
दमौली, असार १५ । तनहुँको व्यास नगरपालिका-११ शेरा निवासी चार वर्षीया बालिका युविना थापा मगरको उपचारका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आर्थिक सहयोग गर्नुभएको छ ।
बुल्दीखोलाले बगाएर पाठेघरमा काठको टुक्रा पसेपछि उपचाररत बालिकाको सहयोगार्थ पौडेलले आज रु दश हजार आर्थिक सहयोग गर्नुभएको हो। पोखरास्थित फिस्टेल अस्पतालमा उपचार गराइरहेकी बालिकाको शल्यक्रियाका लागि आर्थिक अभाव भएको जानकारी पाएपछि पौडेलले उक्त रकम पठाउनुभएको हो ।
नेपाली कांग्रेसका युवा नेता देव रसाइलीमार्फत् पौडेलले ती बालिकाका परिवारलाई रकम पठाउनुभएको हो । सोही वडाको वसन्त आधारभूत विद्यालयमा कक्षा नर्सरीमा अध्ययनरत थापाको खोलाले बगाउँदा यही असार २ गते पाठेघरमा काठको टुक्रा पसेको थियो । बालिकाको शल्यक्रियाका लागि आर्थिक अभाव भएपछि परिवारले सहयोगको अपिल गरेको छ ।
बालिकाको उपचारारर्थ आमा छुनुमाया थापाको नाममा एनएमबी बैंक लेकसाइड शाखामा खाता खोलिएको छ । सहयोग गर्न चाहनेले १४९०१८८२८५००००१९ खाता नम्बरमा सहयोग गर्न आग्रह गरिएको छ ।