
काठमाडौं, असार ८। यातायात व्यवस्था कार्यालय एकान्तकुनाका कर्मचारीले नवीकरण नभएका तथा स्वतः रद्द भएका ५३३ जनाको नामका सवारी चालक अनुमतिपत्र (लाइसेन्स) गैरकानुनी रूपमा नवीकरण गरेको खुलेको छ।
कर्मचारी र बिचौलियाले पैसा लिएर सम्पर्कमा आएका व्यक्तिका नाममा जारी गर्ने गरेको तथ्य अनुसन्धानबाट खुलेपछि दुई कार्यालय प्रमुखसहित सत्रजना विरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।
अख्तियारले सवारी चालक अनुमतिपत्र एकान्तकुना, ललितपुरका कार्यालय प्रमुखद्वय सम्बरबहादुर कार्की र राजुभाइ कुस्मासहित बिचौलिया आरोपित गणेश अधिकारी, दीपक विश्वकर्मा, उद्धवबहादुर खत्री, हरिभक्त श्रेष्ठ र नरेन शाक्य, नासुद्वय कमल स्याङतान र अच्युतप्रसाद फुयाँल, मेकानिकल इञ्जिनियर विजयराज गिरी, करारमा कार्यरत कम्प्युटर अपरेटरहरू प्रकाश कार्की, श्यामसुन्दर चौधरी, रेजु भट्टराई, लक्ष्मी श्रेष्ठ, गणेश अधिकारी, माया सेठी, ऋचा श्रेष्ठ र रोशनराज भण्डारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
उनीहरूविरुद्ध सवारी चालक अनुमतिपत्रको नवीकरण गर्ने सम्बन्धमा अख्तियारीको दुरुपयोग गरेको अख्तियारको आरोप छ। उनीहरूले गैरकानुनी रूपमा सरकारी कागजात सच्याइ यो काम गरेको अनुसन्धानबाट खुलेको छ।
रकमको लेनदेन हुने गरेको बिचौलियाले नै अख्तियारसँगको बयानमा स्वीकार गरेका छन् । लाइसेन्स बनाउन सम्पर्कमा आएका प्रत्येक व्यक्तिबाट रु दश हजारदेखि चालिस हजार रुपैयाँसम्म असुल्ने गरेको उनीहरुबाटै खुलेको छ । साथै उनिहरुबाट प्राप्त वयानबाट एउटाको नाममा जारी भएको लाइसेन्सका विवरण हटाएर अर्को नयाँ सवारी चालकको नाममा नवीकरण गरेर व्यक्तिगत विवरण राख्ने र यसको काम एकै पटक प्रविष्ट गर्ने, बायोमेट्रिक लिने र स्वास्थ्य परीक्षणपछि अधिकृतस्तरको कर्मचारीबाट नवीकरण प्रमाणित गर्ने गरेको पनि खुलेको छ ।
यातायात व्यवस्था सेवा कार्यालय एकान्तकुनाले २०७३ साल मंसिरदेखि ईडीएलआरएस-भीआरएस स्टिम प्रणाली प्रयोग गरिरहेको छ। यो प्रणाली प्रयोग गरेर लाइसेन्सवाहक (चालकअनुमतिपत्र लिएका व्यक्ति) को सम्पूर्ण विवरण परिवर्तन गर्न सकिन्छ। यो सिस्टमको दुरुपयोग गरेर ५३३ वटा लाइसेन्स जारी भएको अख्तियारको छानबिनमा आएको छ।
बिचौलियाको बिगबिगी रहेको यातायात कार्यालयको बाटैबाट बिचौलियाले सेवाग्राहीलाई घेर्ने र कर्मचारीसँग सेटिङ मिलाएर चोर बाटोबाट नै काम गराउँने गरेको तथा टोकन लिएर लाइन बस्नेहरुले भने सास्ती खेप्नुपरेको सेवाग्राहीहरु बताउछन्।