Kath Khabar
हराईरहेको तारा एयरको जहाजको पाइलटको मोबाइल नेटवर्क चलिरहेको पाइयो

         कास्की, जेठ १५ । पोखराबाट जोमसोमका लागि उडेको र बीचमै सम्पर्कविहिन भएको तारा एयरको जहाजका पाइलटको मोबाइलको नेटवर्क चलिरहेको पाइएको छ । धवलागिरी हिमाल नजिकै पाइलटको मोबाइलमा टेलिकमको नेटवर्कले काम गरिरहेको देखिएको र त्यहि लोकेसन अनुसार स्थल र हवाइ मार्गबाट खोजी भईरहेको जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रशासकीय अधिकृतले बताउनुभएको छ ।

पोखराबाट जोमसोम उडानका क्रममा हराइरहेको तारा एयरको जहाज खोज्नका लागि पोखराबाट नेपाली सेनाको हेलिकप्टर त्यसतर्फ प्रस्थान गरेको छ । पोखरा विमानस्थलबाट हेलिकप्टरमा नेपाली सेनाका जर्नेल बाबुराम श्रेष्ठ नेतृत्वको टोली त्यसतर्फ गएको हो । पोखराबाट मुस्ताङको जोमसोमका लागि बिहान ९ बजेर ५५ मिनेटमा उडेको तारा एयरलाइन्सको विमान सम्पर्कविहीन भएसँगै त्यसको खोजीकार्यलाई तीव्र बनाइएको छ । यसअघि जहाज खोज्न परिचालन गरिएको फिस्टेल एयरको हेलिकप्टर प्रतिकूल मौसमका कारण जोमसोम फर्किएको थियो ।

प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९  १४:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update