रुपन्देही, साउन ११ । बुटवल उपमहानगरपालिका-३ ज्योतिनगर निवासी विनबहादुर बिटालु राम्रोसँग ननिदाएको धरै दिन भयो । पहिराका कारण श्रवनडाँडाको माथिल्लो भू-भाग नै बगेर सिधै बुटवल बजारतर्फ सोझिएपछि पहिराले च्याप्ने डरले उहाँ निदाउन सक्नुहुन्न । पानी पर्ने बित्तिकै घर छोडेर हिँड्ने बिटालु दम्पती बेलवास आफन्तको घरमा बास बस्नुहुन्छ ।
गत वर्ष ४ कोठा पहिराले पुरिएकोे उहाँको घरमा अहिले पनि असारको पहिलो हप्ता पहिरो पसेको छ । घरको पछाडिबाट ढुङ्गा माटो सहितको पहिरो भित्र पसे पछि उहाँहरुले एउटा कोठामा खाने बस्ने गर्दै आउनु भएको छ । “आकाश गर्जिन थाल्यो कि मन तर्सिन्छ दिउँसोमा त बरु देखिन्छ तर रातिमा आयो भने गुहार नपाई मरिन्छ कि भन्ने डर लाग्छ”, आँखाभरि आँशु पार्दै बिटालु दुःखेसो पोख्नुहुन्छ ।
१३ जनाको विटालुको परिवारमा छोरा बुहारीहरु अलग्गै बस्छन् । घरअगाडि सानो टङ्की पसल गरेर गुजारा गर्दै आएका बिटालु दम्पती पहिराका कारण व्यापार पनि नभएको गुनासो गर्नुहुन्छ । यो क्षेत्रमा ४१ वर्ष देखि बसोबास गर्दै आएका बिटालुको परिवारले गत वर्ष पहिरो घरभित्रै पस्दा पनि अहिले सम्म कुनै राहत तथा सहयोग भने पाएका छैनन् ।
स्थानीय तहको निर्वाचनमा हामीले पहिराबाट बचाउँछौ भनी राजनीतिक दलका प्रतिनिधिहरु घरदैलोमा भोट माग्न पुगे तर कुनै सहयोग तथा पहिरो नियन्त्रणका लागि पहल नगरेको बिटालुकी श्रीमती उजेली गुनासो गर्नुहुन्छ । “पानी पर्ने बित्तिकै माटोको लेदो सहितको खोलो बग्न थाल्छ, हामी घर बाहिर रुझेर बस्छौँ । यसरी कति दिन चल्छ रु त्यसैले सरकारले हामीलाई अन्यत्रै बस्ने व्यवस्था मिलाउनुपर्छ”, उजेली भन्नुहुन्छ ।
बुटवल-३ कै सति कुमारी श्रेष्ठ पनि आका गजिर्ने बित्तिकै घर छाडेर हिँड्नुहुन्छ । चुरे पहिराका कारण घर जोखिममा रहेकाले पहिराले च्याप्ने डरले उहाँ रातिमा घरमा सुत्न सक्नुहुन्न । गतवर्षको पहिराले घरको भूईँतला पुरेपछि लामो समय सरसफाइ गर्दा श्रेष्ठलाई धेरै पैसा खर्चिनुपरेको थियो । “गतवर्षको पहिरो बल्लबल्ल सफा गरे अहिले पनि पानी पर्ने वित्तिकै घरभित्र लेदो सहितको माटो पस्छ, रातिमा थाहै नपाई मरिन्छ कि भनेर अरुको घरमा गएर बस्छु” श्रेष्ठ दुःखेसो गर्नुहन्छ ।
श्रीमान र छोराको निधन पछि घरमा एक्लै बस्दै आउनु भएकी श्रेष्ठको सहारा कोही छैन । सरकारले पनि अहिले सम्म कुनै सहयोग नगरेको उहाँको गुनासो छ । “पहिरोका कारण गत वर्षदेखि घरमै बस्न नसक्ने अवस्था भइसक्यो तर कसैले केही गर्दैन, कसैले हेर्दैन”, गहभरि आँशु झार्दै श्रेष्ठले भन्नुभयो ।
