Kath Khabar
भक्तपुरको ख्वप अस्पताललाई १०० शैय्याको अस्पताल सञ्चालन अनुमति प्राप्त

              भक्तपुर, जेठ २५। भक्तपुरको च्याम्हासिंहस्थित ख्वप अस्पताललाई १०० शैय्याको अस्पताल सञ्चालनको लागि अनुमति प्राप्त भएको छ । भक्तपुर नगरपालिकाले २०७९ जेठ २३ गते उक्त प्रमाणपत्र प्राप्त गरेको हो ।

मिति २०७८ फागुन १ गतेदेखि लागू हुने गरी ६ महिना परीक्षणकाल रहने गरी प्रदेश स्वास्थ्य निर्देशनालयले १ वर्षको लागि १०० शैय्याको अस्पताल सञ्चालनको लागि अनुमति प्रदान गरेको हो ।

सोही क्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीइभीटी)ले आफ्नै १०० शैय्याको आफ्नै अस्पताल भएका शिक्षण संस्थाले मात्र पीसीएल नर्सिङको पठनपाठन गराउन पाउने निर्णय गरेको हुँदा भक्तपुर नपाले २५ शैय्याको ख्वप अस्पताललाई १०० शैय्यामा स्तरोन्नति गर्न लामो समयदेखि प्रयासरत रहेको र हालै ख्वप अस्पताललाई १०० शैय्याको अस्पताल सञ्चालन गर्न अनुमति प्राप्त भएको बताउनुभयो ।

१०० शैय्याको क्षमतामा ख्वप अस्पताल सञ्चालन भएसँगै अस्पतालको सेवा तथा सुविधाहरुलाई स्तरीय बनाइँदै लगिने बताउनुहुँदै उहाँले नर्सिङ शिक्षा सञ्चालन हुने भएसँगै विद्यार्थीहरुमा उत्साह थपिएको बताउनुभयो ।

ख्वप अस्पतालले हाल दैनिक ६०० भन्दा बढी बिरामीहरुलाई सेवा प्रदान गर्दै आएकोमा जनताले थप सेवाको आशा गरेका छन् । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा ख्वप अस्पताललाई १०० शैयामा स्तरोन्नति गरी सुविधा सम्पन्न अस्पतालको रुपमा विकास गर्ने घोषणापत्रमा उल्लेख छ । प्रदेश सरकारको तर्फवाट अनुमति प्राप्त हुनुलाई नेमकिपाको निर्वाचन घोषणापत्र कार्यान्वयनको रुपमा लिइएको छ ।

प्रकाशित मिति: बुधबार, जेठ २५, २०७९  १०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update