
काठमाडौं, जेठ १५ । आज बिहानदेखि सम्पर्कविहीन भएको तारा एयरको विमानमा धनुषाका एकै परिवारको सात जना रहेको पुष्टि भएको छ । पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको जहाज आज बिहानदेखि सम्पर्कविहीन छ । सो एयरका अनुसार उक्त विमानमा चालक दलका तीन सदस्यसहित २२ यात्रुहरू सवार रहेकामध्ये धनुषाको मिथिला नगरपालिका-११ लोटा गाउँका सात जना रहेको पुष्टि भएको छ ।
विमानमा राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ रहेको परिवारजनले पुष्टि गरेको छ । गोले परिवार मुक्तिनाथ दर्शनका लागि विमानबाट जोमसोम जाँदै थिए । विमान बेपत्ता भएको खबरले परिवारमा रुवावासी चलेको छ भने गाउँमा नै चिन्तित भएका छन् ।
सम्पर्कविहीन भएको जहाजमा १३ नेपाली, चार भारतीय, दुई जर्मन नागरिक र चालक दलका तीन सदस्यसहित २२ सवार रहेको जनाइएको छ ।
विमानको खोज उद्धार जारी छ : मन्त्री आले
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विमानको खोज तथा उद्धार कार्य युद्धस्तरमा भइरहेको जानकारी गराउनुभएको छ ।
यात्रु र चालक दल गरी २२ जना रहेको विमान हराइरहेको सम्भावित क्षेत्रमा खोजबिन कार्यलाई तीव्रता दिए पनि मौसम प्रतिकूलका कारण कठिनाइ देखिएको बताउँदै मन्त्री आलेले उद्धारका लागि पोखरा र जोमसोममा तीन हेलिकोप्टर तयारी अवस्थामा राखिएको बताउनुभयो ।
हराइरहेको सम्भावित स्थानमा नेपाली सेनाको सहयोगमा समेत खोनबिन कार्य केन्द्रित रहेको जानकारी गराउँदै उहाँले मौसम खराबीका कारण अहिले हेलिकोप्टर त्यसतर्फ जान नसकेको र भोलि बिहानदेखि खोजतलास पुनः अघि बढ्ने बताउनुभयो ।