Kath Khabar
३ वर्षमा ३३९ हराए, २२ अझै सम्पर्क विहीन

               तम्घास, साउन १०।  गुल्मीको कालीगण्डकी गाउँपालिका-७ की ३७ वर्षीया छविकला थापा गत वैशाख १८ गते घरबाट हिँड्नुभयो । उहाँ आफू मात्रै हिँड्नु भएन, ८ वर्षीया छोरी पूजालाई पनि सँगै लिएर जानुभयो । छविकला आउने आशामा परिवारले झन्डै १५ दिनसम्म धेरै ठाउँमा खोजतलास गरेपनि फेला पारेनन् । जेठ ४ गते देवर भीम बहादुरले जिल्ला प्रहरी कार्यालयमा भाउजू हराएकाले खोजिदिन निवेदन दिनुभयो । भाउजू आफूखुसी भागेर हिँडेको पीडकको निवेदनमा उल्लेख थियो । छविकलालाई परिवार, स्थानीय वासिन्दा एवम् प्रहरीले हराएको सूचीमा राखेर खोजी गरिरहे पनि अहिले सम्म उहाँ फेला पर्नुभएको छैन । 

रेसुङ्गा नगरपालिका-८ की ईश्वरी कार्की पनि गत जेठ ८ गते घरबाट हिँड्नुभयो । ३४ वर्षीया उहाँले पनि २ वर्षीया छोरीलाई सँगै लिएर जानुभयो । सोही दिन नै श्रीमान् नारायण कार्कीले जिल्ला प्रहरी कार्यालयमा श्रीमतीको खोजी गरिदिन आग्रह गर्दै उजुरी दिनुभयो । ईश्वरी हराएको २ महिना हुँदा पनि अहिले सम्म अत्तोपत्तो छैन । उहाँलाई प्रहरी र आफन्तले खोजिरहेका छन् । 

थापा र कार्की त हराएर नभेटिने मध्येका केही प्रतिनिधि मूलक पात्र मात्रै हुन् । पछिल्लो ३ वर्षको अवधिमा जिल्लामा ३३९ जना हराएका थिए । आर्थिक वर्ष २०७६-७७ देखि ०७८-७९ सम्म उक्त सङ्ख्यामा महिला, बालक, बालिका र वृद्ध हराएका हुन् । हराएका मध्ये पनि २२ जना अझै भेटिएका छैनन् । बाँकी ३२४  जना सम्पर्कमा आएका थिए । आर्थिक वर्ष ०७६-७७ मा ६९ महिला, ७ बालक, २१ बालिका र वृद्ध गरी कुल १०८ जना हराएका थिए । हराएका मध्ये सबै सम्पर्कमा आएका थिए। 

आर्थिक वर्ष ०७७-७८ मा ७३ महिला, ५ बालक, १० बालिका र ४ वृद्ध गरी कूल ९२ जना सम्पर्क विहीन भएका थिए । तीमध्ये ४ महिला, १ बालक र २ वृद्ध गरी ७ जना अझै सम्म पनि नभेटिएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै आव०७८-७९ मा ९५ महिला, ११ बालक, ३० बालिका र ३ वृद्ध गरी १ सय ३९ जना हराएका थिए । तीमध्ये १० महिला, ९ बालक र ३ बालिका गरी १५ जना अझै सम्म पनि नभेटिएको उक्त कार्यालयका सूचना अधिकारी (डिएसपी) माधवराज खरेलले जानकारी दिनुभयो । हराएका मध्ये अधिकांश १७ देखि ४० वर्ष सम्मका महिला थिए । 

श्रीमान् वैदेशिक रोजगारीमा गएका कारण श्रीमती परपुरुषसँग लागेर भागेको घटना धेरै हुने गरेको उहाँले  बताउनुभयो । त्यसका साथै घरेलु हिंसा, उमेर नपुग्दै प्रेम गर्ने र भागी विवाह गर्ने लगायत कारणले महिलाहरु हराउने गरेको पाइएको छ ।  यस्तो समस्या समाधानका लागि स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना गर्ने, महिलाहरुलाई आत्मनिर्भर बनाउने लगायत कार्य गरिए मानिस हराउने सङ्ख्यामा कमी आउने सूचना अधिकारी खरेलको भनाइ थियो ।  । हराएका मानिसहरु पत्ता लगाउनका लागि उनीहरुको मोबाइल, फेसबुक, इन्टरनेटका साथै देशका अन्य ठाउँका प्रहरी लगायत स्रोतहरु परिचालन गरिएको गरिएको पनि उहाँले जानकारी दिनुभयो
 

प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  १४:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update