Kath Khabar
बाइस र चौबिस राज्य एकीकरणमा कीर्तिपुरको दोस्रो युद्धमा वीरगति प्राप्त गरेका काजी कालु पाँडे

           काठमाडौं, असार १९ । काजी कालु पाण्डे (वि.सं. १८०१-१८१४) गोर्खा जिल्लामा जन्मेका र भीमराज पाण्डेका छोरा थिए । कालु पाण्डेका वंशराज, रणशुर र दामोदार पाण्डे गरी ३ जना छोरा र चित्रावती नामकी एक छोरी थिइन् । सबै भाइभारदार आम जनता र छिमेकी राज्यहरूबाट पनि सिफारिस पाएर पृथ्वीनारायण शाहले कालु पाण्डेलाई काजी बनाएका थिए । कालु पाण्डे प्रधानसेनापति र प्रशासनिक दुवै काम गर्ने काजी थिए ।

कूटनीति तथा रणनीति दुवैमा पारङ्गत कालु पाण्डेले चौबीसे राज्यहरूको हमलालाई कुटनैतिक प्रयासबाट रोकी पृथ्वीनारायण शाहको नेपालको एकीकरणलाई क्रमिकता दिएका थिए । काजी कालु पाण्डेका ऐतिहासिक देनहरूमध्ये मुख्य यसप्रकार छन् :-

(क) उनले सन् १७४३ मा गोर्खाका राजा पृथ्वीनारायण शाह र लमजुङका राजा रिपुमर्दन शाहबीच मैत्रिपूर्ण भेटघाट गराउने काम गरेका थिए । लमजुङका राजाका छोरा वीरमर्दन शाह र कालु पाण्डेका छोरा वंशराज पाण्डेले बाल्यकालमा मित लगाएकाले सोही मितेरी साइनोको कारणबाट उक्त कार्यमा कालु पाण्डे सफल भएका थिए । जसले गर्दा गोर्खालीको पूर्वी एकीकरणको अभियानमा लमजुङको हमलाबाट डर भएन ।

(ख) उनले नुवाकोटको तेस्रो हमलामा खिंचेत-गेर्खु-महामण्डल दिशाबाट राजकुमार दलमर्दन शाहले नेतृत्व गरेको गोरखाली सेनाको सह-नेता भै नुवाकोट विजय गर्ने कार्यमा मुख्य लडाइ लडी नेपाल एकीकरणको जग बसाल्ने कार्य गरेका थिए ।

(ग) भरखरै सगंठित हुन लागेको पृथ्वीनारायण शाहको सेनामा तालिम, हतियारको प्रयोग तथा सैनिक शिष्टताको विकास गर्नमा उनले ठूलो योगदान दिएका थिए ।

(घ) तिब्बत र उपत्यकाबीच हुने व्यापारलाई हात पार्न र नेपाल उपत्यकालाई नाकाबन्दी लगाउन सेनापति शिवरामसिंह बस्न्यात र उनी मिलेर साँखु, नाल्दुम-महादेव पोखरी (हालको नगरकोट) कब्जा गर्ने योजना बनाई अन्य सेना नायकहरू पठाई कब्जा गराएका थिए ।

(ङ) उनकै योजनामुताविक तुलाराम पाण्डेको नेतृत्वमा फौजहरू पठाई पलाञ्चोकदेखि दुधकोशीसम्मका भू-भागहरू गोर्खालीको कब्जामा पारेका थिए ।

(च) पृथ्वीनारायण शाहको नेपाल एकीकरणको अभियान पटक्कै मन नपराउने चौबीसे राज्यहरूले संयुक्त गठबन्धन गरेर सन् १७५५ को सुरूमै गोर्खाको सिरानचोकमाथि हमला गरे । सो हमलालाई विफल तुल्याई चौबिसेको सातो उडाउने काममा कालु पाण्डेले बडो बुद्धि पुर्‍याएका थिए ।

(छ) गोर्खालीको विजय अभियानलाई राम्ररी बुझेका उपत्यकाका तीनवटै मल्ल राजाहरू त्यस बखत एकजुट भएर रहेका थिए । त्यस बखत कीर्तिपुर हमला नगरी उपत्यकाका राजाहरूको फाटो गराएर मात्र हमला गर्नुपर्ने सल्लाह कालु पाण्डेले पृथ्वीनारायण शाहलाई दिए । तर जोसिला राजा पृथ्वीनारायण शाहलाई सो सल्लाह चित्त बुझेन र तुरून्तै कीर्तिपुरमाथि हमला गर्ने निधो भई सन् १७५७ मा कालु पाण्डे सेनापति भई कीर्तिपुरमाथि हमला गर्न बढे । हमला सुरू भयो । उपत्यकाका संयुक्त मल्ल फौजले नराम्रोसँग हरायो । करिब १२०० सैन्य सहित सोही लडाइँमा काजी कालु पाण्डेले वीरगति पाए ।

उक्त लडाइँमा मारिएका वीर कालु पाण्डेको टाउको काठमाडौंका राजा जयप्रकाश मल्लले लगे भनिन्छ । उनको हातहतियार कीर्तिपुरको बाघभैरबको मन्दिरमा झुन्ड्याएर राखियो। गोर्खाली सेनाद्वारा कालु पाण्डेको शरीर मात्र फेला पारी दहचोकमा लगियो र उनको घर गोर्खा देखिने गरी दहचोक मैं चलनअनुसारको अन्त्येष्टि गरियो । काजी कालु पाँडेले कीर्तिपुर युद्धमा यदि म मरे मेरो शिर गोर्खापट्टी फर्काएर अन्येष्टि गरिदिनु भनेका थिए। सोही अनुसार उनको अन्येष्टि भएको थियो। त्यसैले यस स्थान काजी कालु पाँडेको समाधिस्थलको रूपमा प्रसिद्ध छ।

नुवाकोट, बेलकोट, नालदुम (नगरकोट इलाका), तादी, दुधकोशीसम्मका इलाकालाई गोर्खा राज्यभित्र गाभ्नको लागि पृथ्वीनारायण शाहको दाहिने हात भई रहेका काजी कालु पाण्डे गोर्खा राज्यकै प्रतिष्ठित व्यक्ति थिए । त्यस बखतका जल्दाबल्दा भारदारहरूमा गोर्खाका पाण्डे र श्रीपाली बस्न्यात परिवार रहेकोले ती दुई भारदारी समूहबीचको सम्बन्ध बलियो होस् र एकीकरण कार्यमा अझै एकता होस् भन्ने पृथ्वीनारायण शाहको धारणा थियो । सोही मुताविक पृथ्वीनारायण शाहले कालु पाण्डेकी एकमात्र छोरी चित्रावतीदेवीको विवाह शिवरामसिंह (श्रीपाली) बस्न्यातको छोरा केहरसिंह बस्न्यातसँग गरिदिए ।

नेपालको सैनिक इतिहासमा “पाण्डेको ढाल र बस्न्यातको तरबार” भन्ने वाणी यहीबाट सुरू भएको थियो ।

(डा. प्रेमसिंह बस्न्यात)

 

प्रकाशित मिति: आइतबार, असार १९, २०७९  १२:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update