Kath Khabar
दुई वर्षमा ७ सयले पाए किसान क्रेडिट कार्ड, बिस्तारमा कृषि विकास बैंकको ढिलाई

काठमाडौं, भदौं २० । गत वर्षकै बजेटमा सरकारले किसान क्रेडिट कार्ड ल्याउने घोषणा गरेको थियो । तर, कृषि विकास बैंकको ढिलाईका कारण वर्षको अन्त्यमा मात्रै यो कार्यान्वयनमा आयो । जसका कारण अहिलेसम्म यो ठूलो संख्यामा पुग्न सकेको छैन ।

कृषि क्रेडिट कार्ड ल्याउन मात्रै हैन यसको बिस्तारमा समेत कृषि विकास बैंकले ढिलाई गरेको छ ।  महामारीका कारण एम्पोस मेसीन तथा कार्ड छपाईमा ढिलाई भएको तर्क गरेपनि वास्तवमा बैंकले यसलाई आक्रामक रुपमा बिस्तार गर्न नचाहेको बुझिन्छ । कृषकलाई मल तथा बिउ खरिद गर्ने पैसाको अभाव नहोस् भनेर सरकारले गत वर्षको बजेट मार्फत किसानलाई क्रेडिट कार्ड उपलब्ध गराउने घोषणा गरेको हो । क्रेडिट कार्ड अहिलेसम्म ७ सय जनाले पाइसकेको कृषि विकास बैंक बताउँछ ।

कृषकहरु धेरै जसो अहिले कर्जाको लागि नजिकैको सहकारीमा भरपर्नुपर्ने स्थिती छ । जसमा सामान्यतया पनि १६ प्रतिशतसम्मको ब्याज तिर्नुपर्छ । किसान बैंकमा ऋण माग्न जाँदा  सहजै पाउने अवस्था छैन ।  सहज  रुपमा कृषकले ऋण पाउन, कृषकलाई रकमको अभाव नहोस् भनेर सरकारले यो योजना ल्याएको थियो । यो क्रेडिट कार्डबाट किसानले पसलबाट मल तथा बिउँ खरिद मात्रै होइन, दुध तथा तरकारी बेचेर प्राप्त भएको रकम खातामै जम्मा गर्न सक्छन् ।

कार्ड पाएका कृषकले कर्जा स्वीकृति गरेपछि यहि कार्डबाड दैनिक २ लाखसम्म खर्च गर्न सक्छन् । रकम लिन पटक पटक बैंक जानु पर्दैन । यो क्रेडिट कार्डको प्रयोग गरेर कृषि विकास बैंकले तोकेका एजेन्टहरुबाट बिउ, मलका साथै कृषि सामाग्री खरिद गर्न सकिन्छ । कृषकले सामान खरिद गरेपछि एमपोसमा कार्ड रिड गराइन्छ र  रकम भुक्तान गरिन्छ । स्मार्ट फोनको प्रयोग गर्न सक्ने किसानहरुले भने किसान एप मार्फत पनि सामान खरिद गर्न सक्ने बनाइएको छ ।

छिमेकी मुलुक भारतमा  करिब २३ वर्ष यतादेखि नै प्रचलनमा रहेको किसान क्रेडिट कार्ड नेपालमा भने बल्ल सुरुवातीमा छ । भारतमा ऋण नै कार्डमा उपलब्ध गराउने भएपनि यहाँ भने सकभर उसकै खाताको रकम यो कार्ड मार्फत चलाओस् भन्ने कृषि विकास बैंकको चाहना रहेको बुझिन्छ ।

 

प्रकाशित मिति: आइतबार, भदौ २०, २०७८  १०:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update