Kath Khabar
नारायणगढ–बुटवल सडक निर्माणकार्य सुस्त

            काठमाडौं, साउन ११ ।  साना सवारीसाधन र २ पाङ्ग्रे सवारी साधनका चालक ज्यानको बाजी लगाएर हिँड्नुपर्ने अवस्था आएको कावासोती-१० का माधव सुवेदी बताउनुहुन्छ । राजमार्गका खाल्डामा जम्मा भएका पानी र हिलोले मोटरसाइकल गुडाउनै नसक्ने अवस्था आउने गरेको सुवेदीको भनाइ छ ।कावासोतीबाट नारायणगढसम्मको ३२ किलोमिटर खण्ड पार गर्न २ घण्टाभन्दा बढी समय लाग्ने गरेको उहाँले बताउनुभयो । सडकमा जमेको पानीले निकास नपाउँदा राजमार्गमा ठूला-ठूला खाल्डा बनेका हुन् । “सडकको विभिन्न ठाउँमा डाइभर्सन गराएर पुल निर्माणको काम भइरहेकाले रात्रिकालीन यात्रा झन् कष्टकर बनेको छ”, सुवेदीले भन्नुभयो ।

गैँडाकोट-८ का व्यवसायी शालिकराम सापकोटाले सडक बनिसक्न ढिला हुँदा यात्रुको बिजोग भएको बताउनुभयो । देशकै मुख्य राजमार्गको रूपमा रहेको यो सडकको दुरवस्था हुँदा समेत कसैलाई मतलब नै नभएको उहाँको भनाइ छ । “व्यावसायिक कामका लागि कहिले नारायणगढ त कहिले बुटवल जानुपर्छ”, सापकोटाले भन्नुभयो, “आफ्नै गाडीमा हिँड्यो भने बाटोका कारण कहाँ पुगेर बिग्रिने हो थाहै हुँदैन, सार्वजनिक सवारीसाधन चढौँ भने सामान्य अवस्थामा भन्दा ४ गुणा बढी समय लाग्छ ।” 

सामान्य अवस्थामा बुटवल-नारायणगढ यात्रा गर्न साढे २ घण्टा लाग्ने गरेकामा अहिले ७ घण्टा लाग्ने गरेको नवलपरासी (बर्दघाट-सुस्तापूर्व) क्षेत्र नं १ का सङ्घीय सांसद तिलक महतले बताउनुभयो । आफूले यसबारे बारम्बार संसद्मा ध्यानाकर्षण गराएको भएपनि निर्माणको कामले गति लिन नसकेको महतको भनाइ छ ।  पछिल्लो ४ वर्ष देखि नारायणगढ-बुटवल सडक खण्डमा यात्रा गर्ने जो कोही पनि धुलो र हिलोका कारण आजित बनेका छन् । २ लेनमा रहेको पूर्व-पश्चिम राजमार्गको यस खण्ड विस्तारको काम सुरु हुनु अघि देखि नै सडकमा हुने खाल्डा खुल्डीका कारण समस्या हुँदै आएको थियो । 

नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को गैँडाकोट पुल्चोकबाट बुटवल सम्मको करिब ११४ किलोमिटर लम्बाइ रहेको सो सडक खण्डको प्रायः सबै ठाउँमा खाल्डा खुल्डी छन् । यस खण्डमा पर्ने नवलपरासी पूर्व, नवलपरासी पश्चिम र रुपन्देही ३ वटै जिल्लामा लगभग पूरै सडकभरि खाल्डा खुल्डी मात्रै देखिन्छन् । ४ लेनमा विस्तार भइरहेको राजमार्गका ठाउँ ठाउँमा बनेका ठूला खाल्डा बेलैमा नपुर्दा वर्षात्को पानी जमेर यात्रा कष्टकर बनेको यात्रु तथा चालकहरु बताउँछन् । 

नारायणगढबाट बुटवल सम्म साढे १ घण्टामा पुग्ने गरी सडक विस्तार भइरहेको भए पनि निर्माणमा ढिलासुस्ती हुँदा यात्रामा कठिनाइ हुने गरेको छ । सडक फराकिलो पार्ने जिम्मा लिएको चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले काम थालेको ४१ महिनामा १९ प्रतिशत मात्र काम सम्पन्न गरेको छ । साना-ठूला गरी दैनिक १० हजार सवारीसाधन ओहोरदोहोर गर्ने यो सडक निर्माणमा ढिलाई हुँदा सडक आसपासका बासिन्दा झनै प्रभावित भएका छन् । बुटवल-नारायणगढ सडक भएर यात्रा गर्ने मध्ये सबैभन्दा बढी समस्या एम्बुलेन्स चालकलाई हुने गरेको संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपालका केन्द्रीय अध्यक्ष नवराज लामिछानेले बताउनुभयो । 

