Kath Khabar
ई–रिक्सा व्यवस्थापन गर्दै नेपालगञ्ज उपमहानगरपालिका

          नेपालगञ्ज, असार २२।  नेपालगञ्ज उपमहानगरपालिकाले नगरक्षेत्रमा सञ्चालित ई-रिक्सालाई व्यवस्थित गर्ने भएको छ । ई-रिक्सा व्यवस्थापनका विषयमा सरोकारवालासँग छलफल गरी यही साउन १५ गतेभित्र सबै ई-रिक्साहरुलाई सूचीकृत गर्ने निर्णय गरिएको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले बताउनुभयो । 

उहाँका अनुसार, नगरमा सञ्चालित ई-रिक्साको रेकर्ड राखेर नियमन गर्ने, जथाभावी गरिने पार्किङलाई व्यवस्थित बनाउने, उचित भाडादर कायम गरी कार्यान्वयन गर्ने, रुट छुट्याउने लगायतका विषयमा छलफल भएको छ । नागरिकले दुःख नपाउने गरी ई-रिक्साको उचित व्यवस्थापन गर्न सबै सरोकारवालाहरु गम्भीर बन्नुपर्ने बताउँदै नगर प्रमुख बिष्टले नेपालगञ्ज उपमहानगरपालिका एक्लैले ई-रिक्सा व्यवस्थापन गर्न सम्भव नभएकाले यसमा सबै सरोकारवालाहरुको भूमिका आवश्यक रहेको उल्लेख गर्नुभयो । 

ई-रिक्सा व्यवस्थापन नगरको प्रमुख समस्याका रुपमा रहेकाले यसको उचित व्यवस्थापनका लागि सबैको हातेमालो जरुरी रहेको नगर उपप्रमुख कमरुद्दिन राईले बताउनुभयो । ई-रिक्सा नगरको ठूलो समस्याका रुपमा रहेकाले निश्चित पार्किङ क्षेत्र तोकेर कतिपय व्यस्त ठाउँमा निश्चित समयका लागि चारपाङ्ग्रे र तीनपाङ्ग्रे साधनलाई निषेध वा एकतर्फी सञ्चालन गर्नुपर्ने प्रस्ताव पेस गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले बताउनुभयो । उहाँले ट्राफिक व्यवस्थापनका लागि उपमहानगरपालिका समक्ष लिखित प्रस्ताव समेत पेस गर्नुभएको छ । अव्यवस्थित ई-रिक्साकाका कारण नेपालगञ्जमा ट्राफिक जाम हुनाका साथै सडक दुर्घटना समेत बढ्दै गएको ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक  शाहले बताउनुभयो ।

प्रकाशित मिति: बुधबार, असार २२, २०७९  १२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update