Kath Khabar
आदिकवि भानुभक्तको २०९औँ जन्मजयन्ती आज

 

 

भर् जन्म घाँस तिर मन् दिई धन कमायो
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो
              घाँसी दरिद्र घरको तर बुद्धि कस्तो
              म भानुभक्त धनी भैकन किन यस्तो
मेरा ईनार न त सत्तल पाटिकै छन्
जे धन चीजहरु छन् घर भित्रनै छन्
            त्यस घाँसीले कसरी आज दिए छ अर्ति

                काठमाडौं, असार २९। नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०९औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाउनुभएको छ । उहाँले लेख्नुभएको रामायण अहिले पनि नेपालीहरूको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ ।

पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गर्नुभएको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गर्नुभएको हो । विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिनुभएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिनुभएकाले उहाँ रामायणलाई नेपालीमा रचना गर्न प्रेरित हुनुभएको थियो ।

भानुभक्तको निधन विसं १९२५ असोजमा भएको थियो । भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किम, भुटान, बर्मालगायत नेपाली भाषाभाषी रहेका देश एवं स्थानमा समेत मनाउने गरिएको छ ।

सडकमै हराउँदै छ आदिकविको शालिक
चारआली-केचना हुलाकी सडकखण्डको भद्रपुर नगरपालिका-६ मा रहेको अर्धकदको आदिकवि भानुभक्त आचार्यको शालिक सडकमै हराएको छ ।

मिल मर्चेन्ट एशोसिएशन नामक संस्थाले विसं २०२४ मा स्थापना गरेको शालिकको अस्तित्व सडकका कारण हराएको हो । तत्कालीन समयमा सो संस्थाले सडकमा भानुको स्मारक राखेपछि ठाउँको नाम नै भानुनगर नामकरण गरिएको थियो ।

तत्कालीन समयमा शालिकको अनावरण नाट्यसम्राट बालकृष्ण समले गर्नुभएको वरिष्ठ पत्रकार गोपाल गिरीले जानकारी दिनुभयो । उहाँले भानु स्मारकलाई विगतमा फलामे घेराबारा लगाउने र रङरोगनको कार्य भद्रपुर नगरपालिकाले गरेको बताउनुभयो । सडकको स्तरोन्नतिसँगै बीच सडकमा बनाइएको शालिक हाल सडकभन्दा पनि तीन फिट गहिरो स्थानमा रहन पुगेको छ ।

भानु स्मारकको संरक्षण देवकोटा स्मृति भवनले गर्दै आएको भवनका अध्यक्ष राजेन्द्र चापागाईँले जानकारी दिनुभयो । “सडकको स्तरोन्नतिसँगै स्मारक पुरिदै गएको छ”, उहाँले भन्नुभयो, “तत्काल अग्लो स्मारक बनाएर त्यही शालिक राख्नुको विकल्प छैन । स्थानीय पालिकासँग कुरा भइरहेको छ ।” उहाँले भानु स्मारक भद्रपुरको इतिहास भएकाले यसलाई अयन्त्र सार्ने वा यसको अस्तित्व मेट्ने काम गर्न र नगराउन सबैसँग आग्रह गनुभयो । उहाँका अनुसार विगतदेखि नै भद्रपुर नगरपालिकाभरिका साहित्यानुरागी, बृद्धिजीवी र स्थानीयवासीले असार २९ गते भानुभक्तको जन्मजयन्तीको अवसर पारेर शालिकमा माल्यार्पण गर्ने, भानुभक्तको गुणगान गाउँदै कविता बाचन गर्दै आएको बताउनुभयो ।

उहाँले चालु आर्थिक बर्ष २०७८÷७९ मै भानुको शालिकलाई अग्लो स्मारक बनाएर राख्नका लागि पहल सुरु गरेको बताउनुभयो । उहाँले शालिक बनाउँदा सो सडकको नाम मेची राजमार्ग रहेको र सडकको आकार पनि सानो रहेको जानकारी दिनुभयो । “तत्कालीन समयमा सडकभन्दा अग्लो भानुको शालिकसहितको स्मारक बनाइएको थियो”, उहाँले भन्नुभयो । भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले भाषा, कला साथै साहित्यका धरोहरहरूको पुरानो इतिहासलाई मेटिन नदिने, त्यसको संरक्षण र संवद्र्धनमा नगरपालिकाले पहल गर्ने बताउनुभयो । उहाँले दबिएको भानुको स्मारकलाई बजेट व्यवस्थापन गरेर अग्ल्याउने काममा पालिका लागिपर्ने जानकारी दिनुभयो । “सबैसँगै छलफल गरेर यसको व्यवस्थापन हुन्छ”, उहाँले भन्नुभयो ।

शालिकलाई बीच सडकमा भन्दा पनि उपयुक्त ठाउँको व्यवस्थापन गरेर स्थान्तरण गर्नु उपयुक्त हुने हुलाकी सडक डिभिजन कार्यालयका इञ्जीनियर प्रमोद खतिवडाको भनाइ छ । उहाँले बीच सडकमा भएको शालिकका कारण दुर्घटनामा धेरैले ज्यान गुमाइरहेको उदाहरण दिँदै उहाँले स्थानीय तहले अन्यत्रै व्यवस्थापनमा ध्यान दिन आग्रह गर्नुभयो ।

“कुनै बेला सडकमा देशका महान् व्यक्तिहरूको शालिक बनाउने चलन थियो, सवारीसाधानको भीडभाड हुँदैन थियो”, उहाँले भन्नुभयो, “अहिले जनसङ्ख्याको वृद्धिसँगै सडकमा सवारीसाधनको वृद्धि भएको छ । सडकहरू फराकिला बनाइँदैछ तर पनि बीच सडकमा शालिकलाई राख्नुभन्दा निश्चित स्थानमा उद्यान बनाएर राख्दा राम्रो हुन्छ ।”
 

 

 

प्रकाशित मिति: बुधबार, असार २९, २०७९  ०९:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update