Kath Khabar



            ललितपुर, साउन १०। गोदावरी नगरपालिका–१२ ठेचोमा नवदुर्गा भवानी देवीको बाह्रवर्षे मेलाका साथै जात्रा सुरु हुँदैछ । हरेक बाह्रवर्षमा सो मेला गर्ने परम्पराअनुरुप आज रातिदेखि जात्रा सुरु हुने भएको हो ।

राति ८ देखि ९ बजेपछि नवदुर्गा भवानीदेवी मन्दिरको ढोकामा ताल्चा मारेसँगै मेला तथा जात्रा सुरु हुने भएको नवदुर्गा भवानीदेवी गुठीका अध्यक्ष धर्मराज मालीले बताउनुभयो । उहाँले भन्नुभयो, “योजात्रा आउँदो फाल्गुन–चैतमा मात्रै समाप्त हुनेछ ।” सो बन्द मन्दिरको ढोका अगाडि भोलिबाट पूजा गरी जात्रा मनाउँदै अघि बढिने भएको मालीले जानकारी गराउनुभयो ।

सो जात्रामा परम्परागतरुपमा चल्दै आएको तान्त्रिक विधिअनुरुप पूजासमेत हुने गरेको नवदुर्गा भवानी गुठीका नाइके भक्तलाल मालीले बताउनुभयो । उहाँले भन्नुभयो, “छिट्टै मन्दिर अगाडि छाप्रो बनाउन सुरु गरेर फूलपातीका दिन सुनाकोठीमा रहेको बालकुमारी मन्दिरमा होम गर्नका लागि दक्षिण ललितपुरमा रहेको कोञ्ज्योसोम गाउँपालिका–३ दलचोकीबाट काठ काटेर ल्याएर राख्ने कामसमेत गर्नेछौं ।”

देवीलाई गुप्तवास राखेर आज मारिएको ताल्चा एक महिनापछि मात्र पञ्चदानका दिनमा खुल्ला गरिने भएको मालीले जानकारी गराउनुभयो । सो दुर्गा भवानी ताल्चाभित्र गुप्तवास बस्ने भएकाले ठेचोवासीले पनि खुसियाली मनाउन हुँदैन भन्ने मान्यतानुरुप राति भएपछि घरबाहिरसमेत हिँड्न नहुने धार्मिक मान्यताको बुझाइ स्थानीयवासीमा छ । सो जात्राअन्तर्गत नवदुर्गा नाचसमेत मञ्चन गर्ने गरिन्छ ।

उक्त जात्रा लिच्छवीले पाटनमा किराँत वंशलाई पराजय गरेको इतिहासँग पनि जोडिएको देखिन्छ । भवानीको जात्रा सुरु भएसँगै सो क्षेत्रमा बाजा तथा घण्टी र सिट्ठी आदि बजाउन नहुने नियम रहेको स्थानीयवासी इना महर्जनले बताउनुभयो ।

 उहाँले भन्नुभयो, “यहाँ जात्रा सुरु भएसँगै कसैको घरमा पाहुना बोलाएर बास बसाउनुसमेत हुँदैन भन्ने चलनसमेत रहेको छ ।” मन्दिरको ढोकामा ताल्चा मार्नुअघि आफूहरुले झ्याली पिटेर जात्रा अवधिभर आवश्यक नियम पालना गर्न ठेचोवासीलाई अनुरोध गरिने भएको अध्यक्ष मालीले सुनाउनुभयो ।
–––

 

प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  २१:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update