Kath Khabar
शान्ति समाजद्धारा अक्सिजन सिलिण्डर जुटाऔं, जीवन बचाऔं अभियान सञ्चालन

काठमाडौं, जेठ ११ । कोभिड संकटका कारण निषेधाज्ञा जारी रहेको अवस्थामा मानव अधिकार तथा शान्ति समाजले अक्सिजन सिलिण्डर जुटाऔं जीवन बचाऔं अभियान सञ्चालन गरेको छ । यसै क्रममा शान्ति समाजद्धारा अक्सिजन भरिएका १० थान ठुला सिलिन्डर संकलन गरी लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री भोजप्रसाद श्रेष्ठलाई शान्ति समाजका सभापति गोविन्द खनाल लगायत पदाधिकारीहरुद्धारा २०७८ जेठ ६ गते हस्तान्तरण गरिएको थियो । उक्त सिलिन्डरहरु मन्त्रालय मार्फत अत्यावश्यक बिरामीका लागि कोभिड अस्पतालमा बितरण हुनेछन् ।

शान्ति समाजले वर्तमान संकटपूर्ण अवस्थामा सकेसम्म सेवामुखी कार्यलाई निरन्तरता दिइरहेको छ । यस क्रममा शान्ति समाजले जेठ ५ गते पशुपती क्षेत्रमा रहेका बाँदरहरुका लागि बाँदरले मन पराउने भिजेको चना र पाउरोटीसहितको सामग्री वितरण गरेको थियो भने जेठ ४ गते असहाय गाईबाछा संरक्षण अभियानलाई शान्ति समाजद्धारा रु. १६ हजार बराबरको खाद्य सामाग्री प्रदान गरिएको थियो ।

यसैगरी जेठ ३ गते गुह्येश्वरी मन्दिर अगाडि रहेका सहयोगापेक्षीत व्यक्तिहरुलाई पाउरोटी वितरण गरिएको थियो भने जेठ २ गते काठमाडौं साँखुस्थित द्धन्द्ध पिडित तथा अपांग समाजलाई रु.२३ हजारको खाद्य सामग्री सहयोग प्रदान गरिएको थियो । सहयोग प्रदान कार्यक्रममा शान्ति समाजका सल्लाहकार उत्तम पुडासैनी, काठमाडौं शाखा सदस्य विकास थापा, भगवान पुडासैनी सहितको सहभागिता थियो ।

यस्तै २०७८ जेठ १ गते शान्ति समाजले जोरपाटी चोकमा मास्क, स्यानिटाइजर वितरण गरेको थियो भने शान्ति समाज सिरहा शाखाले पनि सुरक्षाकर्मीहरुलाई मास्क उपलब्ध गराएको थियो । काठमाडौंमा सम्पन्न सप्ताहव्यापी कार्यक्रमको संयोजन शान्ति समाजका महासचिव रामकृष्ण बरालले गर्नुभएको थियो । यसै क्रममा अक्सिजन प्लान्ट शिघ्र स्थापनार्थ ध्यानाकर्षण गराउँदै जेठ ४ गते शान्ति समाजको प्रतिनिधिमण्डलले गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेसँग छलफल गरेको थियो भने बुटवलस्थित स्वास्थ्य प्रतिष्ठानका चिकित्सकहरुसँग कोभिड सम्बन्धीत विषयमा छलफल गरिएको थियो ।

 

प्रकाशित मिति: मंगलबार, जेठ ११, २०७८  १०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update