
काठमाडौं, जेठ २० । लामो समयदेखि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या भइरहेपछि काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाह ‘बालेन’ उपमेयर सुनिता डंगोल सहित सिसडोल पुग्नुभएको छ । आफूले चुनावी घोषणापत्रमा गरेका वाचा पूरा गर्न अहोरात्र खटिएर काम गरिरहनुभएका शाहले एकाबिहानै फोहोर व्यवस्थापनको बिषयलाई लिएर फेरि सिसडोलका स्थानियलाई भेट्न पुग्नुभएको हो ।
मेयर शाहले फोहोर व्यवस्थापनलाई आफ्नो प्राथमिकतामा राखेर तयारी अगाडि बढाइरहनुभएको छ । यसैबीच, फोहोर व्यवस्थापनबारे स्थानीयसँग छलफल गर्न गर्दै उहाँले फोहोरको गन्ध हटाउनका लागि केमिकल ल्याउने तथा कुहिने र नकुहिने फोहोर छुट्याउनका लागि काठमाडौंका स्थानीयमा जनचेतना फैलाउने काम तत्कालै सुरु गरिने पनि बताउनुभएको छ । साथै उहाँले कुहिने फोहोरबाट मल बनाउने गरी योजना बनाएको पनि सुनाउनुभयो । उहाँको यस्तो योजना सुनेपछि बर्षौदेखि तनाव झेलिरहेका स्थानियहरु खुसी भएका छन् ।
त्यस्तै उहाँले फोहोरबाट इन्धन निकाल्नका लागि करिब ३/४ महिना लाग्ने तथा तीन महिनाभित्र सडक बनाइसक्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ, जसका लागि लिखित सम्झौता गर्न पनि आफू तयार रहेको बताउनुभएको छ ।
मन्त्री झाँक्री तथा मेयर शाह र उपमेयर डंगोलले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा मन्त्रालय र काठमाडौं महानगरपालिकाबीच सहकार्य गरेर समस्याको समाधान गर्ने विषयमा छलफल गरेका थिए ।