Kath Khabar
चन्द्रागिरि नगरपालिका डिजिटल युगमा : ‘क्यूआर कोड’ मार्फत राजस्व सङ्कलन

       काठमाडौं, जेठ २० ।  चन्द्रागिरि नगरपालिकाले नगरपालिका र वडाको राजस्व सङ्कलनका लागि अत्याधुनिक सूचना प्रणालीको उपयोग  गर्न सुरुआत गरेको छ । यसका लागि उसले ‘क्यूआर कोड’ मार्फत पनि राजस्व सङ्कलन प्रारम्भ गरेको छ ।

यससँगै यही जेठ महिनाभित्र नगरपालिका तथा वडाका राजस्वसम्बन्धी सम्पूर्ण सेवा डिजिटल वालेट, कनेक्ट आइपिएस लगायतका अनलाइन सेवामार्फत सुरु हुनेछ । नगर तथा वडाका सेवाग्राहीलाई एसएमएसमार्फत सुसूचित गर्ने कार्य पनि तत्कालै  सुरु हुने नगरपालिकाले जनाएको छ । 

नगरप्रमुख घनश्याम गिरीले नगरपालिकाद्वारा आज यहाँ आयोजित कार्यक्रममा ‘क्यूआर कोड’ सेवाको शुभारम्भ गर्नुहुँदै नगरपालिकाले निर्माण गरी हस्तान्तरणको चरणमा रहेको जिपिएस - जिआइएस प्रणालीको नगर प्रोफाइललाई यस अनलाइन सेवासँग जोडिने कार्य पनि यथाशीघ्र सम्पन्न हुने जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “यसपश्चात् नगरवासीले सम्पूर्ण सेवा अनलाइन मार्फत घरमै बसी उपभोग गर्न सक्दछन् ।” आफ्नो निर्वाचन घोषणापत्रमा उल्लेख गरेअनुसार नगरपालिकामा प्रविधियुक्त सुशासन कायम गर्न यस किसिमको अनलाइन सेवाले अह्म् भूमिका हुने नगरप्रमुख गिरीले बताउनुभयो । 

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट उहाँ दोस्रो कार्यकालका लागि नगरप्रमुख पदमा निर्वाचित हुनुभएको थियो । “उत्पादन रोजगार र बजारीकरण : प्रविधि युक्त सुशासन’ भन्ने नारालाई उहाँले प्राथमिकता दिनुभएको छ । 

प्रकाशित मिति: शुक्रबार, जेठ २०, २०७९  १६:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update