
तुलसीपुर, साउन १७ । दिनभर विद्यालयमा व्यस्त हुने मीनबहादुर केसी साँझ-बिहान र बिदाको समयमा भने सधैँजसो बारीमै व्यस्त हुनुहुनछ । दिनभरको विद्यालयको थकान मेट्ने एउटा माध्यम उहाँको बारी बन्ने गरेको छ । शान्तिनगर गाउँपालिका-४ गिधनिया निवासी उहाँले आफ्नो छ कठ्ठा जग्गामा कागती र केराखेती गर्नुभएको छ ।
शान्तिनगर गाउँपालिका-३ स्थित आधारभूत विद्यालय केराघारी लामो समय देखि प्रधानाध्यापकको भूमिकामा रहनु भएका शिक्षक केसीले आफ्नो बारीमा कागती र केराखेती गर्नुभएको छ । “दिनभर स्कुलमा व्यस्त हुन्छु, दिनभरको थकान मेट्न बारीमा व्यस्त हुने गरेको छु”, उहाँले भन्नुभयो । उहाँले अहिले ६ कठ्ठामा कागती खेती गरेको भए पनि केही समय पछि ११ कठ्ठामा खेती गर्ने लक्ष्य राख्नुभएको छ ।
खेती गरेको १ वर्ष भएकाले तत्काल आम्दानी लिन नसकेको भए पनि केही समय पछि मनग्य आम्दानी गर्ने उहाँको धोको छ । “तत्कालन आम्दानी लिन सकिएको छैन”, उहाँले भन्नुभयो, “केही समयपछि मनग्य आम्दानी हुन्छ भन्ने अपेक्षा गरेको छु ।”
दिनमा २ घण्टा हिँडेर विद्यालय पुग्ने शिक्षक केसी अबको २ वर्षपछि अवकाश लिँदै हुुनुहुन्छ । लामो समय एउटै विद्यालयमा पढाउँदै आउनुभएका उहाँले अवकाश पछि पूर्णरूपमा व्यावसायिक कृषिखेती गर्ने धोको राख्नुभएको छ । “म विसं २०४५ देखि शिक्षण पेशामा छु, लामो समय केराघारी स्कुलमा पढाउँदै आएको छु”, उहाँले भन्नुभयो, “ अवकाश पछि व्यावसायिक कृषिखेती गर्ने सोच बनाएकोे छु ।”
आफू शिक्षक पनि भएकाले आफूले समाजमा कृषि खेतीबाट मनग्य आम्दानी गरेपछि आफ्ना छिमेकीलाई पनि त्यो खेतीतर्फ प्रोत्साहन गर्ने योजना छ । उहाँले आफू त्यस क्षेत्रको उदाहरणीय किसान बनेर मनग्य आम्दानी गर्ने र त्यसबाट अरूलाई पनि आकर्षित गराउने योजना रहेको उहाँले बताउनुभयो । पहिले देखि नै कृषि खेतीप्रति चासो रहे पनि शिक्षण पेशाले गर्दा त्यस्तो समय मिलाउन नसके पनि पछिल्लो समय भने समय निकालेर व्यावसायिक खेती गर्ने गरेको उहाँको भनाइ छ ।