अहिले पानी पर्नासाथ उपमहानगरको वडा नं ३ र ४ मा पर्ने चुरे क्षेत्रमा लेदो सहितको माटो र पानी बग्न शुरु हुन्छ । यसले गर्दा यहाँका स्थानीयबासी घर छोडेर हिँड्न बाध्य हुन्छन् । बुटवल उपमहानगरपालिकाको तिनाउ नदी वारि र पारि पहिरोका कारण छियाछिया परेका चुरे क्षेत्रबाट पहिरो जान थाल्छ, अनि स्थानीयबासी आत्तिन थाल्छन् । गतवर्ष देखि पानी पर्ने वित्तिकै घर छोडेर हिँड्नुपर्ने वाध्यता यहाँका वासिन्दालाई छ । खासगरी बुटवलको लक्ष्मीनगर र ज्योतिनगर क्षेत्रका बासिन्दा चुरेको पहिरोबाट प्रभावित छन् ।
अहिले वर्षा शुरु भएसँगै यो क्षेत्रका वासिन्दाहरु रातिमा घर छाड्न बाध्य छन् । वडा नं ३ का स्थानीय केशवराज पन्थीका अनुसार चुरे पहिराको जोखिमका कारण यो क्षेत्रका बासिन्दा अन्यत्रै कोठा भाडामा लिएका छन् । पानी पर्ने बित्तिकै यो क्षेत्र छोडेर भाडाको कोठामा बस्न जाने गरेको उहाँको भनाइ छ । असारको पहिलो हप्ता परेको वर्षापछि आएको चुरोको पहिरो केही स्थानीयको घरमा पस्यो । पहिरोबाट बगेर र आएको लेदोसहितको पानी आधा दर्जन स्थानीयबासीको घरमा पसेपछि उनीहरु घर छोडेर हिँडेका थिए ।
गतवर्ष पहिरोका कारण करीब २ दर्जन स्थानीय वासिन्दाका घरमा क्षति पुगेपछि विज्ञको टोलीले चुरे पहिरोको अध्ययन गर्यो । चुरे क्षेत्रमा पहिरोका कारण थप जोखिम बढेपछि विज्ञको टोलीले अध्ययन गरेर पानीको अव्यवस्थित सतही बहाब नै बुटवल पहिरोको मुख्य कारण हो भन्ने ठहर गरे । यहाँको पहिरालाई रोकथाम गर्ने पहिलो उपाय सतही र भूमिगत पानीको सही व्यवस्थापन भएको निष्कर्ष निकालेर राष्ट्रपति चुरे तराई मधेश संरक्षण कार्यक्रम कार्यान्वयन इकाइ कार्यालय बुटवललाई प्रतिवेदन बुझाइएको थियो ।
पहिरो नियन्त्रणका लागि श्रवनडाँडा (पहिरो गएको डाँडो) को मध्य भागमा रहेका मूलहरुबाट बगेको पानीलाई पाइप मार्फत एकैठाउँ जम्मा गरेर पुराना वा नयाँ नालीहरुहरुमा मिसाउनु उपयुक्त हुने राय विज्ञले दिए । १ वर्षमा भएका अनुगमन, वुक्षरोपण र सामान्य पर्खाल लगाउने कामले पहिरो नियन्त्रण हुने देखिँदैन ।
गत वर्षको भदौ १३ र १४ गते बुटवल उपमहानगरपालिकाको ज्योतिनगर र लक्ष्मीनगर माथिको भाग स्थित चुरे क्षेत्रमा गएको ठूलो पहिरोका कारण बुटवल बजार नै जोखिममा परेपछि विज्ञको टोलीले अध्ययन गरेको थियो । गतवर्ष पहिरो र दोस्रो चरणमा गरेर विज्ञको टोलीले चुरे पहिरो क्षेत्रको अवलोकन गरी दिएको सुझावका आधारमा ज्योतिनगर र लक्ष्मीनगरमा वृक्षरोपण गर्ने, तारजाली लगाउने र पर्खाल लगाउने काम गरिएको सो कार्यालयका सूचना अधिकारी निर्मल थापा भन्नुहुन्छ, “हामीले गत आर्थिक वर्षमा रु. २ करोड ३५ लाखको काम गरेका छौँ तर, प्राकृतिक प्रकोपसँग कस्को कसैको केही लाग्दैन ।”
