
काठमाडौं, असोज १९ । हाल देशभर बंगालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायूको) प्रभाव रहेको छ ।
हाल काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा ठूलो वर्षाको संकट टरेको छ । पछिल्लो एक घण्टादेखि काठमाडौंमा वर्षा रोकिएको छ भने पानी पार्ने प्रणाली तुलनात्मक रूपमा कमजोर भएर उक्त प्रणाली कोशी प्रदेशतिर सरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बागमती प्रदेश र मधेस प्रदेशको क्षेत्रमा वर्षाको तिब्रता विस्तारै घट्न शुरु गरेको छ भने कोसी प्रदेशको धेरै स्थानमा मध्यम देखि भारी वर्षा भईरहेको छ। जुन क्रम अवको केही घण्टा कायम रहन सक्ने देखिन्छ।
दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेशका अधिकांश स्थाहरुमा पु्र्ण बदली रही बाँकी भू-भागमा साधारणतया बदली रहेने छ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेशको पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा तथा गण्डकी प्रदेशका पहाड र तराइ, लुम्बिनी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ ।
राती कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेशका लगायत देशका पहाडी भू-भागका केही स्थानहरू र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा सम्भावना रहेको छ।
कोशी, कन्काई, बागमतीका सहायक नदीहरुको बहाव खतरा तह पार गरेको, बाढी र डुवान हुने क्षेत्रहरुमा बेलुका सम्मै अति उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।