
देउखुरी, जेठ १५। घोराही-७ का किसान बाबुराम चौधरीले धानको बीउ राख्न खेत जोतेर तयार पार्नुभएको छ । १० कट्ठा खेतलाई चाहिने बीउ किनेर ल्याए पनि रासायनिक मल नपाइएका कारण उहाँले अझैसम्म बीउ राख्न सक्नुभएको छैन । धान खेतीका लागि युरिया मल आवश्यक पर्दछ तर बजारमा मल पाइएको छैन कसरी बीउ राख्ने ? उहाँको भनाइ थियो ।
घोराही-९ का किसान खुसीराम चौधरीले १८ कट्ठा जमिनमा धान खेती गर्नुहुन्छ । उहाँले पनि बीउ किनिसक्नु भएको तर मल नपाइएका कारण बीउ राख्न नसकिएको बताउनुभयो । रासायनिक मल नहाले बाली सप्रदैन । समयमा रासायनिक मल पाइयो भने खेती समयमा गर्न सकिने किसान चौधरीको भनाइ थियो ।
रासायसनिक मल राखेर गरेको खेती राम्रो हुने र धेरै अनाज फल्ने भएका कारण किसानले बीउ राख्दा नै मल पनि प्रयोग गर्दछन् । धान र मकै खेतीका लागि रासायनिक मल आवश्यक पर्ने र समयमा मल नपाउँदा किसान चिन्तित भएका हुन् । डिएपी र पोटास मल केही मात्रमा भए पनि युरिया मल नभएका कारण किसानलाई खेती गर्न समस्या भएको छ ।
दाङमा युरिया मलको अभाव छ । जिल्लामा ४०७ मेट्रिक टन डिएपी मल मात्रै स्टक रहेको र युरिया मल आउँदै नआएको सहकारी संस्थाले जनाएका छन् । कृषि सामग्री कम्पनी लिमिटेड लमही शाखामा १ साता अघि २५ टन मात्रै डिएपी मल आएको शाखा प्रमुख घनश्याम कहारले बताउनुभयो ।
लमही क्षेत्रका लागि १००० मेट्रिक टन युरिया र ७०० मेट्रिक टन डिएपी आवश्यक पर्छ तर संस्थामा मल छैन । “मलको आवश्यकता धेरै भएकाले वितरणमा समस्या परेको छ”, उहाँले भन्नुभयो । “समयमा मल आयो भने वितरण गर्न सजिलो हुन्छ । खेतीपातीको समय सुरु भइसक्यो किसानलाई आवश्यकता परेको समयमा मल दिन नसक्दा नराम्रो लाग्छ ।”
घोराहीमा २३२ मेट्रिक टन डिएपी मल स्टक छ । डिएपी १/२ दिनमा वितरण गरिनेछ । धान खेतीका लागि घोराही क्षेत्रका लागि १,२०० मेट्रिक टन युरिया र ८०० मेट्रिक टन डिएपी आवश्यक पर्ने हो तर आवश्यकता पूरा गर्ने मल कृषि सामग्री कम्पनीसँग नभएको कम्पनीका घोराही शाखा प्रमुख टोपाराम गौतमले जानकारी दिनुभयो ।
जिल्लाका ३ स्थानबाट अनुदानको रासायनिक मल सहकारी संस्थामार्फत वितरण गर्ने गरिएको उहाँले जानकारी दिनुभयो । घोराहीमा आउने रासायनिक मल रोल्पा, रुकुम पश्चिम र तुलसीपुरमा आएको मल सल्यानसम्म वितरण गर्नुपर्ने जिम्मेवारी रहेको प्रमुख गौतमको भनाइ थियो । तुलसीपुर क्षेत्रमा २ महिनाका लागि १,६०० मेट्रिक टन युरिया र १००० टन डिएपी आवश्यक पर्ने भए पनि अहिले मल नभएको उक्त लिमिटेडका तुलसीपुर शाखा प्रमुख तीर्थराज न्यौपानेले बताउनुभयो । तुलसीपुरमा करिब १५० मेट्रिक टन डिएपी स्टक भए पनि यो पर्याप्त छैन ।
कृषि ज्ञान केन्द्र कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा खेतीयोग्य कूल २,९०५,५०० हेक्टर जमिनमध्ये खेतीयोग्य जमिन ६९,९५० हेक्टर रहे पनि ६५,९८० हेक्टर जमिनमा मात्र खेती गरिएको छ । दाङमा बाह्रैमहिना सिँचाइ हुने क्षेत्र १९,६५१ हेक्टर जमिन रहेको केन्द्रका कृषि प्रसार अधिकृत रुद्रमणि पौडेलले जानकारी दिनुभयो । मौसमी सिँचाइ हुने क्षेत्र ३०९,२११ हेक्टर रहेको छ । यसवर्ष समयमा पानी पर्ने सङ्केत देखिएकाले उक्त जमिनमा बाली उब्जनी हुने र जमिन बाझै रहन नहुने अनुमान गरिएको छ ।