Kath Khabar
लोकमार्गमा सवारीसाधन फसेर हैरान

               गलकोट, साउन १६।  बागलुङ सदरमुकामबाट ५ किलोमिटर माथि मध्यपहाडी लोकमार्गको सडक पार गरेपछि सवारीसाधन हिलोमा फस्न सुरु हुन्छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी (पुष्पलाल) लोकमार्गअन्तर्गत बागलुङ बजार देखि खहरे सम्म सडक कालोपत्र भए पनि त्यसपछिको हालात २४ वर्षदेखि उस्तै छ । 

बागलुङ बजारको उपल्लाचौर देखि घोडाबाँधे सम्मको सडक २ खण्डमा विभाजन गरी ठेक्का सम्झौता गरिएकामा तल्लो खण्डको सडक खहरे सम्म र उपल्लो सडक खण्ड इनारपानी सम्म कालोपत्र भइसके पनि  खहरे देखि अछेते हुँदै इनारपानी सम्म कालोपत्र हुन बाँकी १४ किलोमिटर सडक पार गर्न यात्रुलाई घन्टौं लाग्ने गरेको छ । अहिले खहरे देखि इनारपानी सम्मको लोकमार्गमा दर्जनौँ पटक सवारी फस्ने र यात्रुले दुःख पाउने भइरहेको छ । मध्यपहाडी पुष्पलाल राजमार्ग समयमै कालोपत्र नहुँदा यात्रुले हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे सडकमा यात्रा गर्न बाध्य भएका छन् । १४ किलोमिटर सडकमा यात्रा गर्न अहिले २ घण्टा भन्दा बढी समय लाग्ने गरेको चालक भीम गुरुङको गुनासो थियो । 

“बजार देखि ६ किलोमिटर सडक कालोपत्र छ, त्यस पछिको इनारपानी सम्मको सडकमा दर्जनौँ पटक सवारी साधन फस्छ, एउटा सवारी साधन  फसेपछि घन्टौं सम्म जाम पर्दा  निकै मार पर्नाका साथै यात्रुलाई सास्ती पनि हुन्छ ” उहाँले भन्नुभयो । “सयममै कालोपत्र भए कति सहज हुन्थ्यो होला ? सरोकारवालाको ध्यान सडक कालोपत्र गर्नमा जाओस् आगमी दिनमा यस्तो सडकमा यात्रा गर्न नपरोस् ।”ट्रयाक खुलेको २४ वर्षसम्म कालोपत्र नभएको भन्दै सडक विकासको नाममा भएको लापार्वाहीको उदारण प्रस्तुत गरिएको पत्रकार सज्जनकुमार सिंहले बताउनुभयो ।

उहाँले नागरिकस्तरबाट समेत सडकको विषयमा चर्को आवाज उठ्दा समेत ठेकेदार कम्पनीले समयमै काम नसक्नु शङ्काको विषय भएको बताउनुभयो । बागलुङ बजार देखि घोडाबाधे सम्मको सडक ठेक्का सम्झौता भएको ६ वर्ष सम्म कालोपत्र हुनसकेको छैन । असार अघि बल्लतल्ल २५ किलोमिटर सडकमध्ये ११ किमि मात्रै २ निर्माण व्यवसायीले कालोपत्र गरेका थिए ।

जिल्ला सदुमुकामको उपल्लाचौर देखि घोडाबाँधे सम्मको २५ किलोमिटर सडक मध्ये घोडाबाँधे बिहुँ खण्डमा ६ किलोमिटर र उपल्लाचौर देखि खहरे सम्म ५ किलोमिटर सडक गरी जम्मा ११ किलोमिटर थप सडक कालोपत्र भइसके पनि अन्य १४ किलोमिटर सडक असार अघि कालोपत्र नहुँदा समस्या भएको उक्त लोकमार्ग आयोजना कार्यालयका प्रमुख नारायणदत्त भण्डारीले स्वीकार्नुभयो । “पच्चिस किलोमिटर सडक नै ६ वर्ष देखि कालोपत्र भएको थिएन, गत वैशाख र जेठमा राम्रो काम भयो, सबै सडक कालोपत्र गर्न निर्माण व्यवसायीलाई ताकेतासमेत गर्‍यौँ” उहाँले भन्नुभयो,“कच्ची सडक कालोपत्र नगरे सम्म समस्या समाधान हुदैन, हाम्रो निरन्तरको पहलमा ११ किमि कालोपत्र गरेका छौँ, असारअघि सबै कालोपत्र गर्न निर्माण व्यवसायीले सकेनन्, यसमा निर्माण व्यवसायीको कमजोरी छ, पानी रोकिँदा साथ काम थाल्न र आगमी मङ्सिर सम्म सबै सडक कालोपत्र गर्न अन्तिम चेतावनी दिएका छौँ ।” 

आयोजना प्रमुख भण्डारीले गतवर्ष जस्तो बोक्से खल्टोमा आउने समस्या अहिले नभएको भन्दै सडकमा सवारी साधन फसेमा तत्कालै आयोजनाले निकाल्नका लागि बिहुँ र खहरेमा उपकरण तयारी अवस्थामा राखेको बताउनुभयो । उहाँले यो बर्खामा सवारी साधन फसेर जाममा परे उपकरणको सहायताले सहजीकरण गर्नुको विकल्प नरहेको बताउनुभयो । अहिले पानी पर्‍यो कि सडकमा सवारी साधन फस्ने लोकमार्गको नियति नै भइसकेको स्थानीयवासीको गुनासो छ । उपल्ला चौर देखि अक्षेते/बिहुँ खण्ड २०७३ माघ १४ गते भारत-सिद्धिसाई जेभिले १३ किलोमिटर र बिहुँ घोडाबाँधे खण्ड २०७२ माघ १० गते एमपी - एससिएफ - इसिसी जेभीले १२ किलोमिटर सडक २ वर्षमा सडक कालोपत्र गर्ने ठेक्का सम्झौता गरेको थियो । बागलुङ खण्डमा मात्रै १४२ किलोमिटर पर्छ । यसका साथै अन्य स्थानको केही सडक बाहेक अधिकांश सडक कालोपत्र भइसक्दा समेत सदरमुकाम खण्डको १४ किमि सडक कालोपत्रे हुँन नसक्दा समस्या बल्झिएको हो ।

प्रकाशित मिति: सोमबार, साउन १६, २०७९  १३:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update