Kath Khabar
ललितपुरमा नगर प्रहरीले २ पाङ्ग्रे विद्युतीय सवारी साधनबाट गस्ती गर्ने

            ललितपुर, साउन ५।  ललितपुर महानगरपालिकामा नगर प्रहरीले अब २ पाङ्ग्रे विद्युतीय सवारी साधनबाट २४ औँ घण्टा गस्ती गर्ने भएको छ । नगर प्रहरीले प्रदान गर्ने सेवा सुविधालाई छिट्टोछरितोका साथै चुस्त तथा दुरुस्त बनाउन उक्त काम अघि सारेको हो । 

उक्त कार्यक्रमको घण्टी बजाएर आज उद्घाटन गर्दै नगर प्रमुख चिरीबाबु महर्जनले सो साधनमार्र्फत नगरवासीको सहयोग गर्न तथा घटनास्थलमा तुरुन्तै पुग्नाका साथै महानगरको सुव्यवस्था कायम गर्न नगर प्रहरीको हितमा आफूहरुले ५ विद्युतीय स्कुटर प्रयोगमा ल्याएको भनाइ राख्नुभयो । उहाँले भन्नुभयो, “यस साधनले गाडी नजाने साँघुरो बाटोमा पनि तत्काल पुगी काम गर्न तथा पार्किङको रेखदेख र व्यवस्थापन गर्न एवं ट्राफिक जामका साथै सवारी दुर्घटना हुनसक्ने गरी अनाधिकृत रुपमा गरिएका पार्किङलाई कारबाही गर्नसमेत सहयोग पुग्नेछ ।” 

२ पाङ्ग्रे सवारी साधनले नगर सरसफाइ गर्नाका साथै अनाधिकृत रुपमा राखिएका विज्ञापन तथा होर्डिङ बोर्ड नियन्त्रणमा ध्यान दिने उहाँले बताउनुभयो । नगर प्रहरी प्रमुख सीताराम हाछेंथुले सो साधनमा गस्ती गर्दा सार्वजनिक आवागमनमा बाधा पुर्‍याउने फुटपाथ पसल हटाउन तथा मापदण्ड विपरीत अनाधिकृतरुपमा निर्माण गरिएका संरचना बनाउन नदिइने बताउनुभयो । 

‘राफ्ट बारिएर’ मोडलको एवं चार्ज गर्न २ देखि ३ घण्टा लाग्ने तथा त्यसको ब्याट्रीको पावर २ किलोवाटको भएको साथै सो साधनको ड्राइभिङको दायरा ७० देखि १०० किलोमिटर रहने जानकारी गराइएको थियो । त्यसैगरी सो कार्यक्रममा उक्त २ पाङ्ग्रे साधन नियमित गस्ती गर्न नगरवासीको सहयोगमा घटनास्थलमा ५ मिनेटमा पुग्न सक्ने पनि जानकारी दिनुभयो ।

प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  १४:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update