गतवर्ष उपमहानगरको वडा नं ३ मा पर्ने ज्योतिनगर क्षेत्रमा मात्रै करीब ७० हेक्टर क्षेत्रमा पहिरो गएको थियो । “जुनसुकै समयमा खस्न सक्ने गरी ढुङ्गा माटो झुण्डिएर बसेकाले उक्त क्षेत्र निकै जोखिममा गतवर्षको पहिराका कारण घर वरिपरि ढुङ्गा माटो सहितको पहिराले लथालिङ्ग अवस्था छ, अहिले त झन पहिराले बाँच्न दिँदैन कि जस्तो लाग्छ”, स्थानीयबासी तुलसा सुवेदी दुःखेसो पोख्नुहुन्छ ।
चुरे क्षेत्रको पहिरो नियन्त्रणका लागि गत वर्ष स्थानीय तहले केही पहल गरेपनि सङ्घ र प्रदेश सरकारको खासै चासो नरहेको स्थानीयवासीको गुनासो छ । प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे पहिरो प्रभावित क्षेत्रमा अनुगमनका लागि गए पनि ठोस कदम चाल्न नसकेको स्थानीय तुलसा सुवेदीको गुनासो छ । “अनुगमनले मात्रै केही हुँदैन मात्र होइन, पहिरो नियन्त्रणका लागि ठोस योजना ल्याउनुपर्छ ”, सुवेदी भन्नुहुन्छ ।
वर्षभरि नै सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा समेत सुनुवाइ नभएकाले यो वर्ष पनि समस्या झेल्नुपर्ने अवस्था आएको चुरे-तिनाउ संरक्षण समितिका संयोजक कमल गौतम बताउनुहुन्छ । अझै पनि चुरेको पहिरो नियन्त्रणका लागि पहल नगर्ने होे बुटवलमा ठूलो क्षति हुने खतरा रहेको उहाँको भनाइ छ । चुरे-तिनाउ संरक्षण समितिका संयोजक गौतमका अनुसार यसअघि पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलको पहलमा रु. २ करोड ३० लाख, बुटवल उपमहानगरपालिकाका तत्कालीन प्रमुख शिवराज सुवेदीको पहलमा रु. १ करोड १५ लाख स्थानीय युवा परिचालन गरी पहिरो नियन्त्रणका लागि खर्चिएको भएपनि यो वर्ष पहिराको खतरा टरेको छैन ।
अघिल्लो महिना मात्रै स्थानीय युवाको सक्रियतामा चुरे क्षेत्रबाट ज्योतिनगर तर्फ सोझिएको पानीको मूल स्काभेटर लगाएर चिडियाखोला तर्फ सोझ्याउने काम भएको थियो । “वडा नं ३ को सिरान बाँसघारीमा १९ फिट जमीन भासिएको छ, स्थानीय युवाले क्षति हुन नदिन स्काभेटरले माटो फालेर बगेको पानीलाई चिडियाखोलातर्फ सोझ्याइदिए । यसका लागि उपमहानगरले डिजेल सहयोग गरेको थियो”, संयोजक गौतमले भन्नुभयो ।
विज्ञको प्रतिवेदनअनुसार ज्योतिनगरको पहिरो प्रभावित क्षेत्र पहिल्यै पहिचान भएको जोखिम क्षेत्र हो । तर, यो विषय सबैलाई थाहा थिएन । तत्कालीन राजा वीरेन्द्रले २०३४-३५ सालमा यस क्षेत्रमा चुरे पहाड संरक्षणका लागि कार्यक्रम ल्याउन निर्देशन भएपछि भूताहा, चिसापानी, माकर तथा चिडियाखोला गाउँ पूरै बस्ती स्थानान्तरण गरिएको थियो । यो स्थानान्तरण गर्दा तामनगर र बर्दघाट क्षेत्रमा स्थानीयवासीलाई जग्गा उपलब्ध गराइएको थियो । सरकारले नयाँ ठाउँमा जग्गा उपलब्ध गराउँदा पुरानो ठाउँको जग्गा सरकारीकरण गरेन र जोखिम क्षेत्रको जग्गा पनि स्थानीयवासीकै नाममा नै रहिरह्यो ।
