Kath Khabar
रामेछापमा बस दुर्घटना, नौ जनाको मृत्यु, २३ घाइते



            काठमाडौं, असार २१। रामेछापबाट काठमाडौँ आउँदै गरेको बा३ ख ८३९६ नं को यात्रुवाहक बस जिल्लाको सुनापती गाउँपालिका-५ र खाँडादेवी गाउँपालिका-१ स्थित सिमानामा दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चार महिला र पाँच पुरुष रहेका तर पहिचान नखुलेको जनाइएको छ । उक्त दुर्घटनामा अन्य २३ यात्रु घाइते भएको रामेछापका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले जानकारी दिनुभयो ।

आज बिहान १०ः३० बजे भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई हेलिकप्टरबाट काठमाडौँ र अन्य घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रजिअ पहाडीले जानकारी दिनुभयो । बस सडकबाट झन्डै ३०/३५ मिटर तल खसेको छ ।

उहाँका अनुसार दुर्घटनाको कारण भने खुलेको छैन । अहिले उद्धारका लागि प्रहरी टोली परिचालन गरिएको छ ।  
 

 

प्रकाशित मिति: मंगलबार, असार २१, २०७९  १२:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update