मञ्जु गिरी, श्रीमती १६ वर्षीया मनिषा गिरी र १० वर्षीय सालोको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् । हत्या गरेर उनले आफैँमाथि पनि खुकुरी प्रहार गरी गम्भिर घाइते भएका छन् ।
स्थानीयहरुका अनुसार राजेन्द्रले एक वर्षअघि मात्रै १६ वर्षीया किशोरीलाई भगाएर विवाह गरेका थिए । तर शारीरिक तथा मानसिक यातनाको कारण उनी माइत आएर बसेकी थिइन् । किशोरी घर जान नमानेपछि बाउआमाले पनि किशोरीलाई नै साथ दिएको आवेगमा राजेन्द्रले चार जनाको हत्या गरेका प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
घटनास्थलमा प्रहरीको टोली परिचालित भई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।