Kath Khabar
यसरी रहन गयो काठमाडौंको छाउनीको नाम



          काठमाडौं, साउन ४। भिमसेन थापा काजी, जनरल र कमान्डर-इन-चिफ बनेपछि फ्रान्सबाट वैज्ञानिक हतियार र घर बनाउने इन्जिनियरसमेत झिकाइ नेपाली सेनाको विकासको लागि धेरै काम गरे । फ्रान्सको इन्जिनियरको सहयोगमा उनले धेरै ब्यारेक घर बनाइ सेनालाई ब्यारेकमा राख्न थाले। सोही अनुसार उनले सैनिक मुख्यालय अर्थात जङ्गी अड्डा पनि बनाए। हाल छाउनीमा रहेको राष्ट्रिय सङ्ग्रहालयको मुख्य भवन नेपाली सेनाको पहिलो जङ्गी अड्डा हो । त्यस बखत सेना बस्ने ब्यारेकलाई ‘छाउनी’ भनिन्थ्यो। त्यही कारणले सो स्थानको नाम नै छाउनी रह्यो।

सेनाको गोली हान्ने ठाउँ अर्थात तालिमको लागि खलंगा पनि त्यही छाउनी नजिक थियो। नेपाल भरी धेरै ठाउँमा खलंगा छन् । खलंगा भनेको सेनाको तालिम गर्ने (परेड खेल्ने स्थान) हो । छाउनीहरु बनेपछि स्वयम्भुमा बारुद कारखाना, बालाजुमा पानीले चल्ने हतियार कारखाना र ठिमीमा गोली, बारुद राख्ने गठ्ठाघर बनाए । जुन भक्तपुरमा अहिले गठ्ठाघर भन्ने ठाउँ रहेको छ ।  

भिमसेन थापाले उक्त स्थानमा ब्यारेक ‘छाउनी’ बनाउन ज्योतिषीलाई हेराउँदा हाल छाउनी रहेको स्थानको उचाइ, धार्मिक महत्व, फाप हुने लक्षण आदि हनुमान ढोका दरबारको जस्तै ठहरिएको थियो । त्यसपछि मात्रा जङ्गी अड्डा र छाउनी बनाइएको थियो।

भिमसेन थापाले आत्माहत्या गरेपछि पाण्डे खलकका रणजङ पाण्डे सेनाका प्रमुख बने । त्यसपछि उनले भिमसेन थापालाई अलक्षण बनाइ फ्रान्सको मान्छेले बनाएको जङ्गी अड्डा, छाउनी लगायतका ब्यारेकलाई खारेज गरी उनले कमान्डर-इन-चिफ पद र जर्नेली पोसाक समेत हटाइ ‘काजी’ को पद सुरु गरे भने सेना फेरी परेडमा डेरा र घरबाटै आउन थाले ।

डा. प्रेम सिंह बस्न्यात

 

 

प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  १२:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update