एम्बुलेन्सले सबै खालका बिरामी बोकेर चाँडो अस्पताल पुर्‍याउनुपर्ने बाध्यता रहेको भन्दै लामिछानेले बाटोका कारण बिरामीलाई समयमै अस्पताल पुर्‍याउन ढिला हुँदा उनीहरूको अवस्था जटिल हुने गरेको बताउनुभयो । सडकका खाल्डा खुल्डीका कारण एम्बुलेन्स चलाउन र बिरामीलाई समयमै अस्पताल पुर्‍याउन साह्रै समस्यामा हुने गरेको उहाँको भनाइ छ । मध्यविन्दुको चोरमाराबाट काठमाडौँ चल्ने माइक्रोबसका चालक वीरबहादुर महतोले बाटोमा खाल्डा खुल्डी बढी हुँदा सवारी साधन गुडाउनै समस्या पर्ने गरेको बताउनुभयो । 

सडकमा भएका ठूला-ठूला खाल्डाका कारण गाडीको पट्टा भाँचिने, टायर खिइने समस्या बढी हुने गरेको चालकहरु बताउँछन् । “घाम लागेको बेलामा गाडी गुडाउँदा कहिलेकाहीँ त धुलो उडेर बाटो नै देख्न नसकिने अवस्था समेत आउँछ” महतोले भन्नुभयो, “खाल्डाखुल्डी मर्मत गर्ने र धुलो उड्न नदिने गरी पानी छर्किने हो भने हामीलाई गाडी चलाउन केही राहत मिल्ने थियो ।” सडकको दुरावस्थाका कारण स्थानीयवासीसमेत मर्कामा परेका छन् । कावासोती-१६ डण्डामा फेन्सी पसल सञ्चालन गर्दै आउनुभएका दधि नेपालले राजमार्गमा उड्ने धुलो र हिलोका कारण आफूहरूलाई समस्या हुने गरेको बताउनुभयो । “सडक विस्तारका लागि भनेर धेरै ठाउँमा सडक छेउमा खन्ने र माटो थुपार्ने काम भएको छ” नेपालले भन्नुभयो, “यहाँ पानी पर्दा बाटो र पसल समेत हिलो हुन्छ, घाम लाग्दा धुलो उडेर पसल फोहर हुने गरेको छ ।” 

नारायणगढ-बुटवल सडकमा निर्माणको हाल सम्मको निर्माण चित्तबुझ्दो नभएको र अहिले पनि निर्माण सुस्त भएको नारायणगढ-बुटवाल सडक योजना पूर्वी खण्डले जनाएको छ । पूर्वी खण्डमा अहिलेसम्म १७.७३ प्रतिशत र पश्चिम खण्डमा १९.२९ प्रतिशत भौतिक प्रगति भएको योजना प्रमुख रमेश कुमार दिष्टिले बताउनुभयो ।  उहाँका अनुसार ठेक्का लाग्दाको अवधि २ हप्ता मात्रै बाँकी रहेको छ । आयोजनाले ठेक्काको अवधि थप गर्न सिफारिस गरेर विभाग पठाएको छ । अवधि थपका लागि प्रक्रिया बढाइए पनि निर्माण कम्पनीको काम चित्तबुझ्दो छैन । कार्यालयको कारण वा कोभिड लगायतका कारणले भए अवधि थप गर्न सकिने तर निर्माण व्यवसायीका कारण नसकिएमा थप नहुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “व्यवसायीको कारणले भए जरिवाना गरिन्छ ।”

सडक निर्माणका लागि सडकको क्षेत्राधिकारमा रहेका संरचना रुख, विद्युतको पोल, खानेपानीको पाइप हटाउनु चुनौतीका रुपमा रहेको थियो । बिजुलीको ठाउँठाउँ अप्ठेरो भए पनि प्राधिकरणको समन्वयमा हटाउन लागिएको योजनाले जनाएको छ । अहिले निर्माणस्थल खाली गर्ने काम धेरै भइसकेको छ । उहाँले भन्नुभयो, “रुख काट्न २-४ वटा मात्रै बाँकी रहेको छ ।” निर्माणाधीन १० मध्ये पनि ५ मा माथिको स्लाप र बिम मात्रै (टप स्ट्रक्चर) राख्न बाँकी रहेको प्रमुख दृष्टिले बताउनुभयो । ५ मा जगको काम भइरहेको छ भने २ वटा साना पुलमा वर्षाका कारण काम हुन सकेको छैन । उहाँले भन्नुभयो, “ठेक्कामा गइसकेको छ, वर्षा कम भएपछि काम हुनेछ ।” 

