Kath Khabar
चेम्बरद्धारा कृषिमा लागेका महिला उद्यमीहरुको ‘सफलताको कथा तथा अन्तक्रिया कार्यक्रम'

काठमाडौं, भदौ २१ । कृषिमा लागेका महिला उद्यमीहरुको प्रबर्धन गर्ने उद्देश्यका साथ नेपाल महिला चेम्बरले ‘सफलताको कथा तथा अन्तक्रिया कार्यक्रम’ आयोजना गरेको छ । कार्यक्रम नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । भर्चुअल माध्यमबाट आयोजित सो कार्यक्रममा कृषि पेशामा लागेका महिला उद्यमीहरुको उलेख्य सहभागीता रहेको थियो ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले अहिले जसरी भए पनि काम गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै मुलुकमा उत्पादन बृद्धि गरी देशलाई आत्मनिर्भर बनाउन उत्पादनशिल कृषि क्षेत्रमा लगानी बिस्तार गर्नुपर्ने बताउनुभयो । चेम्बर अध्यक्ष मल्ले विचौलियाका कारण उद्यमीहरुलाई मुल्य र बजारीकरणमा  समस्या उत्पन्न हुँदै आएकोले सामुहिक रुपमा मिलेर जाँदा सबैलाई निर्यात एवम् बजारिकरण गर्न सहज हुने बताउनु हुँदै जिल्लास्तरमा सानो स्केलमा सहकारी मार्फत र केन्द्रिय स्तरमा लिमिटेड कम्पनी मार्फत कृषि क्षेत्रमा काम गर्न पनि उहाँले सुझाव दिदै चेम्बरले व्यापार प्रबर्धनमा सघाउ पुर्याउने जनाउनुभयो ।

अध्यक्ष मल्लले कृषि पर्यटन  र प्रविधिलाई जोडेर अघि बढनुपर्ने आवश्यकता औंल्याउदै भन्सार छुटमा ढुवानी साधनहरु खरिद गर्ने व्यवस्था सरकारले मिलाउनु पर्ने आवश्यकता रहेको धारणा समेत राख्नुभयो । साथै उहाँले महिला चेम्बरले पछिल्लो समय देखाएको सकृयताको प्रशंसा गर्दै नेपाल चेम्बरको तर्फबाट महिला चेम्बर नेतृत्वको मुक्तकण्ठले प्रशंसा समेत गर्नुभयो ।  

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शकी उपाध्यक्ष समेत रहुनभएकी नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले अनुभव साटासाटले राम्रा र नराम्रा दुवै पक्षलाई केलाउदै अघि बढ्दा एक अर्कामाथि परेको समस्या समाधान गर्दै र सहज रुपमा अघि बढन सघाउ पुग्ने राय पेश गर्नुभयो । अध्यक्ष श्रेष्ठले महिला उद्यमीहरुलाई सहजीकरण गर्ने उद्देश्यका साथ नेपाल महिला चेम्बरले ब्राण्डिङ्, प्याकेजिङ, मार्केटिङ, वित्त व्यवस्थापन लगायतका प्रभावकारी कार्यक्रम गरिसकेको उल्लेख गर्दै स्टोरी टेलिङ र अन्तर्कृया कार्यक्रमले थप रुपमा महिला दिदी बहिनीहरुलाई प्रोत्साहन र बजार प्रबर्धन समेतमा मद्दत पुग्ने दाबी पेश गर्नुभयो । साथै उहाँले व्यापार, रुची र विज्ञताले पनि सफलता हासिल गर्न अहम भूमिका खेल्ने बताउदै महिला उद्यमीहरुलाई गोलबद्ध गराई प्रभावकारी कार्यक्रमको माध्यमबाट अन्य कार्यक्रममा समेत् जोडदै जाने वचनबद्धता व्यक्त गर्नुभयो ।  

कृषि विज्ञ डा दिपक शर्माले आफुले १० बर्ष देखी जडीबुटिको बिषयमा अध्ययन गरेको बताउदै नेपालले भारत र चीन मात्र नभई तेस्रो मुलुकमा समेत निर्यात गर्ने लक्ष्यका साथ गुणस्तरिय उत्पादन माथि केन्द्रित हुनुपर्ने बताउनुभयो । जडीबुटिजन्य सामाग्री उत्पादक एवं निर्यातकर्ता प्रेम तिवारीले सरकारबाट आवश्यक सहयोग नपाउँदा जडीबुटिजन्य सामाग्रीको बजारीकरणमा समस्या हुँदै आएको उल्लेख गर्दै आफुले टिमुर र अलैचीको बिक्री गर्दै आएको र उक्त वस्तुहरु लोकल मार्केटमा भन्दा अन्तराष्ट्रिय बजारमा बढि बिक्री गर्ने गरेको जानकारी दिनुभयो । साथै उहाँले ल्याब नभएका कारण नेपाली उत्पादनलाई विदेशी बजारमा लैजान अप्ठ्यारो हुने गरेको र हाल विश्व बजारमा बेसारको राम्रो माग रहेको पनि जनाउनुभयो ।

