तानसेन, मंसिर ७ । कार्तिकमा परेको बेमौसमी बर्षाका कारण पाल्पाका कृषकको धान खेतीमा ठूलो नोक्सानी भएको छ।
३ दिनसम्म परेको अविरल बर्षाका कारण पाल्पाका कृषकका ३ करोड ४० लाख रुपैयाँ बराबरको धान नोक्सान भएको छ। पाल्पाका १० वटै पालिकामा १ हजार २ सय ७६ जना कृषकको धान खेतीमा नोक्सान भएको कृषि ज्ञान केन्द्र पाल्पाकी प्रमुख कामना अधिकारीले बताइन्।
कृषि ज्ञान केन्द्र पाल्पाले स्थानीय तहका कृषि शाखाको सहयोगमा गरेमा स्थलगत अध्ययन अनुसन्धानबाट ६ हजार ८ सय ८२ रोपनी क्षेत्रफलमा लगाएको धनबाली नोक्सान भएको तथ्यांक निकालेको हो।
कृषि ज्ञान केन्द्रले संकलन गरेको हानी नोक्सानीको विवरणलाई जिल्ला विपद व्यबस्थापन समिति पाल्पाले पुन अनुगमन गरी प्रमाणित गरेर गृह मन्त्रालयमा पठाएको छ।
कृषि ज्ञान केन्द्र पाल्पाले लुम्बिनी प्रदेश सरकारको कृषि मन्त्रालयमा क्षतीको विवरण पेश गरेको छ। पाल्पामा कृषकको १३ हजार ९ सय २१ क्वीन्टल धान नोक्सानी भएको छ।
पाल्पाका पालिकामध्ये सबैभन्दा बढी तिनाउँ गाउँपालिकामा बेमौसमी बर्षाले धान खेतीमा नोक्सान पुर्याएको छ। तिनाउ गाउँपालिकामा ४ सय १५ जना किसानको २ हजार ४ सय ७७ रोपनी क्षेत्रफलको धान नोक्सान भएको छ। पुर्वखोला गाउँपालिकामा २ सय ३३ जना कृषकको १ हजार १ सय ९१ रोपनीको २ हजार २ सय ९७ क्वीन्टल धानको १ करोड १८ लाख ९२ हजार रुपैयाँको धान नोक्सानी भएको छ। अन्नपूर्ण पोस्ट्बाट