Kath Khabar
बिल गेट्स फाउण्डेसनका डाईरेक्टर डा.रोशन राज श्रेष्ठले औल्याए फोहोर व्यवस्थापन हुन नसक्नुका ६ कारण, समाधानका ७ सुझाव

      काठमाडौं, जेठ २४ ।  बिल एण्ड मेलिण्डा गेट्स फाउण्डेसनका डेपुटी डाईरेक्टर डा.रोशन राज श्रेष्ठले काठमाडौ उपत्यकामा फोहोर व्यवस्थापन हुन नसक्नुका कारण र समाधानका उपायहरु औल्याउनु भएको छ । उहाँले बालेन शाहले काठमाडौ महानगरपालिकाको नेतृत्व सम्हालेसँगै फोहोरमैलाको राजनीति सुरु भएको र यो दशकौ देखिको चलन भएको बताउनुभएको छ ।
फोहोरमैला व्यवस्थापनको समस्या भोलि नै समाधान गर्छु भनेर सम्भव नहुने उहाँको भनाइ छ । ‘मैले जाने बुझे अनुसार यसको मुख्य जड भनेको प्रबिधिहरु, प्राविधिज्ञहरु वा आर्थिक अभावले हुँदै होइन’ उहाँले फेसबुक स्टाटसमा लेख्नुभएको छ । फोहोर व्यवस्थापन हुन नसक्नुका कारणहरु के के हुन् त ? उहाँले लेख्नुहुन्छ ।
फोहोर व्यवस्थापन हुन नसक्नुका ६ कारण :

१।  फोहरमा राजनीतिकरण गरेर आफ्नो स्वार्थ पुरा गर्नु
२। फोहोरमैला व्यवस्थापन गर्न चाहिने सुशासनको अभाव
३। महानगरपालिकाको संरचनामा फोहोरमैला व्यवस्थापन गर्न जान्ने विज्ञ व्यवस्थापक नहुनु
४। जनताहरुले आफ्नो दायित्व बहन नगर्नु
५।नेतृत्व र व्यवस्थापकहरूको आँखा मेसिन औजारहरु खरिदमा ध्यान तर त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा बेवास्ता वा अज्ञानता
६। निजी क्षेत्रलाई प्रोत्साहन र उपयोग गर्न नजान्नु

फोहोरमैला व्यवस्थापनका लागि ७ सुझाव :

उहाँले हालको फोहोरमैला व्यवस्थापनको समस्यालाई केही न्यूनीकरण गर्न वा सही व्यवस्थापन गर्न नयाँ नेतृत्वलाई मेरो सुझाव भनेर ७ सुझाव समेत दिनुभएको छ ।

१। जथाभाबी जहाँतहीँ फोहर गर्ने र गराउने जो सुकैलाई पनि कडा भन्दा कडा सजायको व्यवस्था गर्ने र यसको लागि वडा वडामा अनुगमन समिति बनाएर कार्य गर्ने र गर्न लगाउने । यो कार्य चाहेको खण्डमा दुई दिनमा सुरुवात गर्न सकिनेछ ।
२। जसरी महानगरपालिकाले होटल व्यवसायीहरुलाई सर्वसाधारणका लागि शौचालयलाई प्रयोग गर्न आह्वान गरे जस्तै, सर्वसाधारणहरु र समुदायहरुलाई पनि सकेसम्म आफ्नो फोहोर आफै व्यवस्थापन गर्नको लागि आह्वान पनि गर्ने र सो गरे बापत आर्थिक लाभका प्याकेजहरु पनि उपलब्ध गराउने । आर्थिक लाभका प्याकेज बनाउनको लागि केही दिन लाग्छ तर छिटो नै यो आह्वान गर्न सकिनेछ । जसले गर्दा साना साना व्यवसायहरू उत्पादन हुनेछन् ।
३। यो कार्यको लागि कुनै पनि हालतमा कम्पोष्ट बनाउने भाँडोहरू र औजारहरू सित्तै वितरण गर्ने योजना गर्ने होइन । सर्वसाधारण र समुदायहरूको लागि कम्पोष्ट बनाउने तरिकाहरुको तालिमहरुको व्यवस्था र निर्देशिका पुस्तिकाहरू वितरण गर्न भने सकिन्छ । उक्त पुस्तिकामा कम्पोष्ट वा फोहोरको पुनः प्रयोग गर्नको लागि लगानी र त्यसबाट हुने आर्थिक र सामाजिक लाभ बारे प्रष्ट रुपले उल्लेख गर्नुपर्ने हुन्छ ।
४। घर र समुदायमा बनेका कम्पोष्टहरुलाई गुणस्तरको आधारमा वडा वडामा खरिद र बिक्री केन्द्रहरु स्थापना गर्ने, सो को लागि निजी क्षेत्रसँग सहकार्य गरेर त्यसको राम्रो व्यवसाय चलाउनको लागि सम्झौता गर्ने ।
५। फोहोरमैला खरिद बिक्री, सार्वजनिक शौचालय व्यवस्थापन, सेप्टिक ट्याङ्क सफाइ आदिमा लागिरहनु भएका व्यवसायीहरु जस्तै ‘खाली सिसी’ ‘एरोसान’ आदि जस्ता व्यवसायहरुलाई प्रोत्साहन स्वरुप आवश्यक सहयोग गर्ने र कार्यक्षेत्र वढाउन लगाउने ।
६। फोहोरमैला व्यवस्थापन र प्रशोधन गर्न निजी क्षेत्रलाई आधुनिक र वैज्ञानिक प्रविधि सहितको प्रस्ताव आह्वान गर्ने र ६ महिना भित्र सम्झौता गर्ने ।
७। अहिलेको युगमा प्रविधिहरूको समस्या छैन । हालको समस्या भनेको कसरी दिगो रुपमा सञ्चालन गर्नेमा छ । दिगो व्यवस्थापन गर्ने संरचना तयार नभएसम्म कुनैपनि हालतमा औजारहरू र सामग्रीहरु खरिद नगर्ने ।
उहाँले प्रत्येक नागरिकले फोहोर सफा गर्ने जिम्मा मेरो पनि हो भनेर वोध नगर्दासम्म सहर सफा हुन्छ भनेर नसोच्न र सबै मिलेर काम गर्न पनि आग्रह गर्नु भएको छ । ‘सबै जना मिलेर काम गरौं । महानगरको नयाँ नेतृत्वलाई सहयोग गरौं’ उहाँले लेख्नुभएको छ ।
 

प्रकाशित मिति: मंगलबार, जेठ २४, २०७९  १४:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update