विद्युतीय पोल सार्ने र रुख कटान निर्माण कम्पनीले नै गर्ने गरी ठेक्का भएको थियो । कति काट्ने ‘कन्स्ट्रक्सन सर्वे’ मा उल्लेख छ । सडक निर्माण गर्दा एउटा सतह मिलाएपछि मात्रै पोल राख्नुपर्ने हुँदा सडक निर्माण सँगसँगै पोल व्यवस्थापन गर्नुपर्छ । उहाँले भन्नुभयो, “कतै डाँडा काटेर वा फिलिङ गरेर सडकको सतह मिलाएर सँगसँगै गर्नुपर्छ ।” अत्याधिक सवारी चाप रहेको सडकमा अहिले सवारी साधन निर्वाध रुपमा चल्न नसक्दा नागरिकले हैरानी बेहोरिरहेको उहाँले बताउनुभयो । अधिकांश समयमा वैकल्पिक सडक नहुँदा मुख्य सडक निर्माण गर्ने समयमा नागरिकले दुःख पाउने गरेको उहाँले बताउनुभयो । 

यस सडक खण्डमा २१५ कल्भर्ट र २२ साना पुल निर्माणाधीन रहेको छ । सडक निर्माण सम्पन्न गर्न केही समय अझै लाग्ने हुँदा तत्कालका लागि खाल्डा टालेर यातायात सजिलो बनाउन निर्माण कम्पनीलाई भनिएको छ । यो सडकसँगै वैदेशिक लगानीको कुनै पनि सडकमा प्रगति अपेक्षा गरिएअनुसार नभएको सडक विभागका प्रवक्ता भीमार्जुन अधिकारीले बताउनुभयो । उहाँका अनुसार गत आवमा वैदेशिक अनुदानको सडकमा प्रगति ५० प्रतिशतभन्दा कम रहेको छ । वैदेशिक लगानीको आयोजनामा तोकिएको अवधिसम्म पूरा गर्नुपर्ने भएपनि यो आवमा कति प्रगति हुने भन्नेले खासै फरक नपर्ने उहाँले बताउनुभयो । 

नारायणगढ-बुटवाल सडक निर्माणमा भइरहेको ढिलाइका विषयमा सदन र संसदीय समितिमा समेत पटक पटक छलफल भइरहेको छ । सम्बन्धित जिल्लाका सांसद वा सो सडक हुँदै जानुपर्ने जिल्लाका सांसद्ले पटक पटक सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् । विसं २०१८ मा तत्कालीन राजा महेन्द्रले गैँडाकोटमा शिलान्यास गरेको झण्डै छ दशकपछि अहिले विस्तार भइरहेको छ । एसियाली विकास बैंक (एडिबी)का ऋण सहयोगमा विस्तार शुरु भएको सडक निर्माणको लागत मध्ये  ८५ प्रतिशत एडिबीले ऋण उपलब्ध गराएको छ भने बाँकी नेपाल सरकारकै लगानी छ । 

एसियाली राजमार्गको मापदण्डमा विस्तारको काम भइरहेको नारायणगढ-बुटवल सडक खण्डमा नेपालमै पहिलो पटक वन्यजन्तु वारपार गर्न ‘ओभर पास’ निर्माण गरिने दिष्टीले बताउनुभयो । सो सडक खण्डमा वन्यजन्तुको अत्यधिक आवत जावत हुने क्षेत्रमा ‘ओभर पास’ निर्माण गर्ने तयारी गरिएको हो । ४ लेनमा विस्तार हुने भनिए पनि राजमार्ग शहरी क्षेत्रमा ६ लेन र दाउन्ने क्षेत्रमा ३ लेनमा विस्तार हुनेछ । सडक विभागले गत वर्ष नै मुग्लिन-नारायणगढ सडक विस्तार गरिसकेको छ भने नागढुङ्गा-मुग्लिन सडक विस्तारको तयारी अघि बढाइएको छ । 

प्रकाशित मिति: बुधबार, साउन ११, २०७९  ११:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update