Kath Khabar
सल्लाघारीमा रुख ढलेर बस र स्कुटर थिच्दा तीनको मृत्यु, १२ घाइते



            भक्तपुर, साउन ८ । भक्तपुरको सल्लाघारीमा रुख ढलेर बसलाई थिच्दा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । सल्लाघारीमा बाटोमाथिको रुख एक्कासि ढलेर सडकमा गुडिरहेको बस र स्कुटरलाई किच्दा उक्त दुर्घटना भएको महानगरीय प्रहरी परिसर भक्तपुर सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो ।

काठमाडौँबाट यात्रु बोकेर थिमि हुँदै भक्तपुर दूधपाटीतर्फ जाँदै गरेको बा२ख ३५८४ नं को बस र भक्तपुर दूधपाटीबाट सल्लाघारीतर्फ जाँदै गरेको बा६१प ३९६८ नंको स्कुटर थिचिएको उहाँले जानकारी दिनुभयो ।

बसमा सवार दुई र स्कुटरका एक जनाको घटनास्थलमा मृत्यु भएको उद्धारमा खटिएका प्रत्यक्षयदर्शीले बताएका छन् ।  बसमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । अन्य घाइते १२ जनाको भने नजिकै रहेको इवामुरा अस्पताल सल्लाघारी, मध्यपुर अस्पताल थिमि र भक्तपुर अन्तर्राष्ट्रिय अस्पताल कौशलटारमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले घाइतेको उद्धार गर्ने, घाइतेलाई अस्पताल पुर्‍याउने, सडकबाट रुख पन्छाएर यातायात सञ्चालन गर्नेलगायत काममा लागेको जानकारी दिँदै प्रहरी नायब उपरीक्षक पाण्डेले घाइतेको सङ्ख्या अझै बढ्नसक्ने बताउनुभयो । मृतक तथा घाइतेको पहिचान भने खुलेको छैन । धेरै वर्ष पुरानो रुख आज दिउँसो १२ बजेपछि चलेको सामान्य हावाले नै ढालेको स्थानीयको भनाइ छ ।

दुर्घटनाप्रति सरकारको ध्यानाकर्षण
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले भक्तपुरको सल्लाघारमिा भएको दुर्घटनाप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

सांसद प्रेम सुवालले भक्तपुरको सल्लाघारीमा तीन जनाको निधन र केही घाइते हुने गरी आज बस तथा स्कुटरमाथि रुख ढलेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले उक्त दुर्घटनामा मृत्यु भएका परिवारलाई उचित राहत दिन र घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउन सरकारसँग आग्रह गर्नुभयो । उहाँले यस्ता घटना अन्य क्षेत्रमा पनि हुनसक्ने भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।

उक्त दुर्घटनामा अन्य १२ जना घाइते भएको जनाइएको छ । अर्का सांसद महेश बस्नेतले भक्तपुरको सल्लाघारीमा भएको घटनाका घाइतेहरुको स्वास्थ्यलाभको कामना गर्नुभएको छ । उहाँले पुराना बस हटाउन पनि अनुरोध गर्नुभएको छ ।

 

 

 

प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  १४:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update