Kath Khabar
देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

            काठमाडौं, साउन  ५।  देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रही पहाडी भू-भागका धेरै स्थानमा र अन्य भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । 

सुदूरपश्चिम र प्रदेश नं १ का केही स्थानमा भारी वर्षाको सम्भावना छ । विभागले आगामी २४ घण्टा देशको पहाडी भू-भागका धेरै स्थानमा र अन्य भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना तथा सुदूरपश्चिम र प्रदेश नं १ का केही स्थानमा भारी वर्षाको सम्भावना छ । पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन र यातायात क्षेत्र समेत प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन विभागले सबैमा अनुरोध गरेको छ ।

हाल देशभर सामान्य देखि पूर्ण बदली भई प्रदेश नं १, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । रातको समयमा देशका पहाडी भू-भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव २ डिग्री र अधिकतम तापक्रम २७ दशमलव २ डिग्री सेल्सियस छ ।

प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  १०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update