Kath khabar
आयात र निर्यातबिचको असन्तुलन उच्च

काठमाडौ, मंसिर २९ । नेपालको बैदेशिक व्यापारमा आयात र निर्यातबिचको असन्तुलन उच्च देखिएको छ । नेपाल राष्ट्र बैकले बुधबार सार्वजनिक गरेको देशको बर्तमान आर्थिक तथा बित्तीय अवस्था सम्वन्धी चालु आर्थिक बर्षको चार महिनाको प्रतिवेदन अनुसार पनि मुलुकको निर्यात र आयातको बिचमा उच्च असन्तुलन देखिएको हो ।

     प्रतिवेदन अनुसार चालु आर्थिक बर्षको कात्तिक मसान्तसम्ममा मुलुकको वस्तु निर्यात एक सय चार दशमलव तीन प्रतिशतले बढेर ८२ अर्ब १२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १० दशमलव आठ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत, चीन तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः एक सय ४० दशमलव दुई प्रतिशत, सात दशमलव तीन प्रतिशत र २३ दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पाम तेल, सोयाविन तेल, पिना, धागो (पोलिष्टर तथा अन्य), जुटका सामान लगायतका वस्तुको निर्यात बढेको छ भने चिया, अलैंची, तार, जस्तापाता, तामाको तार लगायतका वस्तुको निर्यात घटेको छ ।

     राष्ट्र बैकका अनुसार चालु आवको पछिल्लो चार महिनामा कुल वस्तु आयात भने ६१ दशमलव छ प्रतिशतले बढेर छ खर्ब ५० अर्ब २९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १० दशमलव छ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ४६ दशमलव एक प्रतिशत, ५६ दशमलव नौ प्रतिशत र एक सय १७ दशमलव दुई प्रतिशतले वृद्धि भएको छ । राष्ट्र बैकका अनुसार वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुजा, कच्चा पाम तेल, कच्चा सोयाविन तेल, चाँदी लगायतका वस्तुको आयात बढेको छ भने सिमेन्ट, रासायनिक मल, दाल, मोलासिस सुगर, धान तथा चामल लगायतका वस्तुको आयात घटेको छ । निर्याततर्प कन्चनपुर, कृष्णनगर, मेची, र नेपालगञ्ज भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्प भने सम्पूर्ण प्रमुख नाकाबाट भएको आयात वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।

     चालु आवको  चार महिनामा कुल वस्तु व्यापार घाटा भने ५६ दशमलव आठ प्रतिशतले बढेर पाँच खर्ब ६८ अर्ब १७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १२ दशमलव पाँच प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात आयात अनुपात १२ दशमलव छ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १० प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट अमेरिकी डलर भुक्तानी गरी ७१ अर्ब ४० करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४४ अर्ब २६ करोड बराबरको भएको थियो ।

प्रकाशित मिति: बुधबार, मंसिर २९, २०७८  २१:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update