बुटवलको शहरीकरण तथा आकर्षण बढेसँगै यो ठाउँको पहिरोलाई स्थानीयले पनि बिर्सिए । जोखिम हुँदाहुँदै पनि यहाँको जग्गा पनि किनबेच भयो । विस्तारै बस्ती बस्यो । विभिन्न जिल्लाबाट बसाइ सराइ गरी आएकाहरुका घरहरु पहिरामा परेर पुरिए । विसं २०५५ को पहिरोमा यस क्षेत्रमा २१ घर पुरिएका थिए भने ५७ घर प्रभावित भएका थिए र यो क्रम गत वर्ष पनि दोहोरियो । गतवर्ष करिब डेढ दर्जन घर पुरिए । ज्योतिनगरका धेरै घरमा ढुङ्गा, माटो सहितको लेदो पस्यो ।
यो क्षेत्रमा २०५५ सालको पहिरो पछि जाइका समूहले सर्भे गरेको थियो । भू-उपग्रह मार्फत चुरे क्षेत्रको तस्वीर खिचेर अध्ययन गरेपछि जाइकाले यो क्षेत्र जोखिमपूर्ण रहेको निष्कर्ष निकालेको थियो । चुरे क्षेत्रमा भएका ठूला रुखले जोखिम निम्त्याउने भएकाले कटान गर्न सुझाव दिइएको थियो तर त्यो काम अझै पूरा भएको छैन । चुरे पहिरो नियन्त्रणका लागि प्रदेशको वन, वातावरण तथा भू-संरक्षण मन्त्रालयले वृक्षरोपण बाहेक कुनै काम गरेको छैन । गत असार १४ गते बाँस र अम्रिसो रोप्ने काम गरिएको र थप कामका लागि समय लाग्ने मन्त्रालयका सूचना अधिकारी नारायणदेव भट्टराई बताउनुहुन्छ ।
पहिरो नियन्त्रणका लागि बाँसको बिरुवा काटेर राइजोन रोप्ने र ब्याम्बो वाल्टरिङ्ग अर्थात् बाँसको कप्टेराको जाली बनाएर लगाउने तयारी गरिएको उहाँको भनाइ छ । “यो वर्ष यहाँको चुरो पहिरो नियन्त्रणका लागि रु २५ लाख बजेट विनियोजन भएको छ । प्राविधिकको सल्लाहअनुसार काम गर्छौं”, उहाँले भन्नुभयो, “वन मन्त्रालय भएकाले हाम्रो मुख्य काम वृक्षरोपण गर्ने हो । अहिले बाँस र अम्रिसो रोपेका छौँ ।” ज्योतिनगर क्षेत्रमा पानी पर्ने बित्तिकै पहिरो जान सुरु हुने भएकाले तत्काल पहिरो नियन्त्रण तथा व्यवस्थापनकै लागि वन मन्त्रालय, राष्ट्रपति चुरे संरक्षण कार्यालय र बुटवल उपमहानगरबीच समन्वय हुन नसकेको मन्त्रालयका सूचना अधिकारी भट्टराईको भनाइ छ ।
बुटवल उपमहानगरले पनि बिरुवा रोप्ने र तारजाली लगाउने काम सो क्षेत्रमा गरेको छ । तर यतिले पहिरो नथामिने भएकाले स्थानीयवासी यसबाट ढुक्क हुन सकेका छैनन् । “आवश्यकताअनुसार तारजाली भरेर खोलाको पानी बस्तीमा आउन नदिने गरी स्थानीयवासीको सहयोगमा काम गरेका छौँ । थप कामका लागि बैठक बसेर निर्णय गर्छौं”, बुटवल उपमहानगरका विपद् व्यवस्थापन समितिका संयोजक मित्रमणि खनाल भन्नुहुन्छ ।
चुरे पहिरो व्यवस्थापनका लागि यो वर्ष गृह मन्त्रालयले रु. ४५ लाख विनियोजन गरेकाले प्राविधिकको सुझावका आधारमा पहिरो नियन्त्रणका लागि दीर्घकालीन रुपमा काम अघि बढाउने उहाँले जानकारी दिनुभयो । यस वर्षको मनसुनमा यस क्षेत्रमा धेरै पानी नपरेकाले पहिरो रोकिन्छ कि भन्ने आशा लागेको संयोजक खनालको भनाइ छ ।