Kath Khabar
ताप्लेजुङमा  ८ घर पहिराले बगायो


       फुङ्लिङ, असार ५ ।  ताप्लेजुङमा ८ वटा घर पहिराले बगाएको छ भने गाउँ - गाउँमा जोखिम बढेको छ । निरन्तर वर्षा भएसँगै  गएको पहिराले ८ वटा घर बगाएको हो ।  गत बिहीबार यता जिल्लामा वर्षाका कारण बाढी - पहिराले क्षति गर्न थालेको हो । जिल्ला विपद् व्यवस्थपन समितिका अनुसार सिरिजङ्गा गाउँपालिका - ६ मामाङ्खे गाउँमा २ र वडा नं ७ खेवाङ गाउँमा १ गरी ३ घर पहिराले बगाएको छ । ३५ घरपरिवार विस्थापित हुन पुगेको समितिले जनाएको छ । 

विस्थापित परिवार अहिले सुरक्षित स्थानमा रहेको विद्यालयमा बस्दै आएको सिरिजङ्गा गाउँपालिकाका उपाध्यक्ष चित्र माबोले जानकारी दिनुभयो । गत शुक्रबार सिरिजङ्गामा पहिरामा परी २ जनाको मृत्यु भएको थियो । त्यस्तै मिक्वाखोला गाउँपालिकामा ३ घर पहिराले बगाएको विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलले बताउनुभयो ।

फक्ताङलुङ गाउँपालिका - २ खेजिनेम गाउँमा २ घर पहिराले बगाएको छ । ३० घरपरिवार विस्थापित हुन पुगेको फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूले जानकारी दिनुभयो । उहाँका अुनसार जोखिम युक्त बस्तीका घरपरिवालाई सुरक्षित स्थानमा बस्नका लागि आवश्यक सामग्री समेत गाउँपालिकाले उपलब्ध गराइसकेको छ । केही घरपरिवार विद्यालयको भवनमा समेत बस्दै आएको गाउँपालिकाले जनाएको छ । 

निरन्तर वर्षाका कारण गाउँ - गाउँका बस्ती उच्च जोखिम छन् । सदरमुकामबाट गाउँपालिका केन्द्रसम्म पुग्ने सडक अवरुद्ध हुँदा यातायात सञ्चालनमासमेत समस्या हुँदै आएको विपद् व्यवस्थापन समितिले जनाएको छ । विपद्बाट बच्नका लागि सुरक्षित स्थानमा बस्नसमेत प्रशासनले जिल्लावासीलाई अनुरोध गरेको छ ।
 

प्रकाशित मिति: आइतबार, असार ५, २०७९  १२:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update