सफल चार महिला उद्यमीहरुले आफ्नो सफलताको कथा बारे अनुभव राख्नुभएको थियो । सो अवसरमा आफ्नो अनुभव राख्दै अदुवा लगायतका कृषिजन्य उत्पादनको बजारीकरण गर्दै आउनुभएकी महिला उद्यमी सुलोचना श्रेष्ठले आफुले कर्णाली लगायतका देशका विभिन्न ग्रामीण भेगका कृषक वर्गबाट उत्पादित अर्गानिक उत्पादनको बजारिकरण गर्दै आएको जानकारी दिदै उक्त उत्पादनहरुलाई अन्तराष्ट्रिय बजारमा पुर्याउन मापदण्डहरु पुरा गर्नुपर्ने भएकाले गुणस्तर माथि बढि ध्यान दिईने गरेको बताउनुभयो । साथै, उहाँले आफुहरुले अर्गानिक उत्पादनका लागि पर्यावरणीय सन्तुलनमा समेत बिशेष महत्व दिदै आएको जनाउनुभयो । किसानलाई विचौलियाहरुबाट ठगीनबाट जोगाउन सचेतनामुलक गतिविधीहरुको गर्दै आएको र यसका लागि प्रभावकारी कार्यक्रम समेतको खाँचो महशुश गरी निकट भविष्यमा किसानको हितमा हुने गरि कार्यक्रम प्रस्तुत गर्ने लक्ष्य बोकेर अघि बढेको पनि उहाँले बताउनुभयो । मौरीपालक महिला उद्यमी सरिता भट्टराईले आफु दश बर्ष देखी मौरी पालनमा लाग्न थालनी गरेको जानकारी दिदै लगन र अठोटका साथ कर्ममा तल्लिन भएकाले चुनौतीहरुको सहज रुपमा सामना गर्न सकेको बताउनुभयो । सिपका कारण  आफु अगाडि भएको महशुश गरेको र शुद्ध महको माग विश्व बजारमा अधिक रहेको उल्लेख गर्नुभयो ।

त्यसैगरी चिया उत्पादक महिला उद्यमी रुची शिवाकोटीले आफुहरुले उत्पादन गर्ने चियाको ३० प्रतिशत स्वदेशी बजार र ७० प्रतिशत भारतिय बजारमा खपत हुँदै आएको जानकारी दिदै चिया पत्तीहरु संकलन गर्दा ग्रेडका आधारमा बगानलाई शुल्क तिर्ने गरेको बताउनुभयो । उहाँले चियाको रङ् र लिक्करका आधारमा चियाको गुणस्तर मापन हुने र सोही अनुरुप मुल्य निर्धारण हुने जनाउनुभयो ।  चिया बिक्री गर्दा स्याम्पलिङ गरि क्रेताहरुलाई पठाउने गरेको पनि उनले उल्लेख गर्नुभयो ।

कार्यक्रममा सहजकर्ताको भूमिका निर्वाह गर्दै नेपाल चेम्बर अफ कमर्शकी कार्यकारीणी सदस्य तथा नेपाल महिला चेम्बरकी महासचिव लिमा अधिकारीले महिला चेम्बरले महिला उद्यमीहरुलाई एकत्रित गरि सामुहिक लगानीमा व्यवसाय संचालन गर्न चेम्बर नेतृत्वको सुझावलाई ग्रहण गर्दै अघि बढन गृह कार्यमा जुटने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रम माझ देशैभरबाट सहभागी महिला उद्यमीहरुले अन्तक्रिया सत्र माझ आ–आफ्नो अनुभव र समस्याहरु राखेका थिए भने वक्ताहरुले फ्लोरमा उठेका सवालको जवाफ दिएका थिए ।  कार्यक्रममा नेपाल महिला चेम्बर अफ कमर्शकी कार्यसमिती सदस्य जानकी प्रधान श्रेष्ठले कार्यक्रममा उपस्थितीका लागि सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रममा बिशेष गरी बेसार, मौरीपालन तथा मह उत्पादन, कफि र चियाको व्यवसायिक खेती गरेर नेपालको उत्पादनमुखि अर्थतन्त्रमा जोडिएका विभिन्न जिल्लाका सफल महिला उद्यमीहरु कार्यशाला तथा अन्तरक्रिया कार्यक्रममा जोडिनुभएको थियो ।

 

प्रकाशित मिति: सोमबार, भदौ २१, २०७८  १४:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update